close

पाँचौं संस्करणको आईसीटी अवार्ड हुँदै, ११ विधाका लागि तीन सय बढीको नोमिनेशन

टेकपाना टेकपाना

भदौ २८, २०७७ १९:५८

पाँचौं संस्करणको आईसीटी अवार्ड हुँदै, ११ विधाका लागि तीन सय बढीको नोमिनेशन

काठमाडौं । पाँचौं संस्करणको आईसीटी अवार्डका लागि विजेता छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो नोमिनेशन संख्या गत वर्षभन्दा दुई गुणा बढी रहेको आयोजकले जनाएको छ ।

कोभिड–१९ को महामारी र लकडाउनको बाबजुद पनि आईसीटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

आईसीटी अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुल्ला गरिएको थियो । स्टार्टअप र राइजिङ स्टुडेन्ट आईसीटी अवार्डमा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएका छन् ।

स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड सेल्फ नोमिनेशनका विधाहरू रहेका छन् ।

यसैगरी पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आईसीटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । इन्नोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ ।

आईसीटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरू जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरू जुरी सल्लाहकारमा रहेका छन् । विभिन्न ११ विधालाई यस वर्ष ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया शुरू भएको आयोजकले बताएको छ ।

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट र इन्नोभेसन विधाहरूमा विभिन्न चरणका छनौटसँगै प्रिजेन्टेशन र पब्लिक भोटिङ समेत सञ्चालन हुनेछ । यसैगरी अन्य विधाहरूमा विभिन्न ३ चरणको छनोट प्रक्रियाहरू रहेको बताइएको छ ।

यस वर्षको छनौट प्रक्रिया तथा जुरी मिटिङहरुरू भर्चुअल रूपमा सञ्चालन हुने आयोजकले बताएको छ ।

सन् २०१६ देखि शुरू लिभिङ विथ आईसीटीले आयाेजना गरेकाे आईसीटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको छ । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०