close

खाँदै मोबाइल चलाउनुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

भदौ ९, २०७८ २२:१२

खाँदै मोबाइल चलाउनुहुन्छ ? सावधान !

काठमाडौं । ‘खाना खाने बेला फोन नचलाऊ ।’, ‘कम्तीमा खानेबेला त मोबाइललाई आराम देऊ ।’

यी वाक्य प्रायः घरघरमा सुनिन्छ । तर यस्ता सुझाव र अपिलहरू सधैं खेर जान्छन् । 

विशेषगरी बालबालिका, किशाेर र युवामा यस्तो बानी विकास भएकाे छ । हातले खाना उठाएर मुखमा लगाइरहेका त हुन्छन्, तर सम्पूर्ण ध्यान मोबाइल र ल्यापटपको स्क्रिनमै केन्द्रित हुन्छ ।

गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने पुस्ताकाे जमात बढ्दाे छ । अझ बालबालिका त यति हठी स्वभावका बनिसकेका छन् कि, फोनबिना खानै मान्दैनन् ।

वास्तवमा परिवारका सदस्यबीचको सम्बन्धलाई बलियो बनाउने एउटा माध्यम भनेको परिवारिक माहोलमा हुने खानपानको परम्परा पनि हो । तर अहिलेको आधुनिक जीवनशैलीमा मानिसहरु आफैंमा यति धेरै व्यस्त छन् ।

बच्चाहरुलाई महत्वपूर्ण संस्कार सिकाउनुपर्ने अभिभावक नै खाना खाने समयमा मोबाइल र ल्यापटपमा स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् ।

यसैको असर अहिलेका अधिकांश बालबालिकामा देखिएकाे छ । एक/दुई वर्षदेखिका बालबालिकाहरु आरामले मोबाइलमा आफ्नो समय बिताइरहेका हुन्छन् ।

रुँदा फकाउन होस् वा खाना खानलाई भुलाउन । वा अभिभावकको काममा डिस्टर्ब नगरुन् र चकचक नगरी बसुन् भनेर बुवा-आमा, दाइ-दिदीले मोबाइल, ट्याब्लेट ढुक्कैले बच्चालाई छोडिदिन्छन् ।

यसै पनि बालबालिकालाई उनीहरुको खुराक पुरा गराउनु अभिभावकका लागि संसारकै गाह्रो काम हुन्छ । त्यसमाथि हातमा मोबाइल थमाइदिने स्वभावले यसलाई अझै खराब बनाइदिएको छ ।

खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले गम्भीर असर पार्ने स्वास्थ्य चिकित्सक तथा मनोविदहरु बताउँछन् ।

स्मार्टफाेन पहुँच भएका परिवारमध्ये ९० प्रतिशत बालबालिकाहरु दुई वर्ष पुग्नुअघि नै स्मार्टफोनमा रमाउने गरेको एउटा अनुसन्धानले देखाएको छ ।

मस्तिष्क विकास हुने यो प्रारम्भिक उमेरमा यस्तो किसिमको बानी बालबालिकाहरुका लागि निकै घातक हुने वैज्ञानिकहरु बताउँछन् ।

आज हामी तपाईंलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरुका बारेमा छाेटाे जानकारी दिँदै छौं । 

१. खाने बानीमा प्रत्यक्ष असर 

खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि तपाईंको बच्चामा पनि धेरै खाने वा थोरै खाने बानी छ, यसको मूल कारण एकपटक खोतल्नुहोस् । कहिलेकाहिँ यो बानी उनीहरुको मोबाइल प्रयोग गर्ने बानीसँग पनि जोडिएको हुनसक्छ ।

सामान्यतः बालबालिकामा खेल्दै खाने बानी हुन्छ । जब यी बालबालिकाको ध्यान मोबाइलमा मोडिन्छ, तब उनीहरुको सम्पूर्ण मस्तिष्क मोबाइलमै केन्द्रित हुन्छ । कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा नभए पनि उनीहरु खाइरहन्छन् ।

खानामा ध्यान केन्द्रित गर्न नसक्दा आवश्यकताभन्दा धेरै वा कम खाइरहेको छु भन्ने कुरा उनीहरुले थाहा पाउन सक्दैनन् । 

२. राम्रोसँग चपाउन सकिँदैन 

खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा बच्चा बिरामी पर्न सक्छन् । तर जब बच्चाहरु खाना खाने समयमा मोबाइल खेलाउन थाल्छन्, तब उनीहरु खाना राम्रोसँग चपाउन बिर्सिन्छन् ।

यसले पाचन प्रणालीलाई धेरै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । साथसाथै यसले घाँटीमा खाना अड्किने पनि समस्या पैदा गर्न सक्छ ।  

३. मोबाइल दुर्व्यसनीको खतरा 

बालबालिकालाई खाना खुवाउन वा फकाउनलाई यदि तपाईं पनि मोबाइल र रमाइला भिडियोहरुको सहारा लिनुहुन्छ भने यो बानीलाई आजैबाट त्यागिदिनुहोस् ।

खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन धेरै गाह्रो पर्छ । 

४. समग्र स्वास्थ्यका लागि हानिकारक 

खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरुको स्वास्थ्यका लागि हानिकारक छ । जब भोजन समयलाई तपाईं प्रविधिसँग जुधाउनुहुन्छ, तब यसले स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् ।

पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएकाे क्यालोरीको संख्यालाई असर गर्दछ । खाना खाँदा ध्यान अन्य कुरामा लागे यसले क्यालोरी इन्जेसनलाई १५ प्रतिशतसम्म बढाउँछ ।

यस्तो बानीले उमेर र लिङ्ग अनुसार क्यालोरिक र लिपिड इन्टेकलाई बढाउँछ ।

खाना खाने समयमा मोबाइल प्रयोगले शरीरमा विभिन्न असर गर्दछ । जस्तै शरीरको पोस्चरलाई असर गर्ने, घाँटी र ढाड बाङ्गो हुने ।

अति खाने हुँदा यसले भोक नलाग्ने तथा डायबेटिजको समस्या पनि उत्पन्न गराउन सक्छ । अल्सर, कम तौल, शरीर समयअनुसार नबढ्ने विभिन्न समस्या उत्पन्न हुन्छन् । यसले अर्फिडजस्तो ‘इटिङ डिसअर्डर’ पनि जन्माउँछ ।

मुख र स्क्रिनमा हात डुलाउँदा किटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ । यसले शरीरलाई पनि सेल फोनको रेडियसनसँग नजिक ल्याउँछ । 

५. पारिवारिक सम्बन्ध कमजोर 

माथि भनिएको जस्तै खानपिनको परम्पराले सधै पारिवारिक जमघटको माहोल सृजना गर्छ । तर यदि तपाईं खाना छोडेर सधै मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईंको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१