close

कछुवा गतिमा फाइबर विस्तार, साढे पाँच वर्ष बित्दा २४ प्रतिशत काम

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १९:१५

कछुवा गतिमा फाइबर विस्तार, साढे पाँच वर्ष बित्दा २४ प्रतिशत काम

काठमाडौं । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामलाई जोडेर तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालित सूचना महामार्ग परियाेजनाको काम सुरु भएको साढे पाँच वर्षभन्दा बढी भइसकेको छ ।

यस अवधिमा सूचना महामार्गमा छ हजार ३३१ किलोमिटर अप्टिकल फाइबर बिछ्याइसक्नु पर्ने हो । तर परियोजनाको हालसम्मको प्रगति भने २४.२३ प्रतिशतमात्र छ ।

नेपाल दूरसञ्चार प्राधिकरणकाे ग्रामीण दूरसञ्चार परियोजना अन्तर्गत सूचना महामार्गकाे काम अघि बढेकाे थियाे । यो परियोजना सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने हो । तर, समयसीमा पूरा भएको पनि झन्डै अढाई वर्ष बितिसक्दा पनि यसको प्रगति न्यून छ ।

तीन प्याकेजअन्तर्गत पहिलो प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा ठेक्का पाएको कम्पनी नेपाल टेलिकमले सम्झौता गरेको पाँच वर्षभन्दा बढी भइसकेको छ ।

यो अवधिमा उक्त परियोजनाअन्तर्गत हालसम्म ५८.८३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । यो परियोजना अन्तर्गत कूल २१ सय ७९ किलोमिटर फाइबर बिछ्याउनुपर्ने छ ।

तर, हालसम्म टेलिकमले १२ सय ८२ किलोमिटरमात्रै फाइबर विस्तारकाे काम सम्पन्न गरेको छ । यस्तै दोस्रो प्याकेजअन्तर्गत गण्डकी तथा लुम्बिनी प्रदेशको कार्यप्रगति अझै शुन्य छ ।

सो क्षेत्रमा सेवा प्रदायकले २१ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने जिम्मा पाएको थियो । ठेक्का पाएको यूटीएलले समयमै आयोजना सम्पन्न गर्न नसकेपछि प्राधिकरणले ठेक्का खारेज गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणको उक्त निर्णयउपर यूटीएलले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि उक्त ठेक्का परियोजना अडकिएर बसेको छ ।

लामो समयदेखि परियोजना अड्किँदा देशको विकासमा समेत असर पर्नेहुँदा यसलाई अघि बढाउन प्राधिकरणले विभिन्न चरणमा पहल गरेको भएपनि कुनै उपलब्ध हासिल हुन सकेको छैन ।

त्यस्तै प्याकेज ३ अन्तर्गतको परियोजनाको प्रगति खासै भएको छैन् । सुरुमा स्मार्ट टेलिकमले पाएको उक्त परियोजना काम गर्न नसकेको भन्दै अघिल्लो दुई वर्ष अघि पुस १८ गते स्मार्टसँग ठेक्का रद्द गरी नेपाल टेलिकमलाई जिम्मा दिइएको थियो ।

झन्डै अढाई वर्ष बितिसक्दा हालसम्म १३.८८ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । टेलिकम उक्त परियोजना अन्तर्गत कूल एक हजार ९९२ किलोमिटर फाइबर विस्तार गर्नुपर्नेछ । जसमा हालसम्म जम्मा २७५ किलोमिटर फाइबर विस्तार गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२