close

अब अभिभावकलाई पनि टेलिकमको ‘पाठशाला सीयूजी’, निःशुल्क प्याकेजमै थप ४ जीबी डेटा

टेकपाना टेकपाना

पुस १३, २०७७ १५:६

अब अभिभावकलाई पनि टेलिकमको ‘पाठशाला सीयूजी’, निःशुल्क प्याकेजमै थप ४ जीबी डेटा

काठमाडौं । अब नेपाल टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध हुने भएको छ । कम्पनीले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई दिँदै आएको सहुलियत दरको ‘पाठशाला सीयूजी सेवा’ थप विस्तार गरेको हो ।

यो अफरमा सहभागी हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई समेत कम्पनीको पाठशाला सीयूजी सेवामा आवद्ध गराउन सकिन्छ ।

नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिएर सीयूजी सेवा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कुनै सार्वजनिक विद्यालयसँग सम्बद्ध कम्पनी ग्राहकलाई संस्थागत प्रयोगकर्ता समूह (सीयूजी) मा आबद्ध हुन मासिक जम्मा ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ ।

यसमा आबद्ध सेवाग्राहीले क्लोज ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने गरी भ्वाइस सेवा पाउने छन् । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जीबी डेटा उपलब्ध गराइएकोमा यसलाई बढाएर ८ जीबी पुर्‍याइएको छ ।

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधालाई यथावत कायम गरिएको छ । साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि एक जीबी डेटा र समूहभित्र एक सय वटा एसएमएस पठाउन सकिने सुविधा पनि थप गरिएको छ ।

कसरी लिने सेवा ?

यो सेवाका लागि विद्यालयले ‘पाठशाला सीयूजी सिम’ मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्ने हुन्छ । सो विवरण स्थानीय तहको सिफारिस सहित नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

यसरी आवश्यक शुल्क भुक्तानी गरी ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला सीयूजी सेवाको जानकारी उपलब्ध हुन्छ । आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधान अनुसार सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने व्यवस्था छ ।

त्यसैले नै योजनामा सामेल हुन स्थानीय निकायको सिफारिश लिनुपर्ने व्यवस्था गरिएको हो । यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट रुपमा प्रति सदस्य ९९ रुपैयाँ (सरकारी कर र स्वामित्व करवाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा भुक्तानी गर्न सक्नेछन् ।

यसका लागि भने स्थानीय तहको सिफारिश आवश्यक नपर्ने कम्पनीले जनाएको छ । पाठशाला सीयूजी अफरको अवधि समाप्ति भए पश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्ता सरह नै निरन्तर रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०