close

ठगिए कमाउने लोभमा ‘अनलाइन इन्भेष्टमेन्ट’ गर्ने नेपाली, यसरी चल्दै थियो चिनियाँ धन्दा

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १५, २०७९ २०:२४

ठगिए कमाउने लोभमा ‘अनलाइन इन्भेष्टमेन्ट’ गर्ने नेपाली, यसरी चल्दै थियो चिनियाँ धन्दा

काठमाडौं । जति लगानी गर्‍यो १४ दिनमा त्यसको ३० प्रतिशत नाफा हुन्छ भनेर कसैले लगानी गर्न सुझाव दियो भने तपाईँ के गर्नुहुन्छ ? पक्कै पनि सुरुमा यस्तो कुरामा तपाईंलाई विश्वास लाग्दैन ।

विश्वस्त बनाउन प्रमाण, विभिन्न किसिमका घटनाक्रम र कुनै व्यक्तिका सफलताका कथा सुनाएपछि तपाईंलाई विश्वास लाग्न थाल्छ । त्यसपछि पैसा नभए पनि केही दिनका लागि कसैबाट ऋण काढेर तपाईँ लगानी गर्न तयार हुनुहुन्छ ।

यस्तै लोभमा परेर एक व्यक्तिले ४८ लाख रुपैयाँभन्दा बढी गुमाएको घटना बाहिर आएको छ । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने चिनियाँ गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठ, चण्डोल र महादेवखोलाबाट पक्राउ गरेको छ । 

यस्तो छ चिनियाँ गिरोहको अनलाइन ठगी धन्दा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो ठगी कार्यको खोज अभियानलाई 'अपरेसन: चार्ली अनलाइन स्क्याम' नाम दिएर अनुसन्धान थालेको थियो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो घटनामा संलग्न चिनियाँ र नेपाली नागरिकलाई सार्वजनिक गरिएको हो ।

यसबारे बोल्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीले यो ठगी धन्दा करिब डेढ महिनाबाट चल्दै आएको बताए । उनका अनुसार डेढ महिनाको अवधिमा कूल एक करोड ६४ लाख रुपैयाँ बढी ठगी भएको देखिएको छ । 

प्रहरीले यो सर्च अपरेसनको नाम 'अपरेसन; चार्ली अनलाइन स्क्याम' राख्नुका पछाडि रोचक कारण छ । यस ठगी कार्यमा संलग्न प्रमुख गिरोह चिनियाँ भएकाले यस्तो नाम राखिएको हाे ।

अनुसन्धान कार्यमा संलग्न टोलीका अनुसार सबैभन्दा पहिले यो गिरोहले ह्वाट्सएपमा विभिन्न नेपाली नम्बर मिलाएर सम्पर्क गर्छन् । उनीहरूले मेसेज गरेका व्यक्तिमध्ये जोसँग पैसा छ वा जो उनीहरूको प्रलोभनमा पर्छ, जस्तो लाग्छ त्यसलाई पछ्याउँछन् । 

ह्वाट्सएपमा कुराकानी गरेर मानिसलाई विश्वस्त बनाइसकेपछि उनीहरूले पीडितलाई टेलिग्राम एपमा रहेको 'अपरेसन टिचर' नामको च्यानलमा जोड्छन् । यहाँ केही युवतीले कसरी आम्दानी गर्न सकिन्छ भन्ने कुरा सिकाउँछन् । कारोबार गर्न सिकेपछि पीडितले लगानी गर्दै उनीहरूले भने अनुसार कारोबार गर्छन् । 

कारोबार गर्ने शैली ‘ड्रप शिपिङ’ जस्तै देखिन्छ । ड्रप शिपिङमा व्यापार गर्ने व्यक्तिको आफ्नै वेबसाइट हुन्छ । उसले बिक्रेताबाट सामान खरिद गरेर आफ्नो वेबसाइटमा राख्छ । उक्त वेबसाइटमा भएको सामान ग्राहकले खरिद गरेपछि सोझै ग्राहक कहाँ पुग्छ ।

