close

कलेजहरुमा ब्राण्ड एम्बेस्डर खोज्दै हाम्रो बजार

टेकपाना टेकपाना

चैत ४, २०७७ १९:४२

कलेजहरुमा ब्राण्ड एम्बेस्डर खोज्दै हाम्रो बजार

काठमाडौं । नेपालको चर्चित अनलाइन मार्केटप्लेस हाम्रो बजारले विभिन्न कलेजहरुमा आफ्ना ब्राण्ड एम्बेस्डर तयार पार्ने भएको छ । कम्पनीले शिक्षालाई उद्योगसँग जोड्ने उद्देश्यका साथ ‘हाम्रो बजार स्टुडेन्ट पार्टनरशिप प्रोग्राम’ अगाडि सारेको हो ।

कम्पनीले आफ्नो नियमित वार्षिक कार्यक्रमको रुपमा अगाडि सारेको स्टुडेन्ट पार्टनरशिप प्रोग्राममा क्याम्पसका विद्यार्थीहरुले एम्बासडरको रुपमा सिक्न र आफ्नो प्रतिस्पर्धी सीप प्रस्तुत गर्ने मौका पाउनेछन् । विद्यार्थीलाई पेसागत रुपमा परिचित हुन तथा सक्रिय रहन यो एउटा राम्रो अवसर भएको हाम्रो बजारका सीईओ रोहित तिवारीले बताए ।

‘यो कार्यक्रमअन्तर्गत हामीले निश्चित कलेजहरुमा दुई जना विद्यार्थी छनौट गरेर एउटा समूह तयार पार्छौं,’ उनले भने, ‘हाम्रोबजारले उपलब्ध गराएका स्रोत साधन प्रयोग गरेर स्टुडेन्ट एम्बेस्डरहरुले त्यसबाट सिक्न, छलफल गर्न र अन्य विद्यार्थीहरुलाई सिकाउन समेत सक्नेछन् । यो विद्यार्थी र कम्पनीका लागि आपसी रुपमा अगाडि बढ्ने राम्रो मौका हुनेछ ।’

अनलाइन मार्केटप्लेस हाम्रो बजारमा विभिन्न कम्पनी तथा व्यक्तिहरुले आफ्ना उत्पादनहरुको सूची तयार पारेर राख्न सक्छन् । जसका लागि अटोमोबाइल, घरायसी साजसज्जा, कम्प्युटरदेखि रियलस्टेटसम्मका विभिन्न क्याटेगरीहरु राखिएका छन् ।

ग्राहकले हाम्रोबजारबाट खरिद मात्र नभएर प्रयोग भइसकेका वा नयाँ सामग्री सहजै बिक्री गर्न समेत सक्छन् । साधारण भाषामा भन्दा हाम्रो बजार प्लेटफर्मले अनलाइनमा क्रेता र बिक्रेतालाई आपसमा जोड्ने पुलको काम गर्दै आएको छ । 

हाम्रोबजार स्टुडेन्ट एम्बास्डरहरुले नेतृत्व, टिम वर्क, सञ्चार सीप, नेटवर्किङ, रिपोर्टिङ, मार्केटिङ जस्ता सीप विकासदेखि नेपालका चर्चित ब्राण्डहरुमाझ परिचित हुने मौका समेत पाउनेछन् । यतिमात्र नभएर स्टुडेन्ट ब्रान्ड एम्बेस्डरहरुले सर्टिफिकेटसँगै हाम्रो बजारमा निश्चित अवधिका लागि इन्टर्नशिपको अवसर पनि पाउनेछन् ।

कार्यक्रमका लागि विभिन्न कलेजहरुसँग कुराकानी सुरु भइसकेको सीईओ तिवारीले जानकारी दिए । ‘अबको एक महिनाभित्र १० वटा कलेजहरु निश्चित गरिसक्ने योजना छ,’ उनले भने, ‘यस वर्ष २० वटा कलेजमा यो कार्यक्रम लैजाँदै छौं । जसमा १० वटा कलेज काठमाडौंका र बाँकी १० वटा कलेज उपत्यका बाहिरका हुनेछन् ।’

यो कार्यक्रममा ३० प्रतिशत प्राविधिक कलेज र ७० प्रतिशत व्यवस्थापन सम्बन्धी अध्ययन अध्यापन हुने कलेजहरु रहने कम्पनीले जनाएको छ । एउटा कलेजबाट छनौट हुने दुई जना ब्राण्ड एम्बेस्डरमा एक जना छात्र र एक जना छात्र हुनेछन् ।

‘पढ्ने कुरालाई व्यवहारिक रुपमा कर्यान्वयन गर्दा कत्तिको चुनौतिपूर्ण छ भन्ने कुरा विद्यार्थीहरुले यो कार्यक्रममार्फत सिक्ने मौका पाउनेछन्,’ सीईओ तिवारीले भने, ‘शिक्षा क्षेत्रलाई उद्योगसँग जोड्ने प्रयास स्वरुप यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’

कार्यक्रम सञ्चालन गर्न इच्छुक कलेजहरुले यहाँ क्लिक गरी ईमेल पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१