close

पुरानो ल्यापटपको क्षमता बढाउने तरिका

टेकपाना टेकपाना

भदौ १८, २०७९ ८:११

पुरानो ल्यापटपको क्षमता बढाउने तरिका

काठमाडौं । अहिलेको डिजिटल युगमा कम्प्युटर अनिवार्य भइसकेको छ । शक्तिशाली कम्प्युटरको आवश्यकता पनि त्यसैगरी बढिरहेको छ । 

दैनिक कामहरू डिजिटल तरिकाले हुने समयमा आफूसँग पनि स्मार्ट कम्प्युटर हुनु अति नै आवश्यक छ । ३२-बिट अपरेटिङ सिस्टम छ भने बढीमा ४ जीबी र्‍याम मात्र राख्न मिल्छ । 

त्यस्तै ६४-बिट अपरेटिङ सिस्टममा स्लट अनुसार र्‍याम थपेर आफ्नो ल्यापटपको क्षमता बढाउन सकिन्छ । आज हामी तपाइको ल्यापटपमा कति बिटको अपरेटिङ सिस्टम छ, र्‍यामको लागि छुट्टै स्लट छ कि छैन भन्ने कुरा कसरी थाहा पाउने भन्ने विषयमा चर्चा गर्दै छौँ । 

विन्डोज ल्यापटपको अपरेटिङ सिस्टमको बिट कसरी थाहा पाउने ? 

  • यसका लागि सबैभन्दा पहिला ल्यापटपको सेटिङमा रहेको सिस्टममा जानुहोस् ।  
  • त्यसपछि सेटिङ भित्रको अबाउटमा जानुहोस् । 
  • त्यहाँ तपाईँले आफ्नो ‘सिस्टम इन्फर्मेसन’ फेला पार्नुहुनेछ । 

‘डिभाइस स्पेफिकेसन’अन्तर्गत ‘सिस्टम टाइप’मा तपाईँको ल्यापटपले कति बिट अपरेटिङ सिस्टम सपोर्ट गर्छ भन्ने कुराको जानकारी दिइएको हुन्छ। उदाहरणको रूपमा तपाईँले तलको तस्वीरमा हामीले प्रयोग गरेको ल्यापटपले ६४-बिट अपरेटिङ सिस्टम सपोर्ट गर्ने कुरा हेर्न सक्नुहुन्छ ।  

ल्यापटप ६४ बिट भएर मात्रै पनि हुँदैन । र्‍यामको लागि छुट्टै स्लट उपलब्ध गराइएको छ कि छैन त्यो पनि महत्त्वपूर्ण हुन्छ।  र्‍यामको लागि छुट्टै स्लट उपलब्ध छैन भने तपाईँले आफ्नो कम्प्युटरमा भएको र्‍याम अपग्रेड गर्नुपर्ने हुन्छ ।  अर्थात ४ जीबी र्‍याम छ भने अपग्रेड गर्दा त्यही स्लटमा आठ जीबीको र्‍याम राख्नु पर्ने हुन्छ । तर छुट्टै अर्को ४ जीबी राखेर र्‍याम ८ जीबी पुर्‍याउन मिल्दैन ।

तपाईँको ल्यापटपमा र्‍यामको लागि कति स्लट छन्,  कसरी थाहा पाउने ?  

  • यसका लागि पहिले आफ्नो ल्यापटपमा कन्ट्रोल, सिफ्ट र एस्क (Ctrl +shift + Esc) बटन एक साथ थिचेर टास्क म्यानेजर (Task manager ) खोल्नुहोस्।  
  • टास्क म्यानेजर खुलेपछि पर्फर्मेन्समा जानुहोस् ।  
  • पर्फर्मेन्स भित्र मेमोरीमा क्लिक गर्नुहोस् ।  

त्यहाँ तपाईँले स्लट्स युज्डमा (Slots used) कति ओटा स्लट्स छन् र कति ओटा प्रयोग भएका छन् भन्ने जानकारी पाउन सक्नु हुन्छ।  जस्तै यहाँ ‘वन अफ टु’ (1 of 2) लेखिएको छ । जसको अर्थ दुई ओटा स्लट मध्ये एक स्लट मात्र प्रयोग भएको छ भन्ने बुझिन्छ ।  

यसरी तपाईँले आफ्नो कम्प्युटरले कति बिट अपरेटिङ सिस्टम छ र र्‍यामको लागि कति ओटा स्लट छन् भन्ने कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३