यो घटनामा पनि यस्तै शैली लागू भएको देखिन्छ । तर, वेबसाइट भने चिनियाँ व्यक्तिको हुन्छ । उनीहरूले व्यापार गर्न छुट्टै वेबसाइट बनाउन पर्दैन । बस् उनीहरूले भने अनुसार अकाउन्ट खोलिदिए पुग्छ ।

चिनियाँ व्यक्तिले त्यसका ओभर स्टक डटभीआईपी र शपी डटकम जस्ता प्लेटफर्म तयार पारेका छन् । जसलाई अहिले रिडाइरेक्ट गरेर अश्लील सामग्री भएको वेबसाइटमा पुर्‍याइएको छ । उक्त वेबसाइटमा अकाउन्ट बनाएपछि पीडितले सजिलै कारोबार गर्न सक्छन् भनेर देखाइएको हुन्छ ।

अकाउन्ट बनाइसकेपछि आम्दानी गर्न चाहने व्यक्तिले सुरुवातमा आफ्नो आर्थिक अवस्थाले धान्ने र डुबेपनि फरक नपर्ने किसिमले लगानी गर्छन् । लगानी गर्न उनीहरूले उक्त वेबसाइटमा देखाइएको बैंक अकाउन्टमा पैसा पठाउनुपर्ने हुन्छ ।

पैसा पठाइसकेपछि उक्त वेबसाइटमा पीडितले बनाएको अकाउन्टमा सो रकम देखिन्छ । त्यसपछि पीडितले सामान व्यवस्थापन गर्ने, अर्डर हेर्ने, सामान डेलिभरीका काम आफ्नै पेजबाट हेर्न सक्छन् ।

उनीहरूले खरिद गरेका सामग्री कति बिक्री भए, कति स्टकमा छन् भन्ने कुरा सोही वेबसाइटबाट हेर्न सकिन्छ । यति गरिसकेपछि लगानी गरेको रकमको ३० प्रतिशत मुनाफा आफ्नो बैंक अकाउन्टमा पाउँछन् । सो वेबसाइटमा डिपोजिट गरिएको रकम वेबसाइटमै रहिरहन्छ । 

यसरी थोरै लगानीबाट सुरु गरेको व्यापारमा फाइदा हुने देखेपछि मानिसहरू (पीडित) बढी लगानी गर्न उत्साहित हुन्छन् । त्यसपछि १० लाख, १५ लाख, २० लाख हुँदै ५० लाखसम्म पुग्छन् ।

पीडितबाट उच्चतम कति रकम आउन सक्छ भन्ने कुरा यकिन भइसकेपछि पीडितलाई 'ल इन्फोर्समेन्ट अफिसर' नाम भएको टेलिग्राम च्यानलमा जोडिन्छ ।

त्यसपछि उनीहरूले गैरकानूनी काम गरेको, कर छली गरेको भन्दै डर देखाइन्छ । र, उनीहरूले बिक्री गर्ने वेबसाइटको सामग्रीलाई ब्लक गरिन्छ । त्यसपछि पीडितले आफू ठगिएको पत्ता पाउँछन् । केहीले त आफूले गलत काम गरेको अनुभव गर्छन् र घटना बाहिर ल्याउँदैनन् ।  

नेपालीलाई सम्पर्क गर्ने, टेलिग्राममा कारोबार गर्न सिकाउने कामका लागि चिनियाँ नागरिकले पाँच जना नेपाली युवतीलाई प्रयोग गरेको देखिएको छ ।

पीडितले डिपोजिट गरेको रकम नेपालीकै बैंक अकाउन्टमा आउँछ । चिनियाँ नागरिकलाई पक्राउ परेका अर्जुन श्रेष्ठ भन्ने व्यक्तिले चारजना नेपाली पुरुषको नाम, बैंक अकाउन्ट नम्बर, पासवर्ड, उनीहरूको नामको सिम उपलब्ध गराउँछन् ।

