close

विद्युतीय गाडीमा कर कटौती गर्न आवश्यक पहल थाल्छौँः कुलमान घिसिङ

टेकपाना टेकपाना

भदौ १, २०७९ १६:१

विद्युतीय गाडीमा कर कटौती गर्न आवश्यक पहल थाल्छौँः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले विद्युतीय गाडीमा कर कटौती गर्न आवश्यक पहल गर्ने बताएका छन् ।

प्राधिकरणको ३७औँ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशकको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले पेट्रोलियम इन्धनमा भएको मूल्यवृद्धि तथा भरपर्दो र लामो दूरी चल्ने विद्युतीय सवारी साधन पनि उपलब्ध हुन थालेकाले विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए ।

यसका साथै उनले सरकारी निकायहरूमा रहेका सवारी साधनहरूलाई पनि विद्युतीय सवारीले विस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

“सरकारी निकायहरूमा रहेका सवारी साधनहरूलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न र नयाँ सवारी साधनहरू खरिद गर्नुपरेमा विद्युतीय सवारीसाधन नै खरिद गर्ने राष्ट्रिय नीति लिई कार्यान्वयन गर्न आवश्यक पहल गरिनेछ,” उनले भनेका छन् ।

विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न तथा प्रयोगकर्ताहरूको सहजताका लागि प्राधिकरणले मुलुकका प्रमुख स्थानहरूमा उल्लेख्य सङ्ख्यामा द्रुत चार्जिङ स्टेसन स्थापना गर्ने याेजना ल्याएकाे पनि उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४