close

स्मार्टफोनमा क्रोम ब्राउजर चलाउनुहुन्छ ? यसरी डिलिट गर्नुहोस क्यास र कुकिज

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १२:३१

स्मार्टफोनमा क्रोम ब्राउजर चलाउनुहुन्छ ? यसरी डिलिट गर्नुहोस क्यास र कुकिज

काठमाडौं । इन्टरनेटमा ब्राउज गर्दा एन्ड्रोइड फोनमा रहेका वेब ब्राउजरले धेरै डेटा संकलन गरिरहेका हुन्छन् । जुन क्यास र कुकिजको रुपमा रहेको हुन्छ ।

जसले तपाईंलाई एकपटक इन्टरनेटमा सर्च भएका विषयवस्तु पुनः सर्च गर्नुपरेको खण्डमा सहज बनाउने छ । यसको अर्थ एकपटक खोजीका विषय वस्तु पुनः खोज्दा छिटो खुल्नेछ ।

त्यतिमात्रै नभएर वेबसाइटले तपाईंको ब्राउजिङ हिस्ट्री ट्रयाक गर्नका लागि पनि कुकिज प्रयोग गरिरहेको हुन्छ । जसले पर्सनलाइज्ड विज्ञापन गर्नका लागि कम्पनीहरुलाई मद्धत पुग्छ ।

तर, यो भन्दैमा क्यास तथा कुकिज सधैं राम्रो हो भन्ने हुँदैन । किनभने यदि तपाईंको ब्राउजमा धेरै समयदेखि क्यास तथा कुकिज बाँकी रहेको छ भने त्यसको असर वेबसाइटहरुमा देखिन थाल्छ ।

त्यो हुँदा समय समयमा मोबाइल ब्राउजरको क्यास तथा कुकिज डिलिट गर्न आवश्यक हुन्छ । त्यसका लािग यहाँ हामी तपाईंहरुलाई कसरी गुगल क्रोम ब्राउजरमा रहेको क्यास तथा कुकिज डिलिट गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

त्यसका लागि सुरुमा एन्ड्रोइड फोन/ट्याब्लेटमा क्रोम ब्राउजर खोल्नुहोस् र दायाँ साइडको माथि रहेको ‘थ्री डट’ अप्सनमा क्लिक गर्नुहोस् । अब ‘हिस्ट्री’ मा क्लिक गरी ‘क्लियर ब्राउजिङ डेटा’ मा क्लिक गर्नुहोस् ।

यो अप्सन तपाईंले क्रोमको ‘सेटिङ’ मेन्युमा क्लिक गरी ‘प्राइभेसी एण्ड सेक्युरिटी’ मा क्लिक गरी ‘क्लियर ब्राउजिङ डेटा’ मार्फत पनि गर्न सक्नुहुनेछ ।

यति गरेसँगै त्यहाँ क्रोमले ब्राउजिङ डेटा ‘बेसिक’‘एड्भान्स’ कुन लेभलमा हटाउने हो भन्ने अप्सन दिनेछ ।

जहाँ ब्राउजिङ हिस्ट्री, कुकिज, साइट डेटा र क्यास इमेज तथा फाइल सबै हटाउने विकल्प उपलब्ध हुन्छ । साथै तपाईंलाई कति समयदेखिको कुकिज तथा क्यास हटाउनु छ, त्यो पनि छनोट गर्ने विकल्प उपलब्ध हुनेछ ।

यदि एड्भान्समा जानुभएको खण्डमा तपाईंले क्रोम ब्राउजरमा हालसम्म सेभ गरेर राखेको पासवर्ड, अटोफिल फर्म डेटा, साइट सेटिङ समेत हटाउन सकिने विकल्प छ ।

आफूले हटाउन चाहेको विषय छनोट गरी अन्त्यमा रहेको ‘क्लियर डेटा’ मा क्लिक गरी तपाईंले सम्पूर्ण क्यास तथा कुकिज हटाउन सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२