close

आईओएसमा गम्भीर सुरक्षा कमजोरी, जसले सधैंका लागि बिगार्न सक्छ तपाईंको आईफोन

टेकपाना टेकपाना

पुस २२, २०७८ १३:११

आईओएसमा गम्भीर सुरक्षा कमजोरी, जसले सधैंका लागि बिगार्न सक्छ तपाईंको आईफोन

काठमाडौं । एप्पलले आईओएस १५ सार्वजनिक गरेदेखि नै बगको समस्या व्यापक भइरहेको छ । समय-समयमा एप्पलले विभिन्न अपडेटमार्फत आईओएस १५ को बग समाधान पनि गर्दै आइरहेको छ ।

यद्यपि पुनः आईओएस १५.२ मा बग फेला परेको छ, जसले आईफोनलाई पूर्णरुपमा क्र्याश वा बिगार्न सक्छ र फोनलाई रिस्टोर गरेपछि पनि काम नलाग्ने बनाउन सक्छ ।

कम्पनीले यो बग जतिसक्दो छिटो समाधान गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेभर स्पाइनिओलस नामक सुरक्षा अनुसन्धानकर्मीले यो बग पत्ता लगाएका हुन्, जसलाई होमकिट एपीआई प्रयोग गरी फोनलाई संक्रमित बनाउन सकिन्छ ।

आक्रमण गर्ने व्यक्तिले यो बगको फाइदा उठाएर लक्षित गरिएको आईफोनको एपीआई प्रयोग गरी प्रयोगकर्ताको होमकिट नाम परिवर्तन गर्न सक्छ । होमकिट एप्पलले विकास गरेको एउटा सफ्टेवयर हो, जुन आईओएस र आईप्याडओएसमा उपलब्ध छ ।

यो सफ्टवेयरले एप्पल डिभाइसहरू, एप्पलको होम डिभाइसहरू नियन्त्रण गर्न तथा सहजै प्रयोग गर्न मद्दत गर्छ । 

ट्रेभरका अनुसार आक्रमण गर्ने व्यक्तिले होमकिटको नाम पाँच लाखवटा लामा शब्दहरू प्रयोग गरिएको नाममा पनि परिवर्तन गर्नसक्ने बताएको छ ।

यदि प्रयोगकर्ताले घरमा प्रयोग हुने उपकरणहरू होमकिटको कन्ट्रोल सेन्टरमार्फत इनेबल गरेको छ भने प्रयोगकर्ताको आईफोन क्रयाश भई नचल्ने हुनसक्छ र फोन रिबुट अथवा रिस्टोर गर्दा प्रयोगकर्ताले आफ्नो पुरानो आईक्लाउड अकाउन्टमा साइनईन गर्न नसक्ने उनले बताएका छन् ।

यो बगको विषयमा ट्रेभरले २०२१ को अगस्टमा नै एप्पललाई रिपोर्ट गरेको, तर कम्पनीले तत्काल प्रतिक्रिया नदेखाएकोमा उनले आलोचना गरेका छन् । यसले लाखौं आईफोन प्रयोगकर्तालाई जोखिममा पार्नसक्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५