close

यसरी निःशुल्क लिनुहोस् डट एनपी डोमेन

सुसन चापागाईं सुसन चापागाईं

जेठ २१, २०७९ १८:२१

यसरी निःशुल्क लिनुहोस् डट एनपी डोमेन

काठमाडाैं । ब्लग चलाउनुहुन्छ अथवा आफ्नो पोर्टफोलियो वेबसाइट बनाउन खोज्दै हुनुहुन्छ भने तपाईंलाई पर्सनल डोमेनको आवश्यकता पर्छ । नेपालमा भने आफ्नो नामको डोमेन हामीले सित्तैमा पाउन सक्छौं ।

डोमेन लिएर ब्लग वा आफ्नो पोर्टफोलियो बेवसाइट सजिलै होस्ट गर्न सक्छौं । .com.np वाला डोमेन कसरी लिने, यसबारे म जानकारी दिँदैछु ।

techpana.com एउटा डोमेन हो । ‘डोमेन नेम’ एउटा वेबसाइटको भौतिक नाम हो । तपाईँको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान ‘डोमेन नेम’ हुन सक्दैनन् ।

‘डोमेन नेम’ लाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ । तपाईंले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने ‘डोमेन नेम’ (जस्तै facebook.com) को आईपी एड्रेस (69.63.184.142) लाई ब्राउजरले पहिचान गर्छ र सम्बन्धित वेब पेजमा पुर्‍याउँछ ।

यसैगरी हरेक वेबसाइटको यस्तै एड्रेस हुन्छ । ‘डोमेन नेम’ भनेको मानिसहरूलाई तपाईंको वेबसाइटमा पहुँच राख्न सजिलो बनाउनको लागि हो । त्यसैले यो सरल र सजिलै याद गर्न सकिने किसिमको राख्दा उपयुक्त हुन्छ ।

‘डोमेन नेम’ गोड्याडी (godaddy.com), ओहो डोमेन (Ohodomain.com) जस्ता अनलाइन मार्केटमा गएर किनबेच गर्न पनि सकिन्छ । राम्रो ‘डोमेन नेम’को महत्त्व धेरै छ र त्यसको अभाव पनि । राम्रा  डोमेनहरूको बजारमा उच्च माग छ । 

त्यसैले केही ‘डोमेन नेम’ लाखौँ डलरमा बिक्री हुन्छन् ।

डोमेन नेमको पछाडि . पछि आउने एक्स्टेन्सनलाई टप लेभेल डोमेन भनिन्छ । जस्तै techpana पछि आउने .com ग्लोबल  टप लेभल डोमेन हो । टप लेभेल डोमेन ग्लोबल टप लेभेल डोमेन (gLTD )र कन्ट्री कोड टप लेभल डोमेन(ccLTD) हुन्छन् ।

जस्तै टेकपानापछि आउने .com ग्लोबल टप लेभल डोमेन हो भने टेकपाना .com.np छ भने त्यो कन्ट्री कोड टप लेभल डोमेन हुन जान्छ ।

व्यवसायको पहुँच देशभित्रै हो या देशबाहिर पनि हो विचार गरेर तपाईंले टप लेभेल डोमेन छान्न सक्नुहुन्छ । लोकल रेस्टुरेन्टले ccLTD लिदा उपयुक्त हुन्छ  भने आईटी कम्पनीले gLTD लिनु उपयुक्त हुन्छ ।  यसले सर्च इन्जिन अप्टिमाइजेसनमा प्रभाव पार्छ ।   

मर्केन्टाइल नेपालको लागि डोमेन रजिस्टरि कम्पनी हो । मर्केन्टाइलले उपलब्ध गराउने यो डोमेनको रजिस्ट्रेसन निःशुल्क छ । यसरी निःशुल्क पाउने डोमेनको registration प्रक्रिया के कस्तो छ भन्नेबारे आज हामी चर्चा गर्छौं ।  

.np डोमेन दर्ताको लागि,  दुईवटा मापदण्डहरू तपाईंले पूरा गर्नुपर्छ:

