ट्रेन्डिङ:
अनलाइनमा भेटिने सामग्री सत्य हुन् कि गलत, कसरी थाहा पाउने ? नेपाल टेलिकमले ल्यायो दशैं अफर, अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने स्मार्टवाच नेपाली बजारमा विद्युतीय बन्दै नेपाली सेनाको भान्सा र गाडी  आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल फ्लिपकार्टका पूर्वउपाध्यक्ष सस्तोडिलको टिममा, ‘ग्लोबल एक्स्पोजर’को अपेक्षा इन्टरनेट सेवा प्रदायकको दशैं अफर प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक ७ महिनादेखि परीक्षणमै सीमित टेलिकमको भीओएलटीई, व्यावसायिक सञ्चालनमा ढिलाई आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

अनलाइनमा भेटिने सामग्री सत्य हुन् कि गलत, कसरी थाहा पाउने ?

टेकपाना टेकपाना

साउन २५, २०७९

अनलाइनमा भेटिने सामग्री सत्य हुन् कि गलत, कसरी थाहा पाउने ?

काठमाडौं । अहिलेको जमानामा धेरै मानिसका लागि सूचनाको मुख्य स्रोत नै अनलाइन बनिरहेको छ । इन्टरनेट र डिजिटल उपकरणको प्रयोग तीव्र रूपमा बढ्दा परम्परागत सञ्चार साधनको प्रयोग घट्दो छ ।

अनलाइनमा पनि सूचना पाउन अनेकन् विकल्प छन् । कोही समाचार पोर्टल चहार्छन् । कोही सामाजिक सञ्जालमा भर पर्छन् ।  पत्रपत्रिका, रेडियो, टेलिभिजनले दिने समाचार पनि अहिले अनलाइनमै उपलब्ध हुन थालेको छ ।

यसरी अनलाइनमा आश्रित जमात बढिरहँदा चुनौती पनि उसैगरी उभिएको छ । कुन सूचना सही हो, कुन गलत हो, झट्ट विश्वास गर्न सकिँदैन । विश्वासिला समाचार पोर्टलहरुले पनि धेरैपटक गलत सूचना दिएका उदाहरण छन् ।

सामाजिक सञ्जालका पोस्टको त कुरा गरी साध्य छैन । भ्रम फैलाउने उद्देश्यले शेयर भएका पोस्टमा धेरै मानिसहरुको लाइक, कमेन्ट देख्न सकिन्छ ।

अनलाइनले सूचना प्राप्त गर्ने छरितो माध्यमका रुपमा आफूलाई परिचित गराए पनि यसबाट मानिस दिग्भ्रमित हुने गरेका छन् ।

कतिपय अवस्थामा सूचना दिने सबै व्यक्ति पेशेवर सञ्चारकर्मी हुँदैनन् । हचुवामा जोकोहीले इन्टरनेटको जालोमा जेपनि पोस्ट गर्न सक्छन् ।

यसर्थ सूचनाका लागि अनलाइन माध्यम जति सहज छ, उतिनै अविश्वासिलो पनि ।

केही मानिस अरूलाई ठग्न, झुक्याउन पनि अनलाइन प्रयोग गर्छन् ।

कहिलेकाहिँ आधिकारिक र विश्वासिला व्यक्ति/संस्थाहरूले पनि गलत सूचना शेयर गरेका हुनसक्छन् । यसका लागि अनलाइन माध्यममा आउने तथ्य जाँच (fact-check) गर्न निकै जरुरी छ ।

तथ्य जाँचले अनलाइन एवं सामाजिक सञ्जालमार्फत हुने गलत वा भ्रामक सूचनाको विस्तार र व्यापक प्रसारलाई रोक्नसक्छ ।

सूचनाको स्रोत जाँच गर्नुहोस् 

अनलाइन माध्यममा फेला परेका चित्र, ग्राफिक्स वा पोष्टले मान्यताप्राप्त शैक्षिक संस्था, वैध कम्पनी, एजेन्सी, संस्था, वेबसाइट वा विशेषज्ञजस्ता विश्वसनीय स्रोतको उल्लेख गरेको छ कि छैन भनेर हेर्न सकिन्छ ।

यदि प्राप्त सूचनाको भरपर्दो स्रोत छैन भने यसलाई शेयर नगर्नु उपयुक्त हुन्छ । सूचना आधिकारिक भएमात्र यसको विश्वास गर्नुपर्छ ।  

