close

९०० किमिसम्म रेञ्ज दिने साओमीको ‘एसयू सेभेन’ ईभी, कति होला मूल्य ?

टेकपाना टेकपाना

चैत १७, २०८० १६:१४

९०० किमिसम्म रेञ्ज दिने साओमीको ‘एसयू सेभेन’ ईभी, कति होला मूल्य ?

काठमाडौं । साओमीले चिनियाँ बजारमा तीन ओटा संस्करणका ‘एसयू सेभेन’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । अप्रिल अन्तिमदेखि बजारमा उपलब्ध गराउनेगरी कम्पनीले बिहीबार बहुप्रतिक्षित एसयू सेभेन ईभी सार्वजनिक गरेको हो ।

एसयू सेभेन, एसयू सेभेन प्रो र एसयू सेभेन म्याक्स गरी यस गाडीका तीन भेरियन्ट रहेका छन् । कम्पनीले चीनका विभिन्न २९ सहरका ५९ स्टोरबाट उक्त गाडी उपलब्ध गराउने तयारी गरेको छ ।

यसको सुरुवाती मूल्य दुई लाख १५ हजार ९०० युआन (करिब ३९ लाख ७६ हजार रुपैयाँ) रहेको छ । त्यस्तै एसयू सेभेनको म्याक्स भर्सनको मूल्य दुई लाख ९९ हजार ९०० युआन (करिब साढे ५५ लाख रुपैयाँ) सम्म पर्ने बताइएको छ । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार साओमीले यस कारको तयारी तीन वर्षदेखि गरेको थियो । साओमीका सीईओ लेई जुनले एसयू सेभेनलाई कम्पनीको ड्रिम कारका रूपमा चिनाएका छन् । यसको लम्बाइ पाँच मिटर, चौडाइ दुई मिटर र ह्विलबेस तीन मिटर रहेको छ । 

“हामी यसलाई आकर्षक, सहजै चलाउन सकिने, स्मार्ट प्राइस र उच्च गुणस्तरको बनाउन चाहन्छौं,” एसयूभी सेभेन सार्वजनिक गर्दै सीईओ जुनले भने, “यो नै हो हामीले तपाईंहरूका लागि तयार पारेको ड्रिम कार ।”

कम्पनीले यो कार विभिन्न नौ कलरमा सार्वजनिक गरेको छ ।

गत महिना स्पेनको बार्सिलोनामा आयोजिय मोबाइल वर्ल्ड कङ्ग्रेसमा कम्पनीले यो कार तीन कलर भेरियन्टमा प्रदर्शनीमा राखेको थियो । 

यसमा २२० किलोवाट आवरको रियर ह्विल ड्राइभ मोटर रहेको छ । यसको उच्चतम स्पिड २७ हजार २०० आरपीएम रहेको छ । यसले उच्चतम ६३५ न्युटन मिटर टर्क डेलिभर गर्ने कम्पनीले जनाएको छ ।

कारले ५.३ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड पकड्ने कम्पनीको दाबी छ । यसको फास्ट भर्सनले भने यति गति जम्मा २.७८ सेकेन्डमै पकड्ने बताइएको छ । 

रेन्जको सन्दर्भमा यो गाडीले सिङ्गल चार्जमा ७०० देखि ९०० किलोमिटर दिने बताइएको छ । बेस मोडेलले ७०० किलोमिटरको स्पिड दिन सक्छ भने एसयू सेभेन प्रोले ८३० किलोमिटरको रेञ्ज दिन्छ । त्यस्तै यसको प्रिमियम भर्सन एसयूसेभेन म्याक्सले झन्डै ९०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यसमा ११ ओटा एचडी क्यामेरा, तीन ओटा मिलिमिटर वेभ र्‍याडर, १२ ओटा अल्ट्रासोनिक र्‍याडर र लिडार प्रविधि राखिएको छ ।

गाडीको भित्रपट्टि १६.१ इन्चको थ्री के सेन्ट्रल कन्सोल, ७.१ इन्च ड्याशबोर्डर ५६ इन्चको हेड्स अप डिस्प्ले (एसयूडी) रहेका छन् । 

त्यस्तै यसमा टेस्लाको जस्तै प्योर भिजन, २५४ टप्ट कम्प्यटिङ पावर भएको एनभिडिया ड्राइभ ओरियन चिप पनि समावेश छ । यसमा भएको अटोपाइलट फिचर अप्रिल महिनामा चीनका प्रमुख १० सहरमा परीक्षण गरिने बताइएको छ । यसले एप्पल कारप्ले र आईप्याड कनेक्टिभिटी पनि सपोर्ट गर्नेछ । यसमा १०५ लिटर फ्रङ्क र ५१२ लिटर बुट स्पेस रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १६:१६