close

युट्युब जस्तै फेसबुकमा पनि बोलेर सर्च गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ १९:३२

युट्युब जस्तै फेसबुकमा पनि बोलेर सर्च गर्न सकिने

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुकलाई आकर्षक बनाउन पछिल्लो समय विभिन्न नयाँ फिचर समावेश गरेको छ । गत हप्ता मेटाले फेसबुक ग्रुपका लागि विशेष फिचर उपलब्ध गराउने घोषणा गरेको थियो । जसअन्तर्गत ग्रुपमा रिल अपलोड गर्ने, कन्टेन्ट व्यवस्थापन गर्न एड्मिनलाई विशेष फिचरहरू सार्वजनिक गर्ने बताएको थियो ।

केही दिनदेखि विश्वका विभिन्न क्षेत्रका प्रयोगकर्ताले फेसबुक ग्रुपमा अडियो कमेन्ट गर्नसक्ने फिचर पाएका छन् । यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध छैन । विशेषगरी पुराना फेसबुक अकाउन्ट भएका प्रयोगकर्ताले विशेष ग्रुपहरूका पोस्टमा मात्र अडियो कमेन्ट गर्न पाएका छन् । त्यसका लागि उक्त प्रयोगकर्ताले फेसबुकको लाइट भर्सनको एप प्रयोग गर्नुपर्ने हुन्छ ।

यससँगै कम्पनीले भ्वाइस सर्च फिचर पनि उपलब्ध गराएको छ । अडियो कमेन्ट फिचर उपलब्ध भएका प्रयोगकर्ताले फेसबुकमा बोलेरै आफूलाई आवश्यक कन्टेन्ट वा अकाउन्ट सर्च गर्न सक्छन् । यो फिचर युट्युबले आफ्ना प्रयोगकर्तालाई विगत केही वर्षदेखि उपलब्ध गराउँदै आएको थियो ।

फेसबुकमा कुनै पनि कन्टेन्ट वा आइडी सर्च गर्न अडियो फिचर प्रयोग गर्न चाहने प्रयोगकर्ताले लाइट एप प्रयोग गरेको हुनुपर्ने हुन्छ । यो फिचर परीक्षण भइरहेको भएकाले केही निश्चित प्रयोगकर्ताले मात्र पाएका छन् । फेसबुक लाइट एपमा गई सर्च आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ माइक्रोफोनको आइकन देख्न सक्नुहुन्छ ।

माइक्रोफोनको आइकनमा क्लिक गरिसकेपछि गुगलको भ्वाइस सर्च बक्स खुल्छ । तपाईँले त्यहाँ केही नगरी आफूले सर्च गर्न चाहेको कुरा बोल्नुपर्ने हुन्छ । त्यसपछि तपाईँले बोलेका शब्द सर्च बक्समा देखिन्छन् । यति गरिसकेपछि त्यहाँ विभिन्न सजेसन देखिन्छ । यदि तपाईँले सर्च गर्न चाहेको कुरा सजेसनमा छैन भने कीबोर्डमा रहेको सर्च आइकन क्लिक गर्नुहोस् । यसरी फेसबुक लाइटमा भ्वाइस सर्च गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १९:३२