close

सामाजिक सञ्जाल बनाउन कस्सिएका युवाले बनाएको नेपालकै ‘पहिलो’ एन्टी भाइरस

अर्पना आले मगर अर्पना आले मगर

असार १७, २०७९ १६:३४

सामाजिक सञ्जाल बनाउन कस्सिएका युवाले बनाएको नेपालकै ‘पहिलो’ एन्टी भाइरस

काठमाडौं । कुनै पनि व्यवसाय सुरु गर्दा लगानी अर्थात पूँजीको कुरा आउँछ । तर फरिद अलीले शून्य लगानीबाट आफ्नो व्यवसाय सुरु गरेर आज आठ जनालाई रोजगारी दिइरहेका छन् ।

१९ वर्षको उमेरमै एन्टी भाइरस सफ्टवेयरको स्टार्टअप सुरु गरेका फरिद अली ज्ञान र सीपलाई नै आफ्नो लगानी ठान्छन् ।आफ्नो कम्पनीलाई नेपालको एक मात्र एन्टी भाइरस सेवा प्रदायक भएको दाबी गर्ने उनी ‘एसेक्युरिटी’ का संस्थापक हुन् ।

१९ वर्षको उमेरमा उनले आफ्नै केही व्यवसाय सुरु गर्ने सोच बनाएका थिए । प्लसटु पढ्दै गर्दा उनले त्यसका लागि एन्टी भाइरसको क्षेत्रलाई उपयुक्त देखे ।  

फरिद विद्यालयमा अध्ययनरत हुँदादेखि नै विभिन्न कम्पनीहरूमा फ्रिल्यान्सरको रुपमा काम गर्न थालिसकेका थिए । पढाइको हिसाबले व्यवस्थापन सङ्कायका विद्यार्थी भए पनि सन् २०१६ देखि नै उनले विभिन्न सफ्टवेयर डेभलपर कम्पनीसँग काम गरे ।

त्यसपछि फरिदको रुची यही क्षेत्रमा बढ्न थाल्यो । “विभिन्न कम्पनीहरूको लागि काम गरिरहँदा मैले प्रोग्रामिङ सिक्ने मौका पनि पाएँ । फ्रिल्यान्सरकै रुपमा विभिन्न प्रोजेक्टहरूमा काम गर्ने मौका पाएँ,” उनले भने , “१२ कक्षामा पढ्दै गर्दा एन्टी भाइरसको क्षेत्रमा केही गरौँ भन्ने सोच आएको थियो ।”

क्याम्पस तहमा आएर आफ्नो व्यवसाय सुरु गरेपनि प्रोग्रामिङ प्रति उनको लगाव विद्यालय तहदेखि नै थियो । प्रविधिको विकाससँगै सामाजिक सञ्जालका विभिन्न माध्यमहरू उदाइरहेका थिए । फेसबुकको प्रयोग निकै बढेको थियो । च्याट गर्ने मामिलामा मिग ३३ जस्ता माध्यम निकै चर्चित भए । 

नेपालमा पनि मोबाइल र सिम कार्डको उपलब्धता सहज हुँदै गइरहेको थियो । प्रविधिको पहुँच विस्तार बढिरहेको थियो । 

कक्षा ६ मा पढ्दै गरेका फरिदमा भने यो फेसबुक तथा मिग ३३ भन्ने प्लेटफर्मले कसरी काम गर्छ होला भन्ने जिज्ञासा थियो । त्यही उत्सुकता मेटाउन उनले अनेक खोजहरू गर्न सुरु गरे ।

आफ्नो आजको व्यवसायको पहिलो लगानी उनी २५ रुपैयाँ रहेको बताउँछन् । वास्तवमा उनी प्रति घण्टा २५ रुपैयाँ शुल्क तिरेर साइबर जान्थे । जहाँ उनी प्रोग्रामिङको बारेमा अनेक कुरा खोज्ने गर्थे ।

