close

साना तथा मझौला व्यवसायीलाई सघाउने अकाउन्टिङ सफ्टवेयर

टेकपाना टेकपाना

असार ६, २०७९ १७:४९

साना तथा मझौला व्यवसायीलाई सघाउने अकाउन्टिङ सफ्टवेयर

काठमाडौं । कुनै पनि व्यवसायलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, लेखा व्यवस्थापन । त्यसैलाई सहज बनाउन विकास भएको सफ्टवेयर हो, टिग अकाउन्टिङ सफ्टवेयर । यो सास (SaaS-Software-as-a-service) मोडलमा आधारित क्लाउड स्टोरेज सफ्टवेयर हो ।

‘यो सफ्टवेयर सानादेखि मझौला उद्यमीले लेखा व्यवस्थापनका लागि प्रयोग गर्ने सफ्टवेयर हो, जसको डेटा क्लाउडमा भण्डारण हुन्छ । यसमा लगईन गरिसकेपछि आफ्नो रुममा बसेर ल्यापटप, डेस्कटप वा मोबाइलबाट आफ्नो डेटामा एक्सेस पाउन सकिन्छ,’ टेकपानासँगकाे कुराकानीमा टिगएपका सह-‍संस्थापक मधु पोखरेलले भने ।

यो सफ्टवेयरकाे माध्यमबाट डेटा लिङ्क गर्न, डेटा इन्ट्री गर्न, रिपोर्ट हेर्नसक्ने पोखरेल बताउँछन् । यो सफ्टवेयर साना तथा मझौला उद्यमीहरूलाई केन्द्रित गरेर निर्माण गरिएको पोखरेलको भनाइ छ ।

‘हाम्रो मुख्य उद्देश्य भनेको नै नेपाली व्यापारिक प्रक्रियालाई प्रविधिमा परिवर्तन गर्ने हो,’ उनले भने, ‘अकाउन्ट राख्ने, डेटा राख्ने प्रक्रिया पहुँचयोग्य, प्रयोग गर्न सहज हुने, र आवश्यक पर्दा प्रयोग गर्न सकिने किसिमको हुनुपर्छ । त्यसैमा केन्द्रित भएर निर्माण गरिएको सफ्टवेयर हो ।’

यस सफ्टवेयरका माध्यमबाट प्रयोगकर्ताले विभिन्न डकुमेन्टको फोटो खिचेर लेखा व्यवस्थापन गर्नसक्छन् । त्यस्तै यस सफ्टवेयरका माध्यमबाट बिक्री भएका सामान वा सेवाको बिक्री प्रक्रिया जस्तै; ग्राहक व्यवस्थापन, कोटेसन, सेल्स अर्डर, बिक्री चलानी, ग्राहकको भुक्तानी, सेल्स रिटर्न र भुक्तानी ट्रयाक गर्ने प्रक्रिया व्यवस्थापन गर्न सकिन्छ ।

त्यस्तै यसबाट विभिन्न स्थानहरूमा तपाईंको इन्भेन्ट्री पोजिसन ट्रयाक गर्न सकिने पोखरेल बताउँछन् । जसअन्तर्गत सामान वा सेवाको आइटम व्यवस्थापन, आइटमको वर्गीकरण आदि गर्न सकिन्छ ।

सबैभन्दा विशेष लेखा व्यवस्थापन रहेको छ, जसअन्तर्गत लेखाको चार्ट, बैङ्किङ, जर्नल भौचर, क्याश ट्रान्सफर, क्विक पेमेन्ट, क्विक रिसिप्ट आदि व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

रिपोर्टको सन्दर्भमा अकाउन्टिङ रिपोर्ट, पाउने वा दिनुपर्ने रिपोर्ट, खरिद वा बिक्री रिपोर्ट, कर तथा वैधानिक रिपोर्ट व्यवस्थापन लगायतका फिचर छन् ।

यो सफ्टवेयर वार्षिक, तीन वर्षे, पाँच वर्षे र लाइफटाइम गरी चार तरिकाको सब्स्क्रिप्सनमा आधारित रहेको छ । वार्षिकका लागि तीनवटा वर्ग छुट्टाइएको छ, जसमा स्टान्डर्ड (रु.१५ हजार रूपैयाँ), प्रोफेसनल (रु.२५ हजार रुपैयाँ) र इन्टरप्राइज (शुल्क विभिन्न फिचर अनुसार कम्पनी र उद्यमीको सहमतिमा निर्धारण हुने) गरी तीन तरिकाका फिचर सहितका सेवा उपलब्ध छन् ।

त्यस्तै तीन वा पाँच वर्षको सेवा लिएको खण्डमा त्यसमा थप सुविधा भएको पोखरेलले जानकारी दिए । विशेषगरी लेखा व्यवस्थापनमा टेवा पुर्‍याउन निर्माण गरिएको यो सफ्टवेयरका माध्यमबाट लेखासम्बन्धी सामान्य ज्ञान भएका प्रयोगकर्ताले लेखा व्यवस्थापनको काम गर्नसक्ने पोखरेलले बताएका छन् ।

त्यस्तै प्रयोगकर्ताले राखेका हिसाबकिताब सही छन् या छैनन् भनेर जाँच गरी त्यसलाई सच्याउन कम्पनीले लेखापालसमेत राखेकाे उनले जानकारी दिए ।.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३