बैंक अकाउन्ट प्रयोग भएका नेपालीलाई चिनियाँ नागरिकले हरेक पटक पैसा निकाल्दा १० हजार कमिसन दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यसरी उनीहरूको बैंक अकाउन्टको लगइन डिटेल पाएका चिनियाँलाई पीडित नेपालीको अकाउन्टमा सुरुवाती दिनमा कमिसनका रूपमा पैसा ट्रान्सफर गरिदिन्छन् । यसरी अर्डर आएर डेलिभरी भइसकेपछि चिनियाँ नागरिकले चार जना नेपालीको बैंक अकाउन्टबाट कमिसन स्वरुपमा पीडितलाई भने अनुसारको पैसा पठाइदिन्छन् । जसले गर्दा पीडित फाइदा हुने कुरामा विश्वस्त हुन्छन् । 

कर्मचारीका रूपमा चिनियाँले राखेका पाँच जना नेपाली महिलाहरू छन् । जसले नेपालीलाई सम्पर्क गर्ने, व्यापार गर्न सिकाउने र अन्तिममा 'ल इन्फोर्समेन्ट अफिसर' बनेर डर देखाउने काम गर्छन् ।

पक्राउ परेका चिनियाँ नागरिकले उक्त वेबसाइटमा वास्तविक कारोबार भएको जस्तो देखाउँछन् । कारोबार विभिन्न देशमा भइरहेको देखिए पनि वास्तवमा कोठामा बसेर चिनियाँ नागरिकले कारोबार भइरहेको जस्तो देखाउँछन् । र, कमिसन स्वरुप पीडितको अकाउन्टमा रकम पठाइदिन्छन् । यस्तो रकम पठाउन चिनियाँ नागरिकले चार जना नेपाली पुरुषको बैंक अकाउन्ट प्रयोग गरेका छन् ।  

यो कारोबार गर्नका लागि एउटा पीडितका लागि एउटा सिमकार्ड देखिएको छ । यस्तो सिम विभिन्न व्यक्तिलाई ठगी गरी उनीहरूको कागजात प्रयोग गरी निकालिएको पाइएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

र, अन्तिममा एटीएमबाट पैसा निकाल्ने काम पनि तिनै चार जना नेपालीले प्रति कारोबार १० हजार रुपैयाँ पाउने लोभले गरेका छन् । चार जना नेपालीले एटीएमबाट निकालेको पैसालाई अर्जुन श्रेष्ठ भन्ने व्यक्तिले चिनियाँ नागरिकलाई बुझाउँछन् र मध्यस्थकर्ताका रूपमा पाउनुपर्ने रकम पाउँछन् । यसरी यस ठगी कार्यमा संलग्न भएका कूल १९ जना पक्राउ परेका छन् ।  

वास्तविक समयमा कारोबार भइरहेको देखिने र त्यसबाट राम्रो आम्दानी भएको आफैले देखेपछि थुप्रै मानिसहरू ठगिने सम्भावना धेरै भएको एसएसपी केसीको भनाइ छ । हरेक पटक नयाँ नयाँ तरिकाले अनलाइन ठगी हुने भएकाले अनलाइनमा सामान खरिद गर्दा वा लगानी गर्दा सचेत हुन केसीले सुझाव दिएका छन् ।

"लगानी गर्ने बित्तिकै कमिसन आउने देखेपछि जोकोही पनि यसमा विश्वास गर्न सक्ने हुन्छ," डा. केसीले भने, "त्यसैले अनलाइनमा कसैले लगानी गर्न भनेर सुझाव दियो भने सचेत हुनुहोला ।"

यस्तो घटनामा बीचमा कानूनका कुराहरू ल्याएर पीडितलाई डर देखाएकाले पीडित प्रहरीकहाँ आउन नसकेको केसीले जनाएका छन् । "अहिले एक जनाले मात्र यसबारे उजुरी दिनुभएको थियो । उहाँको ४८ लाख रुपैयाँभन्दा बढी ठगी भएको रहेछ । अन्य थुप्रै पीडित भएको हाम्रो अनुमान छ । अनुसन्धानका लागि हामी आफैं उहाँहरूलाई सम्पर्क गर्छौं," उनले अगाडि भने ।

 

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १५:९