तपाईंले डोमेन दर्ता गर्दा,  तपाईं नेपालमै हुनुपर्छ ।

डोमेन नाम व्यक्तिगत प्रयोगको लागि हो भने सिधै तपाईंको नामसँग लिङ्क हुनुपर्छ र यदि यो व्यावसायिक प्रयोगका लागि हो भने कम्पनी, संगठन वा ब्रान्ड नामहरूको नाममा आधारित हुनुपर्छ ।

आज हामी तपाईंलाई व्यक्तिगत डोमेन रजिस्टर गरेर जानकारी देखाउने छौं । 

यसका लागि पहिले आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा जानुहोस् । ब्राउजरमा नेपालको आधिकारिक पेज register.com.np मा जानुहोस् । 

डोमेन रजिस्टर गर्नको लागि पहिले तपाईंले लगइन गर्नुपर्ने हुन्छ । देखाइएको खाली फिल्डमा आफ्नो विवरण भरेर अकाउन्ट बनाउनुहोस् । 

त्यसपछि आफ्नो अकाउन्ट साइनइन गरेर आफ्नो नामको डोमेन छ, छैन जाँच गर्नुहोस् ।

हाम्रो नामको डोमेन उपलब्ध छ । अब हामी डोमेन रजिस्ट्रेसन प्रक्रियामा अघि बढ्न सक्छौं ।

यहाँ देखाइएको प्राइमरी नेम सर्भर र सेकेन्डरी नेम सर्भर तपाईंको होस्टिङ्ग प्रोभाइडर हुन् । यी नेम सर्भरले तपाईंलाई होस्टिङ्ग उपलब्ध गराउँछन ।

तपाईंले आफूले चाहेको होस्टिङ्ग सर्भर राख्न सक्नुहुन्छ । अहिले हामी निःशुल्क होस्टिङ्ग दिने 000WEBhost  को प्राइमरी सर्भर NS01.000WEBHOST.com र सेकेन्डरी सर्भर NS02.000WEBHOST.com लिन्छौं ।

त्यसपछि Administrative contact मा  आफ्नो विवरणहरु  भर्नुहोस् ।

सजिलोका लागि अहिले हामीले टेक्निकल कन्ट्याक्टमा Administrative contact लाई नै कपी गर्छौं ।

अब भने हामीले आवश्यक कागजात बुझाउनुपर्ने हुन्छ ।

त्यसका लागि डकुमेन्ट टाइटलमा गएर registration/citizenship डकुमेन्ट छान्नुहोस् ।

त्यहाँ २०० केबीभन्दा बढी साइज नभएको दुवै साइड देखिने गरी आफ्नो नागरिकताको फोटो राख्नुहोस ।  

अब तपाईंले आफ्नो सिग्नेचर सहितको कभर लेटर अपलोड गर्नुपर्ने हुन्छ । तल डिस्क्रिप्सनमा कभर लेटरको फर्म्याट दिइएको छ, तपाईंले त्यसलाई डाउनलाेड गर्न सक्नुहुन्छ वा आफैं लेख्न पनि सक्नुहुन्छ ।

यति गरिसकेपछि अब भने हाम्रो काम सक्किसकेको छ ।

यसरी सबै आवश्यक कागजात सहित प्रक्रिया पुर्याएर रजिस्टर गरेको हो भने एकदेखि दुई दिनमा तपाईंको डोमेन अप्रुभ हुन्छ । तपाईंको डोमेन स्टाटस हेर्नको लागि आफ्नो प्रोफाइलको ड्यासबोर्डमा गएर चेक गर्न सक्नुहुन्छ ।

कम्पनीको डोमेन रजिस्ट्रेसनको लागि तपाईंलाई कम्पनीको छाप, प्यान र आधिकारिक लेटर प्याडको आवश्यकता पर्छ ।  

कम्पनी वा संस्थाको लागि रजिस्टर गर्दै हुनुहुन्छ भने तपाईंले कम्पनी रजिस्टरको कागजात र कभर लेटर बुझाउनुपर्ने हुन्छ ।    

यसरि सजिलैसँग तपाईंले आफ्नो नामको डोमेन नाम लिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३