close

पठाओ, टुटल र सहाराको अभ्यास राइड शेयरिङ हो कि राइड हेलिङ ?

टेकपाना टेकपाना

साउन १८, २०७९ ११:१

पठाओ, टुटल र सहाराको अभ्यास राइड शेयरिङ हो कि राइड हेलिङ ?

काठमाडौं । पछिल्ला केही वर्षदेखि काठमाडाैं उपत्यकाबासीका लागि पठाओ, टुटल, सहारा जस्ता माध्यम सामान्य भइसकेका छन् । त्यसमा अहिले अर्काे प्लेटफर्म ‘इन्ड्राइभर’ पनि थपिएकाे छ ।

यी सबै कम्पनीका सेवालाई हामी सामान्यतया राइड-शेयरिङको रुपमा बुझिरहेका छौँ । सबै प्लेटफर्मले आफूलाई राइड-शेयरिङ सेवाका रूमा प्रस्तुत गरेपनि यिनीहरूको कामको प्रकृति भने फरक देखिन्छ ।

त्यसैले आज हामी नेपालमा प्रयोग भइरहेका सेवाहरू वास्तवमा राइड शेयरिङ हुन कि होइनन्, अनि राइड-हेलिङ, कारपुलिङ सेवालाई कसरी बुझ्ने भन्ने विषयमा चर्चा गर्दै छौँ ।

राइड-शेयरिङ के हो के होइन ?    

‘शेयरिङ ईकोनोमी’ अर्थात ‘साझेदारी अर्थतन्त्र’को अवधारणामा आधारित सेवा हो, राइड-शेयरिङ । हुन त ‘शेयरिङ इकोनोमी’का धेरै परिभाषा छन् ।

तर सारमा बुझ्नुपर्दा यो अवधारणाले कुनै सामग्री खरिद गर्नुभन्दा सो सामग्री भाडामा लिएर प्रयोग गर्ने, अथवा अन्य व्यक्तिहरूसँग मिलेर लगानी साझेदारीमा सेवा उपभोग गर्ने सन्दर्भलाई जनाउँछ । यही अवधारणामा आधारित सेवालाई नै राइड-शेयरिङ भनिन्छ ।

राइड-शेयरिङ सेवाले यात्रुहरूलाई स्वतन्त्र चालकहरूसँग जोड्छ । अर्थात् कुनै एउटा राइड-शेयरिङ कम्पनी हुन्छ, जहाँ एउटा राइडर आबद्ध हुन्छन् ।

ती राइडरले आफ्नो गन्तव्यमा जाँदा सोही बाटोमा जाने अर्को कोही व्यक्ति छ भने उसँग निश्चित रकम लिएर सहयात्रा गर्छन् । यसरी चालकले आफ्नो गन्तव्यमा जाँदा लाग्ने खर्च कम गर्न तथा निश्चित आम्दानी गर्छन् ।

यो एउटा स्वतन्त्र रूपमा गर्ने काम हो । यसमा निजी सवारी चालकहरू आवद्ध हुन्छन् । 

राइड-हेलिङ 

राइड-शेयरिङ जस्तै राइड-हेलिङमा पनि ‘राइडर’ अर्थात चालकले यात्रुलाई गन्तव्यमा लैजाने काम नै गर्छन् । तर यो सेवा राइड-शेयरिङभन्दा फरक अवधारणा हो ।

यसमा राइडरको मुख्य काम नै यात्रुलाई उसको गन्तव्यमा पुर्‍याउनु हो । यसमा राइडरले आफ्नो गन्तव्यमा यात्रुलाई साथ दिने भन्दा पनि यात्रुलाई उसले चाहेको गन्तव्यमा पुर्‍याउने काम हुन्छ ।

यो नितान्त रूपमा व्यवसायिक मोडलमा चल्ने सेवा हो । यो सेवामा एउटा कम्पनी हुन्छ, जसले भाडामा सवारी लिने अथवा सवारीधनीलाई आफ्नो कम्पनीमा आवद्ध गरेर यात्रुहरूलाई एक ठाउँदेखि अर्को ठाउँमा पुर्‍याउने काम गर्छ । यो सेवा आम्दानी र नाफामा आधारित सेवा हो । 

कारपुलिङ 

सामान्यतया कारपुलिङमा पैसा लिने र दिने कुरा आउँदैन । यसमा सामान्यतः एउटै गन्तव्यमा जाने अथवा आफ्नो गन्तव्यको बाटोमा पर्ने मानिसहरुलाई, चाहे त्यो आफ्नै सहकर्मी वा अन्य कोही बटुवालाई आफ्नो सवारीमा ‘लिफ्ट’ दिने काम हुन्छ ।

कारपुलिङ भएका स्रोत र साधनको उचित उपयोग गर्ने अवधारणामा आधारित छ । यसमा कुनै कम्पनीको उपस्थिति हुँदैन ।

अर्थात् यो पूर्णरुपमा सवारीधनीमा निर्भर हुन्छ । यस्तोमा एउटै गन्तव्यका लागि यात्रामा निस्किएका यात्रुहरूले आपसी सहमतिमा यात्राको खर्च मिलेर व्यहोर्ने गर्दछन् ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३