close

५० बढी विद्यालयमा बेलायती आईटी कोर्ष ‘डिजी स्कुल’

टेकपाना टेकपाना

फागुन २३, २०७८ १७:२६

५० बढी विद्यालयमा बेलायती आईटी कोर्ष ‘डिजी स्कुल’

काठमाडौं । विद्यालयमा अध्यनरत विद्यार्थीका लागि तयार गरिएको बेलायतको आईटी कोर्ष ‘डिजी स्कुल’ नेपालका ५० भन्दा बढी विद्यालयमा विस्तार भएको छ ।

बेलायत सरकार मातहतमा दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने नेसनल कम्प्युटिङ सेन्टर (एनसीसी) यूकेले विद्यालय तहका लागि तयार गरेको कम्प्युटर कोर्ष डिजीलाई नेपालमा डिजी स्कुलले ‘डिजी स्कुल पार्टनरशिप प्रोगाम’ अन्तर्गत विद्यालयमा लागू गरिएको सञ्चालक विज्ञान श्रेष्ठले बताए ।

यो डिजी कोर्ष पढिसकेपछि विद्यार्थीले एनसीसी यूकेको प्रमाणपत्र पनि प्राप्त गर्न सक्नेछन् ।

डिजी स्कुल ग्लोबलले २१औं शताब्दीको प्रमुख आवश्यकता तार्किक क्षमता, समस्या सामाधान गर्नसक्ने क्षमता र सञ्चार तथा सहकार्य क्षमताको अभिवृद्धिलाई आत्मसाथ गरी कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि विद्यालयहरुको सहकार्यमा दुई वर्षदेखि लागू गर्दै आइरहेको छ ।

‘कोभिड-१९ को विषम परिस्थितिबाट गुज्रिएको अवस्थामा पनि डिजी स्कुलको कोर्ष ५० भन्दा बढी विद्यालयमा लागू गर्न सफल भएका छौं, श्रेष्ठ भन्छन्, ‘यहाँबाट नेपाली विद्यालय र अभिभावकको आईटीप्रतिको चासो र लगाव निकै गहिरो छ भन्ने बुझ्न सकिन्छ ।’

डिजी कोर्ष प्रमुख रुपमा कोडिङ, कम्प्युटरमा आधारित सोच्ने क्षमता, अनलाइन सुरक्षा र डिजिटल साक्षरतामा आधारित कोर्ष हो, जसमा विद्यार्थीले विद्यालय तहमै वेबसाइट, र मोबाइल एप बनाउन सिक्नेछन् भने भविष्यमा आईटी अध्ययन गर्न थप सहज हुन्छ ।

यो कार्यक्रम अन्तर्गत विद्यालयहरुमा लागू गर्नका लागि डिजी स्कुलले शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि पनि विभिन्न प्रकृतिको तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

डिजी कोर्सको सिकाईलाई जीवन उपयोगी बनाउन विद्यालयहरु मै गएर विद्यार्थीहरुलाई विभिन्न परियोजनाहरु सञ्चालन गरिन्छ, जसअनुसार नेपालमै पहिलो पटक विद्यालय तहमा इन्टरनेट अफ थिङ्स (आइओटी) को निर्माण र प्रदर्शनी गरिने श्रेष्ठ बताउँछन् ।

डिजी स्कुल पाठ्यक्रम प्रदायक नभई नतिजा सञ्चालित पाठ्यक्रम कार्यान्वयनकर्ता समेत रहेका श्रेष्ठले बताए ।

नेपालमा डिजी स्कुललाई सफ्टेड ग्रुपले ल्याएको हो । सफ्टेड ग्रुपले लामो समयदेखि नेपालमा आईटी र व्यवस्थापनको विश्वस्तरीय शिक्षा प्रदान गरिरहेका कम्पनीहरुको मातृ संस्था हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२