close

युट्युब छोड्ने मिस्टर बिस्टको पोस्टमा एलन मस्कको समर्थन !

टेकपाना टेकपाना

चैत २०, २०८० १०:८

युट्युब छोड्ने मिस्टर बिस्टको पोस्टमा एलन मस्कको समर्थन !

काठमाडौं । अप्रिल फुलका दिन चर्चित युट्युबर मिस्टर बिस्ट उर्फ जिम्मी डोनाल्डसनले एक्समार्फत युट्युब छोड्न लागेको बताए । २४ करोड ८० लाख बढी सब्स्कराइबरका साथ युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्टले यस्तो पोस्ट त्यो पनि अप्रिल फुलमा राखेपछि धेरैले त्यसलाई मजाकका रूपमा लिएका छन् । 

“म युट्युब छोड्दैछु,” उनले एक्स पोस्टमा लेखेका छन् । एक्समा यस्तै किसिमका रमाइला सामग्री राखिरहने बिस्टले सोही पोस्टको रिप्लाईमा अबदेखि आफू पूर्ण रूपमा एक्समा पोस्ट राख्ने समेत बताएका छन् । उनको पोस्टमा रिप्लाई गर्दै एक्सका मालिक एलन मस्कले समर्थन जनाएका छन् । मस्कले बिस्टको निर्णयमा शंका व्यक्त गर्दै रिप्लाईमा भनेका छन्, “तपाईंले वास्तवमा गर्नुपर्छ ।” 

बिस्टको सोही पोस्टमा युट्युबले समेत रिप्लाई गर्दै भनेको छ, “तिम्रो दुई हप्ता कहाँ गयो ?” सो पोस्टमा कतिपयले बिस्टको भनाइ प्रति आशंका व्यक्त गरेका छन् भने कतिपयले उनले साँच्चै त्यसो गर्न सक्ने अड्कल गरेका छन् । 

यसअघि मिस्टर बिस्ट युट्युबको तुलनामा एक्सबाट नगन्य आम्दानी हुने धारणा राख्दै आएका थिए । पछि परीक्षण गर्न उनले युट्युबमा अपलोड गरेको भिडिओ एक्समा पनि राखे । भिडिओले उत्तिकै चर्चा पनि बटुल्यो ।

एक्समा राखिएको सो भिडिओमा अहिले १७ करोड ७० लाख बढी भ्युज छ । बिस्टले उक्त भिडिओबाट दुई लाख ६३ हजार डलर बढी आम्दानी भएको भन्दै पोस्ट राखेका थिए । त्यसपछिका दिनमा बिस्ट भिडिओको पहिलो प्राथमिकता युट्युबलाई दिने भए पनि ती भिडिओ एक्समा पनि राख्दै आएका छन् । एक्समा भिडिओ राख्दै आएकाले पनि कतिपयले उनी एक्सतर्फ आकर्षित हुने अड्कल काटेका छन् । 

यो समाचार तयार पार्दासम्म बिस्टले उक्त पोस्टबारे कही कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १०:८