“फेसबुक र मिग ३३ कसरी चल्छ भन्ने कुरा खोज्न साइबर जाने गर्थेँ,” उनले भने, “त्यहीँबाट मेरो प्रोग्रामिङको यात्रा सुरु भएको हो । जसबाट आज एमसेक्युरिटी सुरु भएको छ ।

यसरी उनी साइबर क्याफेमा जाँदाखेरिको शुल्कलाई नै आफ्नो लगानी ठान्छन् । सामाजिक सञ्जालका प्लेटफर्मले कसरी काम गर्छन् भन्ने जिज्ञासा मेट्दामेट्दै उनमा यस्तै प्लेटफर्म बनाउने भूत सवार हुन थाल्यो । 

फरिदको यो सोचाइ उनले गर्दै आएको कामले पनि साथ दिन्थ्यो । विद्यालय तह पूरा नहुँदै उनलाई आफ्नो घरको आर्थिक जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो ।

“घरमा पनि आर्थिक रुपमा साथ दिनुपर्ने भएपछि मैले विभिन्न कम्पनीहरूमा फ्रिल्यान्सिङ काम गर्न थालेँ । यसले मेरो लक्ष्यलाई थप बलियो बनाउन सहयोग गर्‍यो र मलाई पनि काम अनि व्यवसायको लागि धेरै ज्ञान दियो,” उनी भन्छन् । 

यसक्रममा सन् २०१९ बाट उनले आफ्नै व्यवसाय थाल्ने निधो गरे । तर आफ्नो खर्च पनि उठाउनु पर्ने भएपछि उनले अन्य काम सकेर फुर्सदको समय एमसेक्युरिटीलाई दिन थाले । 

१२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहमा भर्ना त भए, तर लामो समयसम्म पढ्न भने उनले चाहेनन् । आफ्नै केही व्यवसाय गर्नतिर लागेपछि समय दिन नसक्ने भएका कारण आफूले बीचैमा पढाई छोड्ने निर्णय लिएको उनी बताउँछन् । 

“अरुको कम्पनीमा काम गर्दा आफ्नै लागि किन केही नगर्ने भन्ने सोच आउँथ्यो । काम गर्दैगर्दा एन्टी भाइरस सम्बन्धी धेरै कुराहरू सिक्न पाएँ,” उनी भन्छन्, “त्यसपछि म आफ्नो योजनामा स्पष्ट भएँ र अब एन्टी भाइरस सफ्टवेयरकै लागि काम गर्छु भन्ने निधो गरेँ ।” 

काम गर्दै जाँदा उनले एउटा मलेसियन कम्पनीले विकास गरेको ‘एप लकर’ एपमा काम गर्ने मौका पाए । यसबाट एन्टी भाइरसको लागि आवश्यक इन्जिनदेखि अल्गोरिदम लगायतका बारेमा सिके ।  

उक्त कम्पनीले इन्टरनेट सुरक्षा, एन्टी भाइरस लगायतका क्षेत्रमा काम गर्ने हुँदा फरिदलाई पनि त्यसमा रुचि बढ्दै गयो । केही समय उक्त कम्पनीमा काम गरेपछि उनले आफैँ एन्टी भाइरस बनाउने सपना बुन्न थाले । नेपालमा पनि यसका धेरै सेवाप्रदायकहरू नभएको पाएपछि उनले आफ्नो सामाजिक सञ्जाल बनाउने धोकोलाई एन्टी भाइरसतर्फ मोडे । 

आफ्नो तर्फबाट गर्नुपर्ने काम त उनले गरिरहेकै थिए । सँगसँगै सफ्टवेयर तथा एपको लागि घरमै बसेर काम पनि गरिरहेका थिए । तर कुनै पनि काम सम्पूर्ण रूपमा एक्लैले मात्र गर्न सकिन्न । 

