ट्रेन्डिङ:
साना उद्यमभन्दा यसकारण फरक हुन्छन् स्टार्टअप, सरकारले फेर्नुपर्छ पुरानो ‘चस्मा’ आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल विज्ञापनमा खण्डन आएपछि सामसङले माग्यो माफी कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै फेसबुकका अनावश्यक पोस्टबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै, कहाँ सम्पर्क गर्ने ?  माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! यस्तो छ टेलिकम कम्पनीको दशैं अफर यी व्यवसायीका लागि साउनदेखि ई-बिलिङ अनिवार्य
close

साना उद्यमभन्दा यसकारण फरक हुन्छन् स्टार्टअप, सरकारले फेर्नुपर्छ पुरानो ‘चस्मा’

टेकपाना टेकपाना

साउन २६, २०७९

साना उद्यमभन्दा यसकारण फरक हुन्छन् स्टार्टअप, सरकारले फेर्नुपर्छ पुरानो ‘चस्मा’

प्रविधिमा आधारित स्टार्टअपले अन्य क्षेत्रका स्टार्टअपभन्दा छिटोछिटो प्रगति हासिल गरेको पाइन्छ । एउटा विचारबाट सुरु भएका स्टार्टअपले सम्पूर्ण अर्थतन्त्र नै काँधमा बोकेका इतिहास छन् ।

एउटा सानो क्षेत्रबाट मौलाएको स्टार्टअपले विश्व बजार नै कब्जा गर्ने क्षमता राख्दछ । गुगल, अमेजन, अलिबाबा यसका केही उदाहरण हुन् ।

स्टार्टअप नवीनतम सोचले विकास भएका र गतिशील व्यवसाय हुन् । प्रविधिमा आधारित यस्ता स्टार्टअप सानो तहबाट सुरु हुने भएकाले यिनलाई साना तथा मझौला उद्यममा राख्ने प्रचलन विश्वभर नै छ ।

तर, टेक स्टार्टअप परम्परागत साना तथा मझौला उद्यमभन्दा भिन्नै हुन्छन् । विशेषगरी टेक स्टार्टअप त्यस्तो उद्यमलाई भनिन्छ, जसमा नवीनतम प्रविधि र साेच प्रयोग गरी परम्परागत समस्याको निराकरण गरिएको हुन्छ ।

युवा उद्यमीद्वारा सञ्चालित यस्ता स्टार्टअपले नवीनतम प्रविधिमा आधारित उत्पादन तथा सेवा बजारमा ल्याउँछन् । नवीनतम प्रविधिले मात्र हुनुपर्छ भन्ने पनि हुँदैन ।

प्रविधिको प्रयोग गरी नयाँ तरिकाले सर्वसाधारण वा केही वर्गको दैनिकी वा व्यवसायमा आएका चुनौती तथा अप्ठ्यारो परिस्थितिलाई सम्बोधन गर्ने किसिमको छ भने पनि त्यसलाई स्टार्टअप मान्न सकिन्छ ।

स्टार्टअप कसलाई मान्ने भन्ने कुराका लागि हाम्रै नीतिमा पनि द्विविधा छ । स्टार्टअप र साना व्यवसायलाई एउटै डालोमा हाल्ने गरेको परिपाटी नेपालमा सजिलै देख्न सकिन्छ ।

टेक स्टार्टअपको व्यापार मोडेल विशेषगरी इन्टरनेट तथा नयाँ प्रविधिसँग जोडिएको हुन्छ । त्यसैलाई समाधानको माध्यम बनाई उनीहरूले आम्दानी गरिरहेका हुन्छन् ।

यस्ता टेक स्टार्टअपले उनीहरूको नवीनतम सोच, व्यापारको नयाँ तरिकाले विश्व नै हल्लाउने सामर्थ्य राखेका हुन्छन् ।

टेक स्टार्टअपकै रूपमा उदाएका गुगल र फेसबुकको यात्रा स्टार्टअपदेखि युनिकर्न र अहिले विश्वको अर्थतन्त्र नै उनीहरूको काँधमा रहेको छ ।

