close

छोराछोरीले मोबाइल धेरै चलाएपछि बुबाले बन्द गरिदिए पूरा सहरको इन्टरनेट !

टेकपाना टेकपाना

फागुन ७, २०७८ ८:३५

छोराछोरीले मोबाइल धेरै चलाएपछि बुबाले बन्द गरिदिए पूरा सहरको इन्टरनेट !

काठमाडौं । बालबालिकाले मोबाइल, कम्प्युटरमा धेरै समय बिताउन थालेपछि धेरै अभिभावको चिन्ताको विषय बन्दै गएको छ । त्यसैले सामाजिक सञ्जाल, युट्युब, टिकटक र भिडिओ गेममाथि सीमा तोक्नुपर्ने आवश्यकता हुन्छ ।

तर एक जना बुबाले यही धुनमा अलिक बेसी गरेका छन् । उनले आफ्ना बालबालिकालाई अफलाइन राख्नका लागि किनेको सिग्नल जामर (इन्टरनेट तथा मोबाइलको सिग्नल रोक्ने यन्त्र) ले गर्दा पूरै सहरको इन्टरनेट सेवा बन्द हुन पुग्यो ।

फ्रान्सको मेसन्जेज सहरमा यस्तो भएको हो । त्यहाँको स्थानीय सञ्चार माध्यम फ्रान्स ब्लिउमा प्रकाशित रिपोर्टमा ती व्यक्तिले सोही कारण अहिले छ महिनाको काराबास सजाय भोगिरहेका छन् ।

आफ्ना बालबालिकालाई इन्टरनेटबाट टाढा राख्नका लागि उनले मल्टी-वेभ ब्यान्ड जामर खरिद गरेका थिए । जसले टेलिकम कम्पनीको सिग्नललाई अवरोध गर्‍यो, जुन चाहिँ फ्रान्सेली कानुन विपरित हो ।

जब सरकारी अधिकारीहरूले नाम नखुलाइएका ती बुबासँग प्रश्न गरे, उनले आफ्ना बालबालिकाको इन्टरनेट कनेक्टिभिटी मध्यरात देखि बिहान ३ बजेसम्मका लागि बन्द राख्ने प्रयास मात्रै आफूले गरेको बताए । सबै घरपरिवारमा जस्तै उनी पनि आफ्ना बालबालिकाहरू फोन राखेर समयमै निदाउन सकून् भन्ने चाहन्थे ।

तर उनले खरिद गरेको उपकरण निकै शक्तिशाली थियो । जसले गर्दा उनको छरछिमेक सबैतिर त्यसको असर पर्‍यो र उनीहरूले उजुरी दिए ।

‘उनी आफ्ना बालबालिकालाई मात्र इन्टरनेटबाट बाहिर राख्न चाहन्थे र जामरको वेभले उनको क्षेत्रमा भएका दुई ओटा नगरपालिकाकै दूरसञ्चार सेवा अवरुद्ध हुने कल्पना सम्म उनले गरेका थिएनन्’ फ्रान्स ब्लिउमा लेखिएको छ ।

‘राष्ट्रिय फ्रिक्वेन्सी एजेन्सीले गरेको अनुसन्धानको आधारमा उनलाई दूरसञ्चार सेवा अवरुद्ध पार्न जिम्मेवार रहेको ठहर गर्दै उनी विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको हो ।’ यो घटना तपाईँले सोचेभन्दा समान्य हो ।

किन भने केही वर्ष अघि पुरानो सेकेन्ड ह्यान्ड टिभीका कारण पूरै गाउँको इन्टरनेट बन्द भएको समाचार आएको थियो । ‘कुनै पनि विद्युतीय पाटपुर्जा, बाहिरको प्रकाश, माइक्रोवेभदेखि सीसीटिभी क्यामेरा आदिले तपाईँको ब्रोडब्यान्ड इन्टरनेट कनेक्सनमा असर गर्न सक्छ,’ त्यसताका ओपनरिचका सुजाने राथरफोर्डले भनेका थिए ।

तर दुःखको कुरा यी बुबाले अहिले छ महिनासम्मको जेल सजाय भोगिरहेका छन् र उनीमाथि सम्भवतः ३० हजार यूरोको जरिवाना हुनेछ । आशा गरौँ उनका बालबालिकाले अहिले मोबाइल र कम्प्युटरको स्क्रिनमा केही कम समय विताइरहेका होउन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२