आफूले नजानेका कामका लागि उनलाई एकजना सहकर्मीको आवश्यकता थियो । यसको लागि आफूसँगै कक्षा १२ मा पढेका साथीलाई प्रस्ताव राखे ।

सुरुमा ८००० रुपैयाँ मासिक तलब दिने शर्तमा फरिदले आफ्नै साथीलाई सफ्टवेयरका लागि ग्राफिक डिजाइन गर्न लगाए । दुवै साथी मिलेर फरिदकै घरमा काम गर्थे । 

यसरी फरिदले आफ्नै कोठाबाट सुरु गरेको एमसेक्युरिटीको आज नेपालगन्जको न्युरोडमा अफिस छ । आठ जना कर्मचारी भएको कम्पनीका लागि नेपालगन्ज कार्यालयबाट छ जना, एकजना काठमाडौं र अर्को एकजना विराटनगरबाट फ्रिलान्सरको रुपमा काम गरिरहेका छन् । 

एम सेक्युरिटीले सन् २०२० मा एम सेक्युरिटी एन्टी भाइरसको पीसी तथा कम्प्युटर भर्सन सार्वजनिक गर्‍यो । यससँगै एन्ड्रोइड भर्सनको एप पनि सार्वजनिक भयो । तर सुन्दा जति सामान्य लागेपनि यस पछाडिको असफलता भने कम छैन ।

गुगल र एप्पलले प्रयोगकर्ताको सुरक्षाको लागि थर्ड पार्टी एपमा कडाइ गरेको छ । जसका कारण एमसेक्युरिटी एपले सुरुमै प्ले स्टोर र एप स्टोरमा अनुमति पाउन सकेन ।

“यो एप स्वीकृत हुनुभन्दा अगाडि विभिन्न कारणले करिब २० चोटि अस्वीकृत भएको थियो,” उनी भन्छन्, “धेरैपटक रिजेक्ट भएपनि अन्तत: हाम्रो एप अप्रुभ भयो । अनि हामीले २०२० को सुरुवातबाट यसको वितरण सुरु गर्‍यौं ।”

उत्पादन सार्वजनिक भएपछि यसको बजारिकरण अर्को महत्त्वपूर्ण चुनौती थियो । सुरुवाती दिनहरूमा मानिसहरूलाई सफ्टवेयर प्रयोग गर्न लगाउनै गाह्रो परेको अनुभव फरिदसँग छ ।

धेरैजसोले विदेशी प्रोडक्टहरू प्रयोग गर्ने र केहीलाई यस विषयमा थाहा नै नभएका कारण उत्पादनको बजारिकरणमा गाह्रो भएको उनी बताउँछन् । तर अहिले भने एमसेक्युरिटीको बजारिकरणका लागि कम्पनीले मोबाइल तथा कम्प्युटर पसलहरूसँग सहकार्य गरेको छ । 

हाल दैनिक रुपमा दुई ओटा सब्स्क्रिप्सनको दरले एपको सब्स्क्रिप्सन बढिरहेको उनी बताउँछन् । एमसेक्युरिटीले आफ्नो एन्टी भाइरसमार्फत एन्ड्रोइड, पीसी र डेस्कटपमा सन् २०२० देखि नै भाइरस स्क्यान, सुरक्षित ब्राउजिङ, एप म्यानेजर, स्पिड बुस्टर, ब्याट्री सेभर लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

यो एपले मोबाइलको समस्या पत्ता लगाएर त्यसलाई समाधान गर्न सघाउँछ । एन्टी भाइरस कम्पनी ‘एमसेक्युरिटी’ को आईओएसको फूल भर्सन पनि सार्वजनिक भइसकेको  छ । यसअघि सन् २०२१ मा आईओएसको बेटा सार्वजनिक गरिएको थियो । 

पीसी सफ्टवेयरका लागि वार्षिक ७०० रुपैयाँ र मोबाइल एपका लागि वार्षिक ५०० रुपैयाँ शुल्क तोकिएको छ । सुरुमा एप डाउनलोड गरिसकेपछि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सकिन्छ । एक हप्ताको ‘ट्रायल’मा भने प्रयोगकर्ताले आईपीटीभी प्रयोग गर्न नपाउने उनले बताए ।   

