close

नाडा अटो शोमा बीवाईडीको विद्युतीय कार ‘डल्फिन’ हेर्न पाइने

टेकपाना टेकपाना

असार १८, २०७९ १०:५१

नाडा अटो शोमा बीवाईडीको विद्युतीय कार ‘डल्फिन’ हेर्न पाइने

काठमाडौं । बीवाईडीले आफ्नो विद्युतीय कार ‘डल्फिन’ नेपाल भित्र्याउने तयारी गरेको छ । यही भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२२’ लाई लक्षित गर्दै कम्पनीले यो कार नेपाल ल्याउन लागेको हो ।

कोरोना महामारीका कारण ‘नाडा अटो शो’ दुई वर्षदेखि आयोजना हुन सकिरहेको थिएन । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले शोलाई लक्षित गर्दै कम्पनीको ह्याचब्याक कार डल्फिन ल्याउन लागिएको जानकारी दिए ।

यसका साथै कम्पनीले नयाँ विद्युतीय कार बीवाईडी एटो थ्रीको पनि बिक्री सुरु गर्ने भएको छ । शो विशेषगरी सवारीसाधनको बिक्री केन्द्रित भएतापनि कम्पनीले भने उत्पादन प्रदर्शन गर्ने योजना बनाएको छ ।

नेपालमा ई सिक्स, ई सिक्स सेकेन्ड जेनेरेसन एसयूभी र भ्यान बिक्री गर्दै आएको कम्पनीले अब भने ह्याचब्याक कार डल्फिन पनि नेपाली बजारमा ल्याउन लागेकाे हाे ।

नेपाली बजार आउँदै ‘एटो थ्री’

साइमेक्स इंक प्रालिले बीवाईडीको विद्युतीय कार ‘एटो थ्री’ आगामी साउन १३ मा नेपाल भित्र्याउने भएको छ । 

कम्पनीले ल्याउने यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैलाई सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यस्तै ५ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ (मिटर रहेको भाग) सहित सिन्थेटिक लेदर अफहोलस्टेरेड सिट, ‘इलेक्ट्रिक पावर असिस्टेड स्टेरिङ ह्वील’ जस्ता फिचर उपलब्ध छन् ।

५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ओटा ब्याट्री विकल्पमा उपलब्ध हुने कारले अधिकतम २०० एचपी पावर दिने जनाइएको छ ।

कम्पनीले ८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज हुने दाबी गरेकाे छ । त्यस्तै यो कारले अधिकतम ३२० देखि ४२० किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएकाे छ ।

एटो थ्री कारमा ३६० डिग्रीमा हेर्न मिल्ने (३६० भ्यू) क्यामेरा, १२ भोल्ट सकेट, वायरलेस फोन चार्जर, बिना चाबी गाडी सञ्चालन हुने तथा भित्र जान सकिने र एकपटक बटन थिचेकै भरमा ‘टेल गेट’ (पछाडिको ढोका) खुल्ने लगायतका फिचर उपलब्ध छन् ।

पाँच सिट क्षमता भएको कारमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

त्यस्तै, सिट बेल्टको प्रयोग गर्न अलर्ट गर्ने (सिट बेल्ट रिमाइन्डर), ‘हिल-डिसेन्ट कन्ट्रोल’, ‘ट्रयाक्सन कन्ट्रोल सिस्टम’, ‘टीपीएमएस’-टायर प्रेसर मनिटरिङ सिस्टम (टायरहरूमा सही प्रेसर छ कि छैन भनी जाँच गर्ने प्रविधि), ‘ईपीएस’ सहितको एन्टी-लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षाका फिचर पनि यसमा समावेश गरिएकाे छ ।

नेपाली बजारमा याे कारकाे मूल्य निर्धारण भइनसकेकाे श्रेष्ठले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३