close

वाई-फाई नेपालको सेवा सुरु, ३३३ रूपैयाँमै ३० एमबीपीएस इन्टरनेट  

टेकपाना टेकपाना

असार १, २०७९ १२:७

वाई-फाई नेपालको सेवा सुरु, ३३३ रूपैयाँमै ३० एमबीपीएस इन्टरनेट  

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ को इन्टरनेट सेवाको आजदेखि सुरु भएको छ । 

इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला सबैभन्दा सस्तो प्याकेजको इन्टरनेटसहित वाई-फाई नेपालले औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको हो ।

कम्पनीले ३० र ५० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराएकाे छ ।

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यसैगरी ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ भने ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ पर्नेछ ।

एक महिनाको मात्र शुल्क तिरेको हकमा भने ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याटबाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याटबाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकामा मात्रै उपलब्ध छ । विभिन्न चरणमा देशभर सेवा विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीको वेबसाइटमा गएर अथवा यहाँ क्लिक गरेर वाई-फाई नेपालको सस्तो इन्टरनेटका लागि बुकिङ गराउन सकिन्छ ।

हाललाई इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिनाको मासिक शुल्कसहित राउटरको शुल्क मात्रै तिरे पुग्छ ।

३० एमबीपीएस इन्टरनेट जडान गर्ने उपभोक्ताले एक महिनाको शुल्क चार सय रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क तिर्नुपर्ने हुन्छ ।

यस्तै, ५० एमबीपीएस इन्टरनेट प्याकेज लिने उपभोक्ताले जडान गर्दा एक महिनाको शुल्क ५ सय ५० रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क बुझाउनुपर्ने हुन्छ ।

‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ कम्पनीका सीईओ रितेशराज सिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ ।

‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ श्रेष्ठले भने ।

कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पुर्‍याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुनेगरी कम्पनीले आगामी दिनमा थप सस्ता प्याकेज घोषणा गर्ने तयारी गरेको कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३