close

एआई प्रयोग गरी डेटा सेन्टर सञ्चालनमा ल्याउँदै माइक्रोसफ्ट र मेटा

टेकपाना टेकपाना

असार ७, २०७९ ८:९

एआई प्रयोग गरी डेटा सेन्टर सञ्चालनमा ल्याउँदै माइक्रोसफ्ट र मेटा

काठमाडौं । गुगलपछि माइक्रोसफ्ट र मेटाले पनि आफ्नो डेटा सेन्टर सुरक्षित र प्रभावकारी रुपमा सञ्चालन गर्न एआई प्रविधिको परीक्षण गरिरहेका छन् ।

अर्बौं मानिसहरूले दैनिक रुपमा प्रयोग गरिरहेका एप, वेबसाइट लगायतका अन्य सेवा सञ्चालन गर्ने स्थान, डेटा सेन्टर, जति नै भव्य हुन्छ, त्यतिनै भद्रगाेल पनि । उच्च रुपमा प्राविधिक उपकरणहरू हुने भएका कारण डेटा सेन्टरमा काम गर्ने व्यक्तिहरूका लागि यो स्थान उत्तिकै जोखिमपूर्ण पनि हुन्छ ।

सन् २०१५ मा एप्पलको एक डेटा सेन्टरमा क्लोराइन ग्यास लिक हुँदा पाँच जना कर्मचारी अस्पताल भर्ना भएका थिए । हुन त पहिलेको तुलनामा अहिले डेटा सेन्टरहरू धेरै सुरक्षित भइसकेका छन् ।

यद्यपि यसलाई थप सुरक्षित बनाउन ठूला प्रविधि कम्पनीहरू एआई प्रयोगको परीक्षण गरिरहेका छन् । डेटा सेन्टरबाट उत्पादन हुनसक्ने जोखिमलाई पत्ता लगाउन तथा त्यँहा कार्यरत कर्मचारीहरूलाई सचेत गराउन हाल यी कम्पनीहरूले एआई प्रविधिको परीक्षण गरिरहेको हो ।

माइक्रोसफ्टले विकास गरिरहेको एआई प्रणालीले डेटाको स्रोतदेखि डेटा सेन्टरसम्म डेटा पुग्दाको स्थितिलाई अध्ययन गरी यसबाट उत्पन्न हुनसक्ने स्थितिबारे सम्बन्धित निकायलाई सूचित गराउने बताइएको छ ।

मेटाले पनि डेटा सेन्टरको काम कति सम्म असुरक्षित हुन सक्छ भनेर विश्लेषण गर्नसक्ने एआई प्रणालीमा काम गरिरहेको छ । कम्पनीले डेटा सेन्टर असुरक्षाको उत्कर्षमा पुगेको बेला यसलाई नियन्त्रण गर्नसक्ने एआई प्रणालीको विकास गरिरहेको बताइएको छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३