त्यस्तै क्रान्तिकारी स्टार्टअपको रूपमा सबैभन्दा अगाडि आउने अर्को नाम हो टेस्ला र स्पेसएक्स ।

वायु प्रदूषणको न्यूनीकरणका लागि विद्युतीय गाडी निर्माण गर्ने टेस्ला र अन्तरिक्ष पुग्ने रकेटलाई बारम्बार प्रयोग गर्न मिल्ने बनाउने स्पेसएक्सलाई आज नचिन्ने मानिसहरूको जमात कमै छ ।

यी त्यस्ता स्टार्टअप हुन्, जो सीपमा बढी र भौतिक काममा कम केन्द्रित हुन्छन् ।

टेक स्टार्टअप साना तथा मझौला उद्यमभन्दा कसरी भिन्नै छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ ।

समयको माग अनुसारको आवश्यकता
सबैभन्दा मुख्य कुरा प्रायः टेक स्टार्टअप प्रविधिमा आधारित हुन्छन् । उनीहरू इन्टरनेट तथा नयाँ प्रविधिमा केन्द्रित हुने भएकाले प्रविधिको आगमनसँगै यस्ता स्टार्टअप अगाडि बढेको पाइन्छ ।

हरेक टेक स्टार्टअपका पनि आफ्नै नयाँ दायरा हुने गर्छन् । टेक स्टार्टअपका तमाम क्षेत्रमध्ये फिनटेक (वित्तिय प्रविधि), ई–कर्मश, एग्रीटेक (कृषी प्रविधि), ग्रिन टेक (त्यस्तो प्रविधिमा काम गर्ने स्टार्टअप जसले प्राकृतिक वातावरणमा मानवय असर कम गर्छ) मुख्य हुन् ।

कोभिड महामारीले स्वास्थ्यका लागि प्रविधि कति महत्वपूर्ण छ भन्ने पनि छर्लङ्गै पारेको छ । कोभिड महामारीले एडुटेक (शैक्षिक प्रविधि), हेल्थटेक (स्वास्थ्य प्रविधि– टेलिमेडिसिन) र व्यापारिक सम्मेलनका लागि टेलिमिटिङ तथा कन्फ्रेन्सिङको आवश्यकता बुझाएको छ ।

आवश्यकता र समयको मागले गर्दा पनि टेक स्टार्टअपहरू अन्य साना तथा मझौला उद्यमको तुलनामा धेरै फरक र आवश्यकताका विषय बनेका छन् ।

स्टार्टअपलाई इक्विटीको आवश्यकता पर्छ
स्टार्टअप सुरु हुने भनेकै सानो समूह र लगानीबाट हो । अन्य व्यवसायजस्तो एकैपटकमा ठूलो लगानी आवश्यक पर्नेमा टेक स्टार्टअप कमै भेटिन्छन् ।

सुरुवाती अवस्थामा टेक स्टार्टअप प्रोटोटाइप, त्यसको विकास तथा अन्य काममा केन्द्रित हुन्छन् । सुरुवाती केही वर्षमा स्टार्टअपले घाटा व्यहोरे पनि पछि नाफामा जाने किसिमका हुन्छन् ।

तर, साना तथा मझौला किसिमका उद्यमले लगानीलाई छोटो समयमा आम्दानीमा परिणत गरेका हुन्छन् । त्यसैले स्टार्टअपलाई इक्विटी, अनुदान उपयुक्त हुन्छ । इक्विटी दिगो हुने भएकाले स्टार्टअपका लागि यो महत्वपूर्ण हुन्छ ।

साना तथा मझौला उद्यम र स्टार्टअपको भिन्नता बुझेर सरकारले त्यही अनुसारको नीति बनाउनु पर्ने हुन्छ । स्टार्टअप कसलाई मान्ने, कुन क्षेत्रका स्टार्टअपलाई कति महत्व दिने भन्ने कुरा निश्चित नहुँदा स्टार्टअप अगाडि बढ्न सकेका छैनन् ।

