close

सीप भएका र सेवा लिन चाहनेलाई आपसमा जोड्ने स्टार्टअप

मेनुक्श मेनुक्श

माघ १९, २०७८ १५:२५

सीप भएका र सेवा लिन चाहनेलाई आपसमा जोड्ने स्टार्टअप

काठमाडौं । नेपालजस्ता विकासशील देशको प्रमुख चुनौती हो, बेरोजगारी । सहरदेखि गाउँसम्म बेरोजगार युवाको जमात छ । हातमा डिग्री र सीप हुनेहरू पनि काम नपाएर भौतारिरहेका छन् ।

देशमा विद्यमान बेरोजगारी समस्या बढिरहँदा यसको समाधानमा केही फरक काम गरौं भन्ने सोचसहित ‘श्रीयोग डटकम’ सुरू भयो । सन् २०१६ मा स्थापना भएको यो डिजिटल प्लेटफर्ममा हजाराैं सेवाग्राही जोडिएका छन् ।

श्रीयोगले वास्तवमा सीप भएका बेरोजगार युवालाई अवसरसँग जोड्ने काम गर्छ । अर्को शब्दमा भन्दा रोजगारी दिने र खोज्नेबीच सेतुको रुपमा यसले काम गर्छ ।

श्रीयोग कन्सल्टिङ प्रालिका संस्थापक प्रकाश उप्रेती भन्छन्, ‘समाजमा सीप र ज्ञान भएका धेरै व्यक्ति छन् । तर अवसर नपाएर यत्रतत्र भौतारिने गरेका छन् । सीप भएकाहरुलाई अवसरसँग जोड्न एउटा विश्वसनीय डिजिटल प्लेटफर्म बनाउन सकिन्छ कि भनेर श्रीयोग सुरु गरेका हौं ।’

आवश्यकीय कामका लागि विभिन्न विधाका व्यक्तिहरूकाे प्रोफाइल बनाई समस्याको समाधान गर्न सकिन्छ भन्ने उप्रेतीलाई लाग्यो । त्यसैअनुसार फरक शैलीको काममा पाइला चाले ।

यसअघि उप्रेतीले इन्टरनेटको माध्यमबाट व्यवसाय र सेवा विस्तार गर्ने लक्ष्यका साथ विराटनगरमा सन् २००७ मा ‘प्रकाश इन्फोसिस’ स्थापना गरेका थिए । उनले सन् २००३ देखि नै सफ्टवेयर टेस्टिङ, डिजिटल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) लगायतका विभिन्न परियोजनामा काम गर्दै आएका थिए ।

त्यतिबेला अहिलेजस्तो प्रविधिकाे प्रयोग सुरू भइसकेको थिएन । नयाँ प्रणालीले सबैको पहुँचमा पुग्ने गरी काम खोज्न सजिलाे पुर्‍याउन त्यति सजिलो थिएन ।

उप्रेती भन्छन्, ‘भर्खरैमात्र भित्रिएको प्रविधिलाई मोबाइल एपमार्फत प्रयोगमा ल्याउनु प्रमुख चुनौती थियो । डिजिटल साक्षरता क्रमिक रुपमा बढदै जाँदा कोभिड-१९ को प्रभाव नै सबैभन्दा ठूलो चुनौती बन्यो ।’

लामो समयदेखि बेरोजगार भएर वैदेशिक रोजगारीमा भौतारिएका व्यक्तिलाई लक्षित गरी कम्पनीले काम गरिरहेको उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘डिजिटल प्रविधिको विकास पनि भइरहेको थियो । देशमा रोजगारीका अवसरहरु बढिरहेको थियो । काम गर्ने र गराउनेलाई डिजिटल रुपमा जोड्नुपर्छ भनी वेबसाइट र माेबाइल एप सञ्चालनमा ल्याइएको हो ।’

अहिले श्रीयोगमा १३ जनाको टिम छ । समूह बनाएर लैजाने क्रममा फरक दक्षता भएका व्यक्तिलाई समावेश गर्दै लगेका छाैं,’ उनले थपे ।

कम्पनीले रोजगारीका अवसरहरु, प्रशिक्षण, साथै विभिन्न क्षेत्रका प्रोफेसनलहरुलाई कामको अवसर सिर्जना गर्दछ । ‘सीपको सही मूल्याङ्कन गरी व्यक्तिलाई रोजगारीकाे अवसर दिलाउन कम्पनी प्रतिबद्ध छ,’ उनले भने ।

सुरुमा २५ हजारको लगानीमा सुरु भएको यस कम्पनीको पुँजी अहिले ७० लाखभन्दा बढी पुगिसकेको छ ।

उप्रेती भन्छन्, ‘खुला डिजिटल प्लेटफर्म भएकाले हालसम्म कम्पनीको सेवा निःशुल्क उपलब्ध छ । यद्यपि पूर्ण रुपमा विज्ञापनरहित ‘श्रीयोग डटकम’ आउने दिनमा प्रिमियम मोडलमा लैजाने योजना छ ।’

‘श्रीयोग डटकम’ एउटा खुला प्लेटफर्म हो । सीप सिकेका र केही गर्न खोजिरहेका व्यक्तिलाई लक्षित गरी कम्पनीले सेवा प्रदान गरिरहेको छ ।

‘कसैलाई रोजगारीको खाँचो छ र पार्ट टाइम काम गर्न इच्छुक हुनुहुन्छ भने उहाँहरू हाम्रो एप्लिकेसनमा आवद्ध हुन सक्नुहुन्छ’, उनले थपे ।

‘श्रीयोग डटकम’ माेबाइल एप र वेब दुवै प्लेटफर्ममा उपलब्ध छ । आफ्नाे नाम, थर, ठेगाना, मोबाइल नम्बरका साथै कुन समूह वा उपसमूहमा रहेर काम गर्ने हो, सम्पूर्ण विवरण राखेर दर्ता गर्नुपर्छ ।

‘श्रीयोग डटकम’ मा आबद्ध हुनका लागि अहिलेसम्म त्यस्तो कुनै शुल्कको मापदण्ड राखिएको छैन । यो एउटा निःशुल्क र खुला प्लेटफर्म हो ।

‘श्रीयोग डटकम’ मा हालसम्म २८ हजार पाँच सयभन्दा बढी सेवाग्राही जोडिएका छन् ।

उप्रेती भन्छन्, ‘हामीले आफ्ना सेवाग्राहीलाई हाम्रो कल सेन्टरबाट कल गरेर, उहाँहरू वास्तविक प्रयोगकर्ता हो, होइन भनेर प्रमाणीकरण गर्ने गरेका छौ ।’

देशमै रोजगार सिर्जना गरी रोजगारमैत्री समाजको निर्माण गर्ने र डिजिटल प्लेटफर्ममार्फत कामदार र काम गराउने व्यक्तिलाई जोड्नु नै कम्पनीको एकमात्र लक्ष्य रहेको उप्रेती बताउँछन् ।

‘स्टार्टअपलाई सफल बनाउन मूल मन्त्र भनेको भिजन, डेडिकेसन अनि आफ्नो प्यासन हो । आफूले केही गर्छु भन्ने सोच लिएर त्यस काममा लागिपर्न आवश्यक छ र समाजका लागि उत्तरदायी हुन जरुरी छ । अहिलेसम्म ग्राहकको राम्रो प्रतिक्रिया पाइरहेका छौं । खुला प्लेटफर्म भएकोले सेवा लिने र दिनेलाई निकै सजिलो भएको हाम्रो सेवाग्राहीको अनुभव छ’, उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५