close

भीओएलटीईसँगै अब टेलिकमको भीओवाईफाई, नेटवर्क नहुँदा समेत कल गर्न सकिने

टेकपाना टेकपाना

जेठ ३, २०७८ ११:४४

भीओएलटीईसँगै अब टेलिकमको भीओवाईफाई, नेटवर्क नहुँदा समेत कल गर्न सकिने

काठमाडौं । आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । कम्पनीले एक महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी आन्तरिक परीक्षण थालेको हो । 

यो सेवा सुरु भएसँगै टेलिकमका प्रयोगकर्ताले कम्पनीको मोबाइल नेटवर्क कमजोर रहेको स्थानमा अथवा नेटवर्क नै नभएको स्थानमा समेत भीओएलटीई (फोरजीमा आधारित एचडी भ्वाइस, भिडिओ र एसएमएस) सेवा प्रयोग गर्न सक्नेछन् । तर त्यसका लागि वाईफाई कनेक्सन भने आवश्यक पर्नेछ । 

यो सेवाले मोबाइल नेटवर्क कमजोर भएको ठूला बिल्डिङभित्रबाट वाईफाई कनेक्ट गरी टेलिकमको नेटवर्कमा कुराकानी गर्न सकिनेछ । यति मात्र होइन, टेलिकमको मोबाइल साथमा बोकेर विदेश जाँदा समेत वाईफाईमा जोडिएर कम्पनीको सेवा सुचारु राख्न सकिनेछ । 

भीओएलटीईसँगै भीओवाईफाई सेवा समेत सञ्चालनमा ल्याउने योजना रहेको भए पनि थप परीक्षण गर्नुपर्ने भएकाले केही समय कुर्नुपर्ने टेलिकमले जनाएको छ । भर्खरै सञ्चालनमा आएको भीओएलटीई सुचारु गरेजस्तै गरी सेटिङमा गएर यो सेवा प्रयोग गर्न सकिनेछ ।

त्यसपछि भाइबर, ह्वाट्सएप जस्ता एपहरुमा जस्तै सोझै मोबाइल नम्बर डायल गरेर भ्वाइस तथा भिडिओ कल र म्यासेज सेवा चलाउन सकिनेछ । यद्यपी भीओएलटीई तथा भीओवाईफाई सेवाका लागि टेलिकमको सिस्टमसँगै सम्बन्धित मोबाइल निर्माता कम्पनीहरुले आफ्ना सेटहरुमा त्यसलाई इनेबल गरिदिनुपर्ने हुन्छ । 

यसका लागि सेट भेन्डरमार्फत विभिन्न मोबाइल निर्माता ब्राण्डहरुसँग सम्वाद चलिरहेको टेलिकमको मोबाइल निर्देशनालयकी निर्देशक मिनू प्रधानले जानकारी दिइन् ।

उनले भनिन्, ‘आन्तरिक परीक्षण पुरा भएको खण्डमा अबको एक महिनाभित्र सामान्य प्रयोगकर्ताले समेत प्रयोग गर्न सक्नेगरी परीक्षणमा जाने योजना छ ।’ विश्वका अन्य देशहरुमा यी सेवाहरु वर्षौंदेखि उपलब्ध भए पनि नेपालको सन्दर्भमा भने नयाँ हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१