भाषा जाँच गर्नुहाेस्

अनलाइनमा भएका सामग्रीमा कस्तो भाषा प्रयोग भइरहेकाे छ भनेर पनि बुझ्नु जरुरी छ ।

भाइरल अर्थात् चाँडै धेरै फैलने पोष्टहरूले प्रायः ‘क्लिकबेट’ (मानिसहरूलाई पोष्टमा क्लिक गर्न आकर्षित गर्ने किसिमका शीर्षक) का लागि सनसनीपूर्ण एवं उत्तेजित पार्ने भाषा प्रयोग गरेका हुन्छन् ।

यस्तो लिंकमा क्लिक गर्दा भित्र जानकारी भने केही हुँदैन वा शीर्षक अनुसारकाे हुँदैन ।

यस्ता लिंक मानिसहरूको विवरण चोरी गर्नको लागि पनि प्रयोग गर्ने गरिन्छ ।

यसकारण लिंकहरू चिन्न लिंक एड्रेसमा भएको शब्द/अक्षर हेर्न सकिन्छ । तिनीहरूमा प्रायः व्याकरणीय त्रुटि हुनसक्छन् । जस्तो कि ‘गोरखापत्र’ नामको वेबसाइटमा ‘gorkhpatradaily’ अथवा बुद्ध एयरको भनिएको वेबसाइटमा ‘Buddhair’ हुनसक्छ ।

त्यसैले सनसनीपूर्ण भाषा भएको वा गलत भाषा प्रयोग गरिएको सामग्री क्लिक अथवा शेयर नगर्नुहाेस् । 

तस्वीर/भिडिओ जाँच गर्नुहाेस्

अविश्वसनीय वा गलत सूचनामा ‘क्लिकबेट’का लागि फोटोशप गरिएका, विकृत र प्रायः यौनजन्य चित्र/ भिडिओ समावेश हुन्छन् । त्यसैले यस्ता तस्वीर/भिडिओहरूको विश्वास गर्नुहुँदैन र यस्तो सामग्री भएको लिंकमा क्लिक पनि गर्नुहुँदैन ।

ती तस्वीर/भिडि‌ओहरू वास्तविक हुन् वा होइनन् भनेर अन्य स्रोतहरूमा आएका जानकारीसँग तुलना गरेर पनि हेर्न सकिन्छ ।

पछिल्लो समय डिपफेक भिडिओमार्फत् चर्चित अनुहारहरू (जस्तै; रवि लामिछाने, बालेन्द्र साह) प्रयोग गरेर मानिसहरूलाई ठग्ने कामसमेत भइरहेकाे पाइएकाे छ ।

अन्य सञ्चारमाध्यम हेर्नुहाेस् 

अनलाइनमा कुनै एउटा सूचना प्राप्त भयो भने अन्य भरपर्दो सञ्चारमाध्यम पनि हेर्ने बानी बसाल्नु उचित हुन्छ । अन्य सञ्चार माध्यमले यस विषयमा समाचार सम्प्रेषण गरेका छन् कि छैनन् भनेर जाँच गर्नुपर्छ ।

यदि छैन भने त्यस्ता सूचनामा विश्वास गरिहाल्नु हुँदैन । कुनै पनि सामग्री पुष्टि गर्न कम्तीमा तीनवटा भरपर्दो स्रोतबाट जाँच गर्नु उचित हुन्छ । 

वास्तविकता पहिचान गर्नुहाेस्

यदि लेखक वा सूचना शेयर गर्ने संस्थाले कुनै विशेष दृष्टिकोणको प्रतिनिधित्व गर्ने गरेका छन् र त्यसका लागि चिनिएका छन् भने त्यो दृष्टिकोणलाई समर्थन गर्नेगरी तर्क र तथ्यहरू छनौट गरिएका हुनसक्छन् । यद्यपि यस्ता कुराको पनि वास्तविकता जाँच गर्न जरुरी हुन्छ ।

त्यसैगरी ठूला कम्पनी अथवा संस्थाको सेवासँग मिल्दोजिल्दो नाम राखेर विभिन्न अफरको विज्ञापन पनि राख्ने गरिन्छ । यस्तो जालमा नपर्नका लागि तथ्य जाँच गर्न सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जाल अकाउन्टमा गएर हेर्न सकिन्छ ।  

तथ्य जाँच गर्ने वेबसाइटहरू 

अनलाइनमा आएका कुनै सामग्रीको विषयमा दुविधा भयो अथवा सो सूचना सही हो वा होइन भनेर थाहा पाउनका लागि तथ्य जाँच गर्ने विभिन्न वेबसाइट प्रयाेग गर्न सकिन्छ । 

southasiacheck.org

nepalfactcheck.org

factchecker.in

altnews.in

africacheck.org