close

निधनपछि तपाईंको डिजिटल डेटामा कसको हुन्छ हक ?

टेकपाना टेकपाना

माघ ४, २०७८ १५:५

निधनपछि तपाईंको डिजिटल डेटामा कसको हुन्छ हक ?

काठमाडौं । सामान्यतया आफ्नो प्रियजनको मृत्यु हुँदा उसका सामान सम्हालेर राख्ने गरिन्छ । अन्य सामग्रीसँगै डिजिटल सामग्रीलाई पनि यसरी नै सम्हाल्न महत्त्वपूर्ण छ ।

यद्यपि हाम्रो मृत्युपछि हामीले संकलन गरिएका डेटा जस्तै तस्वीर, रेकर्डिङहरू, कागजात, जर्नल, क्यालेन्डरलगायत हाम्रो पासवर्ड अथवा हाम्रो बायोमेट्रिक पासवर्डबिना यो सम्भव हुँदैन ।

यो विषयमा धेरैले नसोचेको पनि हुनसक्छ । उदाहरणका लागि तपाईंको निधनपछि तपाईंको सम्पत्तिमा कसको अधिकार रहन्छ भनेर पहिले नै तपाईंले कसैलाई मनोनयन गर्नुभएको हुनसक्छ । बैंकिङ, घरजग्गाको कामहरूमा त यो प्रचलन छ ।

तर आजको दिनमा तपाईंका डेटा नै तपाईंको सम्पत्ति हो । यसरी तपाईंको डिजिटल सम्पत्तिलाई अर्को व्यक्तिको पहुँच दिनुलाई नै डिजिटल लिगेसी भनिन्छ । यो प्रकृयालाई डिजिटल लिगेसीको रुपमा अहिले सम्बन्धित कम्पनीहरूले नै लिगेसी ट्रान्सफर गर्न सहजीकरण गरिरहेको छ ।

भर्खरै मात्र एप्पलले पनि डिजिटल लिगेसी लिने सुविधा सुरु गरेको छ । एप्पलले आईओएस १५.२ को नयाँ अपडेटमा ‘लिगेसी कन्ट्याक’ फिचर उपलब्ध गराएको छ ।

यस फिचरअन्तर्गत प्रयोगकर्ताले लिगेसी कन्ट्याकमा राखेको व्यक्तिले प्रयोगकर्ताको मृत्युपश्चात् उनको आईफोनमा भएको म्यासेज, फोटो, नोट लगायत अन्य महत्त्वपूर्ण डेटामा पहुँच पाउन सक्छन् ।

त्यसैगरी गुगलले पनि आफ्नो प्रयोगकर्ताको लागि यस्तै एउटा फिचर ल्याएको छ । यद्यपि यो फिचर एप्पलको जति स्पेसिफिक भने छैन । गुगल अकाउन्ट भएका प्रयोगकर्ताको लागि ‘इन्एक्टिभ अकाउन्ट म्यानेजर’ फिचर व्यवस्था गरेको छ ।

यस फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो अकाउन्ट लामो समयसम्म प्रयोग नभएको खण्डमा सो अकाउन्टलाई निष्कृय गर्न सक्छन् । यसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टमा अर्को कसले पहुँच पाउन सक्ने भन्ने पनि छनौट गर्न सक्नेछन् ।

फेसबुकको सन्दर्भमा भने मृत्युपछि प्रयोगकर्ताको अकाउन्टलाई ‘मेमोरलाइज’ भनेर अर्को पेजमा परिवर्तन गरिन्छ, जसमा अन्य कुनै व्यक्तिले चलाउन नमिल्ने गरी प्रोफाइल लक गरिन्छ ।

अथवा फेसबुकको सेटिङमा गएर प्रयोगकर्ताले आफ्नो मृत्यु भएमा आफ्नो अकाउन्ट डिलिट गर्नका लागि पहिले नै आग्रह गरेर सेटिङ व्यवस्थापन गर्न पनि मिल्छ । साथै आफ्नो मृत्यु भएमा ‘लिगेसी कन्ट्याक्ट’ राख्न मिल्ने व्यवस्था फेसबुकले गरेको छ ।

लिङंक्डइन, ट्वीटर र इन्स्टाग्रामको सन्दर्भमा भने अकाउन्ट हटाउन मिल्ने व्यवस्था छ । तर अरुलाई डेटामा पहुँच भने हुन्न ।

त्यस्तै माइक्रोसफ्टले भने हालसम्म डिजिटल लिगेसीसँग सम्बन्धित कुनै काम गरेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२