close

फेसबुकमा बालेन र विशाल भण्डारीको जुहारी

टेकपाना टेकपाना

माघ ७, २०७९ १२:५१

फेसबुकमा बालेन र विशाल भण्डारीको जुहारी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अकाउन्टबाट गरिएको कमेन्ट भाइरल छ ।

कमेडी रियालिटी शो 'कमेडी क्लब विथ च्याम्पियन्स'का होस्ट एवं प्रोजेक्ट हेड विशाल भण्डारीले गरेकाे दुई ओटा फेसबुक पोस्टमा बालेन शाहको अकाउन्टबाट कमेन्ट गरिएको छ । उक्त कमेन्टको स्क्रिनशट अहिले फेसबुकमा चर्चित छ ।  

निर्देशक भण्डारीले 'रक्षक नै भक्षक' शीर्षकमा एउटा पोस्ट राखेका छन् । 

यो पोस्टमा बालेन शाह कमेन्ट गर्छन्, "तिम्रो शो पैसाको भोटले जित्छ, तिमी पैसा कमाउन आएका हौ । तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमीलाई जीवनमा पैसा बाहेक केही कमाउनु छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।"

र्‍याप शैलीको यो कमेन्टलाई धेरैले नकारात्मक तथा सकारात्मक दुवै पक्षबाट विश्लेषण गरेका छन् ।

 

"मैले प्रश्न सोधेको माफ पाउँ श्री ८ बालेन शाह  । भत्काउनु बाहेक के बनाउनुभयो ?" निर्देशक भण्डारीले पहिलो पोस्ट गरेको दुई घण्टापछि अर्को प्रश्नसहितको स्टाटस राखे ।

"प्रश्न सोध्न पाइन्छ भाइ," उक्त पोस्टमा बालेन शाह नामको अकाउन्टबाट कमेन्ट गरिएको छ, "काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ ?"

 

बालेन शाहको नाम भएको अकाउन्टमा 'ब्लु टिक' छैन । अर्थात् फेसबुकले उक्त अकाउन्ट आधिकारिक अकाउन्ट हो भन्ने पुष्टि गरेको छैन । त्यसैले कतिपयलाई यो नक्कली अकाउन्ट भएको आशंका लागेको छ ।

तर, सन् २०१२ बाट सक्रिय यो अकाउन्टमा बालेन शाहकै आधिकारिक फेसबुक अकाउन्ट हो, जसलाई पुष्टि गर्ने धेरै आधार छन् ।

बालेनको फेसबुक पेजमा 'ब्लु टिक' उपलब्ध छ । साथै उनको नामबाट बनाएका नक्कली अकाउन्ट पनि थुप्रै छन् । तर, फेसबुकको भाइरल पोस्टमा जुन अकाउन्टबाट कमेन्ट गरिएको छ त्यो भने बालेन शाहको आधिकारिक फेसबुक अकाउन्ट हो ।

सामाजिक सञ्जालमा बालेनले यो अकाउन्टबाट गरेका केमन्ट धेरैमा चर्चामा आइरहन्छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पोस्टमा गरिएको कमेन्ट होस् वा एमाले नेता महेश बस्नेत तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पोस्टमा गरिएको कमेन्ट होस् । ती सबै कमेन्टले विवाद र चर्चा पाए । 

यस्तोमा काठमाडौं महानगरका प्रमुख बालेन शाहको नाममा रहेका सामाजिक सञ्जाल अकाउन्ट कुन सक्कली, अनि कुन नक्कली भन्ने कुरा छुट्याउन धेरैलाई दुविधा परिरहेको देखिन्छ । आज हामी उनी सक्रिय रहने सक्कली सामाजिक सञ्जाल अकाउन्ट कुन-कुन हुन् भन्ने विषयमा चर्चा गर्दै छौँ ।

१. 'बालेन' नामको फेसबुक पेज

 बालेनको नाममा एउटा आधिकारिक फेसबुक पेज छ । १० लाखभन्दा बढी फलोअर रहेको यो भेरिफाइड फेसबुक पेजबाट उनले यो समाचार सामग्री तयार पार्दासम्म ३२० ओटा पेज तथा अकाउन्टलाई फलो गरेका छन् ।

खासगरी उनले महानगर प्रमुखका रूपमा आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न यही फेसबुक पेज प्रयोग गर्दै आएका छन् ।

२. 'Balen Shah (बालेन)' फेसबुक आईडी  

फेसबुकमै बालेनको एउटा व्यक्तिगत अकाउन्ट पनि छ । भेरिफाइड नरहेको अकाउन्टलाई यो समाचार तयार पार्दासम्म एक लाख ८४ हजारभन्दा धेरैले फलो गरेका छन् ।

करिब सन् २०१२ ताका खोलिएको यो अकाउन्टबाट उनले बेलाबखत आफ्नो आधिकारिक फेसबुक पेजमा रहेका पोस्ट, अन्य सामाजिक सञ्जालका पोस्ट, व्यक्तिगत तथा पेशागत, औपचारिक तथा अनौपचारिक सामग्रीहरू शेयर गरिरहेका हुन्छन् ।  

३. इन्स्टाग्राम

बालेनको एउटा इन्स्टाग्राम आईडी छ, जसमा यो समाचार सामग्री तयार पार्दासम्म एक लाख ५७ हजार फलोअर रहेका छन् । तर उनले यो आईडीबाट कसैलाई पनि फलो गरेका छैनन् ।

बालेनले यो इन्स्टाग्राम आईडीबाट समेत आफ्नो व्यक्तिगत, पेशागत र मेयरको रूपमा पोस्टहरू गर्ने गरेका छन् । 

४.  टिकटक 

बालेन शाहको टिकटक अकाउन्ट पनि छ, जसमा उनलाई फलो गर्नेहरूको सङ्ख्या एक लाख १६ हजारभन्दा बढी छ ।

कहिलेकाहीँ टिकटक भिडिओ बनाएर पोस्ट गर्ने यो अकाउन्टबाट उनले एक जनालाई मात्र फलो गरेका छन् । बालेनको यो टिकटक अकाउन्ट भेरिफाइड छैन । 

५. ट्वीटर 

मेयर बालेन शाह ट्वीटरमा पनि छन् । भेरिफाइड नभएको उनकाे ट्वीटर अकाउन्टलाई ९२ हजारभन्दा धेरैले फलो गरेका छन् । तर उनले कसैलाई फलो गरेका छैनन । युजरनेम एट शाहबालेन (@ShahBalen) रहेको ट्वीटर अकाउन्टमा उनी एकदमै थोरै सक्रिय हुन्छन् । हालसम्म उनले यो अकाउन्टबाट जम्मा १४२ ओटा ट्वीट गरेका छन् । 

६. लिङ्क्डइन 

बालेन शाहले आफ्नो पेशागत प्रोफाइलका लागि लिङ्क्डइन अकाउन्ट बनाएका छन् । करिब २२ हजार फलोअर रहेको यो अकाउन्टमा उनी खासै सक्रिय देखिँदैनन् । यद्यपि चुनावताका उनले लिङ्क्डइनबाट समेत प्रचारप्रसार गरेका थिए ।

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ १३:४९