close

नबिल बैंकको नियो बैंक सेवा, मोबाइलबाटै ३० सेकेन्डमा नयाँ खातादेखि ऋण आवेदनसम्म

टेकपाना टेकपाना

पुस ८, २०७९ ८:४७

नबिल बैंकको नियो बैंक सेवा, मोबाइलबाटै ३० सेकेन्डमा नयाँ खातादेखि ऋण आवेदनसम्म

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ । नबिल बैंकले बिहीबार एक भर्चुअल कार्यक्रम आयोजना गरि नियो बैंक (एन बैंक) को  सुरुवात गरेको हो । 
योसँगै नबिल बैंकले आफूहरू कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको घोषणा गरेको छ । नियो बैंकको अर्थ भर्चुअल बैंक भन्ने हुन्छ । यसको अर्थ हो ग्राहकले आफ्नो कामहरू गर्नको लागि बैंकमा नै गइरहनु पर्दैन । बैंकका सम्पूर्ण कामहरू अनलाइन मार्फत नै गर्न सकिन्छ । नियो बैंकलाई इन्टरनेट वन्ली बैंक पनि भनिन्छ । 

नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको प्रयोगले एन बैंकको उपयोग मार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । 
एन बैंक मार्फत् नयाँ खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका कामहरू गर्न सकिन्छ । 

यो भन्दा अगाडि नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले एन बैंक अपडेट स्वत: प्राप्त गरेका छन् । एपमा उपलब्ध हुने सुविधासँगै एपको लोगो र युजर इन्टरफेस पनि परिवर्तन भएको छ । 

यस्ता छन् एन बैंकका प्रमुख विशेषताहरू

१. ३० सेकेन्ड मै खाता खोल्न सकिने  
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एन सेभिङ खाता (N Saving Account) खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्ममिति, ईमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नु पर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नु भन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।

२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छनेछन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एन बैंक एपबाट सिधै तोकिएको सीमासम्मआवेदन दिन सकिनेछ । यसको लागि बैंक धाउनुपर्ने,अन्य कुनै कागजी कार्य गर्नुपर्ने बाध्यता भने हुनेछैन । 

३. एन–रेमिट
नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् ।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन्।

५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवाप्रदान गर्ने बताएको छ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

यो सँगै ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन् । जस्तो कि नयाँ डेबिट कार्ड, डेबिट कार्ड प्रतिस्थापन, क्रेडिट कार्ड, व्यक्तिगत ऋण आवेदन लगायतका कामहरू पनि मोबाइल एपबाटै गर्न सकिनेछ । 

यसबाहेक, एपबाट नै बैंकको सम्पर्क, शाखा तथा एटीएमको विवरण, ब्याजदर, विनिमय दर, ईएमआई क्याल्कुलेटर एन बैंकमार्फत् ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा प्रयोग गर्न सक्नेछन् । यो सँगै अब एन बैंकमार्फत फोनपे मार्फत विभिन्न अनलाइन भुक्तानी पनि गर्न सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ ११:०