close

बससेवाले सच्यायो अफर, मतदानको विषयमा कुनै जानकारी नमाग्ने

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १८:३३

बससेवाले सच्यायो अफर, मतदानको विषयमा कुनै जानकारी नमाग्ने

काठमाडौं । बससेवा डटकमले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै मंगलबार घाेषणा गरेकाे अफर सच्याएको छ । बससेवाले मतदातासँग आफूले मतदान गर्ने उम्मेदवारको नाम उपलब्ध गराउन आग्रह गर्दै पुरस्कार अफर ल्याएकाे थियाे । 

साे कार्य निर्वाचन कसुर तथा सजाय ऐन विपरीत रहने भन्दै टेकपानाले समाचार प्रकाशित गरेपछि बससेवाले अफर सच्याउँदै मतदानको विषयमा बससेवालाई कुनै पनि जानकारी गराउन नपर्ने भनेर अर्काे विज्ञप्ति जारी गरेको छ ।

''उम्मेदवारलाई उपहार प्रदान गर्ने प्रक्रियामा विजेता मतदाताले बससेवालाई आफूले भोट दिएको कुरा बससेवालाई सिफारिस गरेपछि उपहार प्रदान गरिने भनिएकोमा स्पष्ट पार्न चाहन्छौँ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ, ''उपहार प्रदान गर्ने क्रममा गोलाप्रथाद्धारा विजेता मतदातालाई दुई ओटा उपहार प्रदान गरिनेछ र उसले आफ्नो उम्मेदवारलाई गोप्य रुपमा उपहार प्रदान गर्न सक्नेछ । विजेताले आफूले गरेको मतदानको विषयमा बससेवालाई कुनै पनि कुरा जानकारी गराउनुपर्ने छैन ।''

यसअघिको कम्पनीको विज्ञप्तिमा मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार पाउने जनाइएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १८:५८