close

नेपालको औसत डाउनलोड स्पिड ४० एमबीपीएस कट्यो, मोबाइलमा ४ स्थान सुधार 

टेकपाना टेकपाना

बैशाख २, २०७९ १६:४८

नेपालको औसत डाउनलोड स्पिड ४० एमबीपीएस कट्यो, मोबाइलमा ४ स्थान सुधार 

काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पिड ४० एमबीपीएस माथि पुगेको छ । ओकलाको स्पिड टेस्ट ग्लोबल इन्डेक्स रिपोर्टमा यस्तो प्रगति देखिएको हो ।

इन्डेक्स अनुसार नेपालको औसत डाउनलोड स्पिड ४०.५० एमबीपीएस, अपलोड स्पिड ३८.५३ एमबीपीएस र लेटेन्सी ५ मिलि सेकेन्ड रहेको छ ।

इन्टरनेटको औसत डाउनलोड तथा अपलोड स्पिडमा सुधार देखिए पनि विश्व वरियतामा भने नेपाल तीन स्थान तल झरेको छ । यससँगै विश्वमा नेपाल फास्ट इन्टरनेट हुने मुलुकको सूचीमा ८२ नम्बरमा पुगेको छ ।

अर्कोतर्फ नेपालको मोबाइल डेटा तथा इन्टरनेटको औसत डाउनलोड स्पिड खस्किएर १६.२५ एमबीपीएस र अपलोड स्पिड १०.३४ एमबीपीएसमा झरेको छ ।

यसैगरी मोबाइल इन्टरनेटमा लेटेन्सी २३ मिलिसेकेन्ड छ । यसअघि गत नोभेम्बरमा नेपालको औसत डाउनलोड स्पिड १८.३६ एमबीपीएस र अपलोड स्पिड १०.७६ एमबीपीएस रहेको थियो ।

मोबाइल इन्टरनेटको औसत डाउनलोड तथा अपलोड स्पिड घटेको भए पनि विश्व वरियतामा भने सुधार देखिएको छ । हाल नेपाल विश्वको फास्ट मोबाइल इन्टरनेट हुने मुलुकमा चार स्थान सुधार गर्दै १०८औँ नम्बरमा पुगेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४