close

१८ वर्षमा पहिलो पटक घटे फेसबुक प्रयोगकर्ता, प्रमुख कारण टिकटक

टेकपाना टेकपाना

माघ २०, २०७८ १६:५३

१८ वर्षमा पहिलो पटक घटे फेसबुक प्रयोगकर्ता, प्रमुख कारण टिकटक

काठमाडौं । अहिलेको चर्चित सामाजिक सञ्जाल सन् २००४ मा स्थापना भएको हो । स्थापना भएदेखि नै फेसबुकमा प्रयोगकर्ता थपिँदै गए । अमेरिकाबाट सुरु भएको यो सामाजिक सञ्जाल विश्वभर विस्तार हुँदै गयो ।

फेसबुकले पहिलो पटक सन् २०१२ मा एक अर्ब मासिक सक्रिय प्रयोकर्ताको आँकडा पार गर्‍याे । त्यसको पाँच वर्षभित्रै फेसबुकमा दुई अर्ब प्रयोगकर्ता पुगे ।

विशेषगरी नेपालजस्ता धेरै विकासशील देशमा फेसबुक प्रयोगकर्ताको निरन्तर उकालो ग्राफ लागिरह्यो ।

यो १८ वर्षको अवधिमा फेसबुकले विरलै केही गुमायो । उत्कृष्ट सामाजिक सञ्जालको प्लेटफर्ममा आफूलाई टिकाइराख्न यसले अनेकन् उपाय प्रयोग गर्‍याे र धेरैजसोमा सफल पनि भयो ।

तर पछिल्लो एक तथ्याकंले भने फेसबुकलाई धक्का पुगेको छ । १८ वर्षको इतिहासमै पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता (डेली एक्टिभ युजर) घटेका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाको एक प्रतिवेदन अनुसार सन् २०२१ को चौथाे अर्थात् अन्तिम त्रैमासिकमा दैनिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९२ करोड ९० लाखमा झरेका छन् ।

जबकि तेस्रो त्रैमासिकको अन्त्यसम्ममा दैनिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९३ करोड प्रयोगकर्ता थिए ।

टिकटक, युट्युवजस्ता प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाको सामना गरिरहेको फेसबुकले पहिलो पटक यसरी प्रयोगकर्ता गुमाएको हो । विशेषगरी बजारमा आक्रामक रुपमा व्यवसाय गरिरहेको शर्ट भिडिओ शेयरिङ एप टिकटकले फेसबुकलाई निरन्तर धक्का दिइरहेको छ ।

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले युवा प्रयोगकर्ताहरु अन्य प्लेटफर्ममा सिफ्ट हुँदा फेसबुकलाई असर पुगेको बताउँछन् ।

अर्कोतर्फ फेसबुक स्वामित्वको मेटाको आम्दानीसमेत घट्ने देखिएको छ । यसको पछिल्लो संकेतका रुपमा अहिले फेसबुकमा विज्ञापनदाताहरूले खर्च कटौती गरिरहेको घटनालाई लिन सकिन्छ ।

गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्लेटफर्मको रुपमा रहेको फेसबुकमा अहिले विज्ञापन गर्ने व्यवसायी घट्दो क्रममा छन् ।

एप्पलको अपरेटिङ सिस्टममा आएको गोपनीयता सम्बन्धी परिवर्तनले पनि फेसबुकलाई प्रभावित बनाएको छ । यो परिवर्तनका कारण ब्राण्डहरुलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्न गार्हो पारिरहेको छ ।

यसैबीच टिकटक र एप्पलको पछिल्लो गोपनीयता परिवर्तनका कारण फेसबुक प्रयोगकर्ता घटेको खबर बाहिरिएपछि मेटाको स्टक मूल्यसमेत २० प्रतिशतले घटेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५