close

मोबाइलबाट पत्ता लाग्यो चोर

टेकपाना टेकपाना

भदौ १८, २०७९ ९:५३

मोबाइलबाट पत्ता लाग्यो चोर

सङ्खुवासभा । गत मङ्गलबार राति करिब दुई बजे खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल घरको चाबी तोडेर चोरी हुन लागेको पसल धनीले थाहा पाए ।

चोरीमा संलग्नहरूले बाहिरी ढोकाको चाबी फुटाएर भित्रि पसलको चाबी फुटाउँदै थिए । त्यही क्रममा श्रेष्ठका २८ वर्षीय छोरा सन्दिप श्रेष्ठले थाहा पाएर होहल्ला गर्न थाले ।

चोरी भएको हल्ला भएपछि चाबी फुटाउँदै गरेकाहरूले श्रेष्ठलाई आक्रमण गरी निर्घात कुटपिट गरे । गुहार दिन आएका श्रेष्ठको आमा र दिदीलाई पनि आक्रमण गरी घाइते बनाए ।

श्रेष्ठ परिवारको होहल्लापछि छिमेकी भेला हुन थालेपछि चोरीको प्रयास गर्दै गरेका तीन जना भागे । स्थानीयले पछ्याउने क्रममा एउटा मोबाइल सेट भेटे र प्रहरीलाई बुझाए ।

उक्त मोबाइल सेटको माध्यमबाट चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

चोरीमा संलग्न सिलिचोङ गाउँपालिका–१ का ४२ वर्षीय नन्दुराज राई, सोही गाउँका ३४ वर्षीय जगत राई र सिलिचोङ–३ का २३ वर्षीय अङ्कित राईलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारका अनुसार उक्त मोबाइल धनी (नन्दुराज) पत्ता लगाएर अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानकै क्रममा चोरीमा संलग्न अर्को सदस्यले म्यासेज गरेको थियो । उक्त मेसेजलाई आधार बनाएर अनुसन्धान गर्दा दोस्रो व्यक्ति (जगत) पनि पक्राउ गरिएको गोदारले जानकारी दिए ।

दुवै जना चोरीमा संलग्न भएको पुष्टि भएसँगै तेस्रो व्यक्ति (अङ्कित) लाई पनि पक्राउ गर्न सहज भएको उहाँले जानकारी दिए । चोरीमा संलग्नहरूले पसलमा रहेको नगद चोर्ने उद्देश्य राखेको खुल्न आएको प्रनाउ गोदारले जानकारी दिए ।

“पसलमा चोरी गर्न एक महिनादेखि रेकी गरेको देखिन्छ,” गोदारले भने, “सामान किन्ने निहुँ पारेर त्यहाँ भएको कारोबार, सीसी टीभीको अवस्थालगायतको रेकी गरिएको देखिएको छ ।”

नकाव लगाएर चोर्न आएकाहरूले सीसी टीभी कपडाले छोपेर पसलको चाबी फुटाएको प्रनाउ गोदारले जानकारी दिए ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३