close

४८ वर्षअघि स्टिभ जब्सले हातले लेखेको ‘जब एप्लिकेशन’ लिलामीमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

फागुन ५, २०७७ १३:४९

४८ वर्षअघि स्टिभ जब्सले हातले लेखेको ‘जब एप्लिकेशन’ लिलामीमा, कति होला मूल्य ?

काठमाडौं । एप्पलका संस्थापक स्टिभ जब्सले ४८ वर्षअघि जागिर खान हातले लेखेको निवेदन (जब एप्लिकेशन) लिलामीमा राखिएको छ । यो निवेदन उनले सन् १९७३ रिड कलेजबाट ड्रपआउट भएपछि लेखेका थिए ।

जागिरका लागि जोकोहीले आवेदन दिन्छन् । यो स्वभावै हो । तर प्रविधि क्षेत्रका एक हस्ती स्टिभ जब्सले जमानामा जागिर खान लेखेको निवेदन लिलामीमा राखिएको छ । केही प्रश्न राखेर प्रिन्ट गरिएको एउटा पानामा स्टिभ जब्सले हस्तलिखित जवाफ लेखेका छन् ।

उत्तर लेख्ने क्रममा स्टिभ जब्सले आफ्नो अनुभव कम्प्युटर र क्यालकुलेटरमा रहेको उल्लेख गरेका छन् । साथै विशेष क्षमतामा इलेक्ट्रेनिक टेक वा डिजाइन इन्जिनियर भनेर उल्लेख गरेका छन् ।

तर कुन कम्पनीका लागि उनले आवेदन दिएका थिए भन्नेबारे केही खुलाइएको छैन । यद्यपि त्याे कम्प्युटिङ कम्पनी थियाे भनेर अनुमान लगाउन सकिन्छ ।

यो निवेदन दिएको एक वर्षपछि उनले अटारी नामको कम्पनीमा टेक्निसियनको जागिर खाए । त्यहाँ उनले स्टिभ वज्नियकसँग मिलेर काम गरे । पछि यी दुई मिलेर एप्पल कम्पनी स्थापना गरे ।

यसअघि स्टिभ जब्सकाे याे ‘जब एप्लिकेशन’ २०१८ मा १ लाख ७५ हजार डलरमा बिक्री भएको थियो । तर अहिले कति मूल्यमा लिलामीमा राखिएको छ भनेर केही खुलाइएको छैन ।

बीबीसीकाे एक समाचार अनुसार ५० हजार डलर अर्थात् ५८ लाख ४४ हजार रूपैयाँ बराबरमा याे बिक्री हुने अनुमान गरिएकाे छ ।

क्यान्सरका कारण सन् २०११ मा स्टिभ जब्सकाे निधन भएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३