close

फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट

टेकपाना टेकपाना

माघ २, २०७८ १४:३४

फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट

काठमाडौं । फागुनदेखि अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित सबै कागजातको काम कारबाही अनलाइनबाट हुने भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित कामकारबाहीलाई सहज बनाउने उद्देश्यसहित सरकारले ‘नेपाल राष्ट्रिय एकद्धार प्रणाली’ सञ्चालनमा ल्याएको थियो ।

निकासी पैठारीको कामका लागि कागजातहरू विभिन्न कार्यालयमा बुझाउनुपर्ने, धेरै ठाउँमा धाउनुपर्ने साविकको व्यवस्थालाई विस्थापन गर्दै सरकारले एकद्धार प्रणाली लागू गरेको थियो ।

सोही व्यवस्थालाई थप सहज गर्नका लागि यसलाई अनलाइनबाट गर्न लागेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए ।

उनका अनुसार अब अन्तर्राष्ट्रिय व्यापार वा भन्सार जाँचपाससँग सम्बन्धित अनुमतिपत्र, इजाजत, प्रमाणपत्र र अन्य निवेदनका लागि नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत कार्यान्वयनमा ल्याउन लागिएको हो ।

अब निकासी पैठारीकर्ताले विभागमा पेश गर्ने कागजातहरू विद्युतीय स्वरुपमा स्वीकार गर्न वा विद्युतिय माध्यमबाट कुनै दस्तुर वा रकम बुझ्न एकद्धार प्रणालीको पोर्टलबाट पूर्ण रुपमा विद्युतीय प्रणालीबाट लागू गरिने उनले बताए ।

सो मितिसम्मको लागि भने विद्युतीय तथा म्यानुअल दुवै प्रणालीबाट निवदेन दिने सकिने गरि व्यवस्था गरेको उनले बताए ।

‘हाल ३० निकाय यो प्रणालीको अनलाइन सिस्टममा आबद्ध भइसकेको र अन्य निकाय पनि यो महिनाभित्र नै प्रणालीमा आबद्ध हुने भएको हुँदा फागुन १ गतेबाट कागजात सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत अनिवार्य लागू गर्न लागेका हौं,’ उनले भने, ‘अन्य सम्पूर्ण तयारी भने हामीले पुरा गरिसकेका छौं ।’

भन्सारको भौतिक जाँचपासको कामबाहेक कागजातको कामका लागि सेवाग्राहीले विभिन्न कार्यालय धाउनु नपर्ने उनले बताए । त्यस्तै सम्पूर्ण काम अनलाइनमार्फत जाँदा आउने साइबर सुरक्षासम्बन्धी चुनौतीका बारेमा पनि विभाग सचेत रहेको उनले बताए ।

‘कुनै पनि काम विना चुनौती हुँदैन । यो व्यवस्थाले काम सहज बनाए पनि डेटा लगायत अन्य कुराको सुरक्षाका लागि पनि हामी सचेत रहनुपर्ने हुँदा हाम्रो प्राविधिक टोली तथा डेभलपरहरू सँगको सहकार्यमा साइबर सुरक्षाका लागि पनि हामीले काम गरिरहेका छौं,’ उनले भने । 

सरकारले यो एकद्धार प्रणाली गत वर्षदेखि लागू गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२