close

यसरी सजिलै सङ्ग्रह गरेर राख्न सकिन्छ, गुगलमा ‘सर्च’ गरेका कुरा

टेकपाना टेकपाना

भदौ ३, २०७९ ९:१७

यसरी सजिलै सङ्ग्रह गरेर राख्न सकिन्छ, गुगलमा ‘सर्च’ गरेका कुरा

काठमाडौं । गुगल कलेक्सन एउटा त्यस्तो फिचर हो, जसको सहयोगमा तपाईँ आफूले सर्च गरेका फोटो, ठाउँ तथा लिङ्कहरू आफ्नो गुगल अकाउन्टमा सेभ हुने गरी राख्न सक्नुहुन्छ । यदि तपाईँले गुगलमा केही कुरा खोज्दै जाँदा नयाँ आकर्षक वा काम लाग्ने सामग्री देख्नुभयो भने त्यसलाई केही सेकेन्डमै सङ्ग्रह गरेर राख्न सक्नुहुन्छ ।

कतिपय अवस्थामा हामीले ब्राउजरमा विभिन्न साइट, फोटो तथा अन्य सामग्री देखिरहेका हुन्छौँ । जो पछिका दिनहरूमा उपयोगी वा भनौँ हामीलाई काम लाग्ने किसिमका पनि हुन सक्छन् ।

तपाईँले गुगल कलेक्सन फिचर निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । साथै यो फिचर प्रयोग गर्दा गुगल स्टोरेजमा कुनै असर पर्दैन । त्यसैले आफूलाई काम लाग्नसक्ने लिङ्क, फोटो तथा अन्य सामग्री भोलिका दिनमा प्रयोग गर्न गुगल कलेक्सन फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

कसरी बनाउने गुगल कलेक्सन ?

१. गुगलमा सर्च गरेका कुनै पनि लिङ्क, फोटो, ठाउँ, साइट कलेक्सनमा राख्न सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल कलेक्सन पेजमा जानुहोस् ।

अब दायाँपट्टि रहेको ‘न्यु कलेक्सन’मा क्लिक गर्नुहोस् ।

२. त्यसमा आफूले राख्न चाहेको फोटो, भिडिओ वा अन्य सामग्रीका लागि उपयुक्त हुने नाम छान्नुहोस् ।

३. ओके (OK) मा क्लिक गर्नुभयो भने नयाँ कलेक्सन अर्थात् फोल्डर तयार हुन्छ । यसरी नै स्मार्टफोनमा पनि कलेक्सन तयार पार्न सकिन्छ ।

गुगल कलेक्सनमा सामग्री यसरी सेभ गर्नुहोस्;

१. गुगल कलेक्सनमा कुनै पनि सामग्री थप गर्नका लागि पहिले जस्तै सामान्य तरिकाले गुगलमा सर्च गर्नुहोस् ।

२. त्यसपछि आफूले सेभ गर्न चाहेको तस्वीर छान्नुहोस् ।

३. त्यसपछि माथि रहेको तीन ओटा थोप्ला भएको चिन्हमा थिच्नुहोस् । 

४. त्यसपछि ‘एड टु कलेक्सन’मा क्लिक गरेर फोटो कलेक्सनमा सेभ गर्नुहोस् ।

५. डिफल्ट रूपमा उक्त फोटो तपाईँले बनाएको फोल्डरभन्दा अर्को फोल्डरमा (फेबरेट इमेज) मा सेभ हुन्छ ।

६. यदि त्यसलाई परिवर्तन गर्न चाहनु हुन्छ भने सेभ गर्दा तल ‘चेन्ज’ भन्ने विकल्प रहेको हुन्छ । त्यहाँबाट आफूलाई उपयुक्त लागेको कलेक्सन फोल्डरमा सेभ गर्न सक्नुहुन्छ । त्यस्तै गुगल कलेक्सनमा गएर उक्त फोटोलाई विभिन्न फोल्डरमा समेत राख्न सकिन्छ ।

ठाउँ सेभ गर्ने तरिका

१. सबैभन्दा पहिले गुगल सर्चबाट आफूले सेभ गर्न चाहेको ठाउँ सर्च गर्नुहोस् ।

२. त्यसपछि सो ठाउँका लागि बनाइएको पेज खुल्छ ।

३. अब सेभ (Save) को आइकन देख्न सकिन्छ । त्यसमा गएर आफूलाई उपयुक्त लागेको कलेक्सनमा सेभ गर्न सकिन्छ ।

विभिन्न वेबसाइट गुगल कलेक्सनमा सेभ गर्ने तरिका

१. सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा रहेको ब्राउजरमा आफूले सैब गर्न चाहेको लिङ्क सर्च गर्नुहोस् ।

२. लिङ्कभित्र प्रवेश गरिसकेपछि तपाईँले माथि सेभको आइकन देख्न सक्नुहुन्छ ।

३. त्यसपछि सेभको आइकनमा ट्याप गरेर कलेक्सनमा सेभ गर्नुहोस् । यदि तपाईँले चाहेको ‘कलेक्सन फोल्डर’मा ‘सेभ’ भएको छैन भने तल ‘चेन्ज’को अप्सनमा गएर आफूलाई उपयुक्त लाग्ने अप्सन छान्न सक्नुहुन्छ ।

सेभ गरिएका कलेक्सनमा पहुँच पाउन के गर्ने ? 

आफूले विभिन्न ‘कलेक्सन’मा सेभ गरेको केही समयपछि सो कलेक्सन हेर्नु पर्‍यो भने तलको प्रक्रिया अपनाउनुहोस् ।

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर वा ब्राउजरमा गएर गुगल कलेक्सन सर्च गर्नु होस् ।

२. त्यसपछि तपाईँले त्यहाँ आफूले तयार पारेका विभिन्न कलेक्सन देख्न सक्नुहुन्छ । अब आफूलाई उपयुक्त ‘कलेक्सन’बाट चाहिएका सामग्रीमा पहुँच पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४