close

नेपाल आइपुग्यो टाटाको ‘डार्क एडिसन’ नेक्सन ईभी

टेकपाना टेकपाना

असार २७, २०७९ २०:२

नेपाल आइपुग्यो टाटाको ‘डार्क एडिसन’ नेक्सन ईभी


काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटाको नेक्सन ईभीको ‘डार्क एडिसन’ नेपाल आइपुगेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभी डार्क एडिसनका २० युनिट गाडी सोमबार मात्रै काठमाडौंमा उतारेको हो । 

कम्पनीले केही समय अगाडि डिजिटल माध्यमबाट यसको बुकिङ खुल्ला गरेको थियो । कम्पनीका उप बजार प्रबन्धक रुपम श्रेष्ठका अनुसार पहिलो लटमा २० ओटा कार ल्याइएको बताए ।

सिप्रदीले ११ महिना अघि नेपालमा नेक्सन ईभी सार्वजनिक गरेको थियो । त्यसैको ‘लिमिटेड एडिसन’ (सीमित संस्करण) को रूपमा नेक्सन ईभीको ‘डार्क एडिसन’ नेपाल आइपुगेको हो । 

कम्पनीले नेपाल भित्र्याएको डार्क एडिसनको कारमा एक्सजेड र एक्सजेड प्लस गरी दुई ओटा भेरियन्ट रहेका छन् । नेक्सन ईभीको डार्क एडिसनमा नेक्सन ईभीमा जस्तै ३०.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री राखिएको छ ।

९५ किलोवाट क्षमताको मोटर जडित यो बिजुली गाडीले एक पटकको फुल चार्जमा अधिकतम ३१२ किलोमिटरको दूरी तय गर्ने दाबी गरिएको छ । गाडीको पावर, ब्याट्री, रेन्ज, मोटर लगायतका सबै फिचर नेक्सन ईभीकै समान रहेका छन् ।

तर गाडीको ‘इन्टेरियर डिजाइन’ (भित्री स्वरूप) मा भने ‘डार्क थिम’ (कालो पृष्ठभूमि) भएका लेदर सिटहरू राखिएको छ । साथै, गाडीका सबै भित्री भाग ‘डार्क थिम’मा डिजाइन गरिएको छ ।

यो कारमा सिट बेल्ट पनि ‘साटन ब्ल्याक’ रङ्गमै दिइएको छ। नेक्सन ईभीको ‘डार्क एडिसन’मा पनि सिग्नेचर एलईडी टेलल्याम्प (पछाडिको लाइट), फ्लोटिङ रुफ, ‘पियानो ब्ल्याक’ ओआरभीएम, ‘रुफरेल’, ‘सार्क फिन एन्टेना’, ‘टायर प्रेसर मनिटरिङ सिस्टम’ (टीपीएमएस), गाडीको बाहिर रङ्गकै ‘डोर ह्यान्डल’ लगायतका विशेषता रहेका छन् ।

यो ‘एडिसन’को कारमा १६ इन्चको प्रिमियम ‘ब्ल्याक अलोय ह्विल’ रहेको छ । कम्पनीले नेपाली बजारका लागि टाटा नेक्सन डार्क एडिसनको मूल्य एक्सजेड भेरियन्टका लागि ४१ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस भेरियन्टका लागि ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३