close

रमाइलोको नाममा झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्ता लिंक, के-के हुन सक्छ खतरा ?

टेकपाना टेकपाना

पुस २०, २०७९ १७:४१

रमाइलोको नाममा झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्ता लिंक, के-के हुन सक्छ खतरा ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रमाइलोका नाममा विभिन्न गेम खेल्ने र शेयर गर्ने प्रवृत्ति बढेकाे छ । 'तपाईँको भविष्य कस्तो छ', 'तपाईँको भाग्य रेखाले के भन्छ', 'तपाईँ को जस्तो देखिनुहुन्छ' जस्ता प्रश्न तथा मानिसहरूलाई रहर लाग्ने रोचक भविष्यवाणीका अनलाइन खेलका लिंक फेसबुकमा देख्न सकिन्छ ।

फेसबुकबाट सोझै खेल्न , प्रयाेग गर्न सकिने भएकाले यी गेम फेसबुकले नै खेलाएको हाे कि भन्ने लाग्नसक्छ । वास्तवमा फेसबुकमा हुने यस्ता 'रमाइला गेम' थर्ड पार्टी कम्पनीहरूले तयार पारेका हुन्छन् । उनीहरूले आफ्नो स्वार्थका लागि बनाएका गेम खेल्दा प्रयोगकर्ता ठगीको शिकार भइरहेका छन् ।

"फेसबुकका गेमहरू फेसबुकले नभई थर्ड पार्टीले बनाएका हुन्छन् । त्यसमा फेसबुक साइनअप गरी खेल्न खोज्दा लिङ्क पठाइएको हुन्छ । र, त्यस्ता लिङ्क खोल्दा प्रयोगकर्तालाई थाहै नभई मालवेयर इन्स्टल हुन्छ ।" साइबर सुरक्षा विज्ञ विजय लिम्बू भन्छन् ।

फेसबुकमा देखिने अधिकांश गेम प्रयोगकर्ताको डेटा चोर्नका लागि तयार पारिएको उनको भनाइ छ ।

यस्ता मालवेयर फोनको स्क्रिनमा नदेखिने र त्यसले भित्रभित्रै डिभाइसको एक्सेस लिने हुँदा फोन नै मालवेयर फैलाउने व्यक्तिको कब्जामा हुन्छ । फेसबुक अकाउन्टबाटै गेम खेल्ने सुविधाकाे लाेभमा लाग्दा यसले गम्भीर सुरक्षा जाेखिम ल्याउनसक्छ ।

१. यो तपाईँले सोचेजस्तो 'प्राइभेट' छैन

जबजब तपाईँ आफ्नो फेसबुक अकाउन्टमार्फत कुनै माध्यममा लगइन गर्नुहुन्छ, तपाईँले उक्त एप तथा वेबसाइटलाई आफ्ना केही व्यक्तिगत सूचनाहरू दिइहरनु भएको हुन्छ ।

तपाईँका कति सूचना त्यसरी शेयर भइरहेका छन् भन्ने कुरा तपाईँले कस्तो पर्मिसन दिनु भएको छ भन्ने कुरामा भर पर्छ । तर त्यो निकै धेरै पनि हुनसक्छ । 

२. झुक्किएर धेरै सूचना बाहिरिने जोखिम

फेसबुकले अन्य एपहरूसँग आफ्नो अकाउन्टमा रहेका कति सूचना शेयर गर्ने भन्ने कुरा नियन्त्रण गर्ने सुविधा प्रयोगकर्तालाई दिएको हुन्छ । तर त्यसका बाबजुद सहजै झुक्किएर धेरै सूचना शेयर हुने सम्भावना हुन्छ ।

उदाहरणका लागि मानौँ तपाईँले कुनै एउटा एप डाउनलोड गर्नु भयो र त्यसलाई आफ्नो पब्लिक प्रोफाइलमा एक्सेस गर्ने अनुमति दिनु भयो । तर त्यसले तपाईँको फ्रेन्ड लिस्टमा समेत पहुँच बनाएको कुरा पछि मात्र थाहा पाउनु भयो । 

३. असफलताको एउटै विन्दु हुनसक्छ 

यदि कसैगरी तपाईँको फेसबुक अकाउन्ट ह्याक भयो भने साइबर अपराधीले फेसबुकमार्फत लगइन भएका सबै एप तथा वेबसाइटमा एक्सेस पाउँछ, जुन तपाईँका लागि निकै धेरै क्षति पुर्‍याउने कारण बन्न सक्छ, खासगरी यदि तपाईँले सम्वेदनशील अकाउन्टका लागि आफ्नो फेसबुक लगइन प्रयोग गर्नु भएको छ भने । 

४. केही एपले तपाईँको डेटा बिक्री गर्न सक्छन्

हुन त थर्ड-पार्टी एपले तपाईँको डेटा कसरी प्रयोग गर्न सक्छन् भन्ने विषयमा फेसबुकको कडा नीति छ । तर सबै एपहरूले उक्त नीति पालना गर्दैनन् । केही सन्दर्भमा फेसबुक लगइन आवश्यक पर्ने कुनै एपले तपाईँको डेटा विज्ञापनदातासँग बिक्री गर्न सक्छ । 

५. तपाईँले फेसबुकलाई पनि आफ्नोबारे थप धेरै डेटा दिनुहुन्छ

गोपनीयता केही मानिसहरूले फेसबुकलाई मन नपराउने कारण मध्येको एउटा प्रमुख हो । यदि तपाईँ आफ्नो बारे एकदमै धेरै डेटा रहेकाले फेसबुकलाई लिएर चिन्तित हुनुहुन्छ भने फेसबुक लगइन प्रयोग गर्दा तपाईँको त्यस्तो चिन्तालाई थप बढाउनेछ । 

६. तपाईँको अकाउन्ट नै लक हुन सक्छ

यदि तपाईँले केही गरी आफ्नो फेसबुक पासवर्ड बिर्सिनुभयो भने फेसबुकमार्फत लगइन गरेका अन्य सबै एप तथा वेबसाइट समेत लक हुन सक्छन् । त्यसैले केही सन्दर्भमा यस्ता अन्य अकाउन्टमा पहुँच बनाइराख्न ब्याकअपका अन्य विधिहरू पनि महत्त्वपूर्ण हुन्छन् ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १७:४८