यसमा भाइरस स्क्यानिङ सेवासँगै फाइल स्क्यान गर्ने, रेडियो सुन्ने, इन्टरनेटको स्पिड टेस्ट गर्ने, भीपीएन प्रयोग गर्ने, सुरक्षित रुपमा ब्राउजर प्रयोग गर्ने, मौषमको जानकारी प्राप्त गर्ने, पासवर्ड म्यानेज गर्ने लगायतका सेवाहरू प्रयोग गर्न सकिन्छ ।

यसका साथै १५० ओटासम्म च्यानल हेर्न मिल्ने आईपीटीभी सेवा पनि प्राप्त गर्न सकिन्छ । फरिदका अनुसार हाल दश हजार सक्रिय प्रयोगकर्ता रहेको एमसेक्युरिटी नेपालमै बनेको एकमात्र एन्टी भाइरस सफ्टवेयर हो ।  जसको डाउनलोड ५० हजारभन्दा बढी छ ।

आगामी दिनमा प्रत्येक मोबाइल प्रयोगकर्ताले यो एप प्रयोग गर्ने गरी आफ्नो उत्पादन विस्तार गर्ने योजना कम्पनीले बनाएको छ । यसलाई थप सुरक्षित र सरल बनाउनका लागि पनि टिमले काम गरिरहेको छ । 

“अहिले हामीले प्रयोगकर्ताबाट ओटीपी कोडको लागि उहाँहरूको फोन नम्बर मात्र लिन्छौं,” उनी भन्छन्, “उक्त फोन नम्बरलाई पनि हामीले सुरक्षित हिसाबले डेटाबेसमा राखेका छौँ । हाललाई यसको पहुँच हाम्रै कम्पनीको कर्मचारीलाई पनि छैन । डेटाको थप सुरक्षाको लागि हामी काम गरिरहेका छौँ ।”

कम्पनीको सिस्टम ह्याक भइहालेको खण्डमा पनि उपलब्ध फोन नम्बरहरू हेर्न नमिल्ने गरी प्रणाली विकास भइरहेको फरिद बताउँछन् । यसैगरी डकुमेन्ट स्क्यान गर्नको लागि एपले प्रयोगकर्ताको क्यामेरा र ग्यालरी तथा लोकेसनमा पहुँच मागे पनि यसको डेटाबेस प्रयोगकर्ताको डिभाइससम्म मात्र रहने र कम्पनीको डेटाबेसमा नआउने उनको भनाई छ ।

सानो लगानीबाट सुरु भएकाले अझ कतिपय योजनाहरूमा काम गर्न बाँकी रहेको उनको भनाई छ । नेपालमा स्टार्टअप कम्पनी टिक्न निकै गाह्रो भएको उनको दुखेसो छ ।

“नेपालमा अझै पनि स्टार्टअप व्यवसायहरूको लागि सहज वातावरण बनिसकेको छैन । विशेषगरी केही पनि नभएर आफ्नो योजनाको भरमा शून्यबाट सुरु गर्नेलाई यहाँ कहीँ कैतबाट पनि सहयोग हुँदैन,” फरिद थप्छन्, “व्यवसाय प्रवर्द्धनको लागि पनि सञ्चार माध्यम देखि लिएर सम्बन्धित निकायहरूको पहुँचमा पुग्न नै गाह्रो छ ।”

यद्यपि अहिलेसम्म आफू शून्यबाट उठेर यहाँसम्म आएको र आउने दिनमा पनि हार नमानी अगाडि बढ्ने अठोट २३ वर्षीय अलीले लिएका छन् । अबको एक वर्षमा एक लाख सब्स्क्राइबर पुर्‍याउने योजना कम्पनीले बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३