सुरुवाती समर्थन
स्टार्टअपलाई सफल हुनु अगावै साथ चाहिएको हुन्छ । उनीहरूले भविष्यमा कस्तो प्रगति गर्न सक्छन् भन्ने कुरा आँकलन गरेर त्यही अनुसारको सहयोग, साथ र समर्थन गर्नुपर्ने हुन्छ ।

सिलिकन भ्याली, न्यूयोर्क, लन्डन र बोस्टन विश्वका पाँच उत्कृष्ट स्टार्टअप इकोसिस्टम हुन् । उनीहरूले वित्तीय सहयोग र डिजिटल पूर्वाधार उपलब्ध गराउनुभन्दा पनि स्टार्टअपलाई आवश्यक कानूनी परामर्श दिनु, मानव स्रोत व्यवस्थापन गर्नु जस्ता अन्य विविध सेवामा साथ दिएका हुन्छन् ।

स्टार्टअपलाई नवीनतम व्यापारशैली दर्ता गर्न कानूनी मार्गदर्शन आवश्यक हुन्छ । प्रायः स्टार्टअपले त्यस्ता क्षेत्र अँगालेका हुन्छन् जस सम्बन्धी कानूनी प्रावधान नै बनेको हुँदैन ।

त्यसैले हरेक क्षेत्रमा स्टार्टअपलाई मार्गदर्शन र साथको आवश्यकता हुने गर्छ ।

सहयोगको आवश्यकता
स्टार्टअपका प्रतिभाशाली प्रविधिलाई इन्कुबेटर र एक्सिलेटरबाट व्यापार विकासको साथ आवश्यक पर्छ । प्रविधिमा क्रियटिभ संस्थापकबाट सुरु भएका स्यार्टअप नवीनतम विचारमा आधारित हुन्छन् ।

उनीहरूले त्यस्ता स्टार्टअप सुरु गर्दा विशेषगरी आम सर्वसाधारणका समस्या समाधान र सहजतालाई सम्बोधन गरेका हुन्छन् । प्रविधिको प्रयोग गरी जनमानसको आवश्यकता पूर्ति गर्ने त्यस्ता स्टार्टअपको सोचाइलाई नाफामूलक व्यापार मोडेलमा परिणत गर्न आवश्यक हुन्छ । यसमा सबैभन्दा मुख्य भूमिका इन्कुबेटर र एक्सिलेटरको हुने गर्छ ।

त्यसका लागि इन्कुबेटरले समयसमयमा स्टार्टअपलाई सुझाव, तालिम, नेटवर्किङ, र मनिटरिङका उपायमा वर्कसप गराउन आवश्यक हुन्छ । जसले गर्दा उनीहरूले लगानीकर्ता जुटाई स्टार्टअपलाई नाफामूलक व्यापारमा परिणत गर्न सक्छन् ।

स्टार्टअपको आवश्यकता
टेक स्टार्टअपलाई विशेषगरी दक्ष व्यक्तिको आवश्यकता पर्छ । उनीहरू डिजिटलमा केन्द्रित हुने भएकाले विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणितमा विज्ञता भएका कर्मचारी आवश्यक पर्छन् ।

स्टार्टअपका लागि प्रतिभा प्राप्ति प्रमुख चुनौतीको विषय हो । जसलाई सरकारले विभिन्न शैक्षिक अवसर उपलब्ध गराई जनशक्ति सिर्जना गर्न आवश्यक हुन्छ ।

प्रतिभावान दक्ष व्यक्तिलाई स्टार्टअपमा आकर्षित बनाउन सरकारले सहज नीति अवलम्बन गर्नु आवश्यक हुन्छ । उनीहरूका लागि सुहाउँदो कर, लगानी भित्राउने सहज माध्यम बनाएको खण्डमा पनि स्टार्टअप इकोसिस्टम अगाडि बढाउन सकिन्छ ।

देशको अर्थतन्त्र बलियो बनाउनका लागि सरकारले स्टार्टअपमा योगदान दिन आवश्यक छ । साथै, नीति निर्माताले टेक स्टार्टअपले सामना गर्ने विभिन्न चुनौतीलाई सम्बोधन गर्ने सहयोगी इकोसिस्टम निर्माण गरी साथ दिन सक्छन् ।