close

काठमाडौं महानगरका अव्यवस्थित तार हटाउन इन्टरनेट सेवाप्रदायक सहमत

टेकपाना टेकपाना

बैशाख २४, २०८० १८:३९

काठमाडौं महानगरका अव्यवस्थित तार हटाउन इन्टरनेट सेवाप्रदायक सहमत

काठमाडौं । अन्ततः सोमबारदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अव्यवस्थित तार हटाउने काम सुरु हुने भएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिका, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), उपत्यका विकास प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीको सीसीटीभी युनिटको संयुक्त बैठकले अव्यवस्थित तार हटाउने निर्णय गरेको हो ।

पहिलो चरणमा दुई ठाउँमा अव्यवस्थित तार व्यवस्थापनको कामको थालनी हुने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) का कोषाध्यक्ष पुष्कर बडालले जानकारी दिए । उनका अनुसार भोलि बिहान माइतीघरदेखि नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म एउटा र न्युरोड गेटदेखि हनुमानढोका क्षेत्रको भित्री गल्ली हुँदै असनसम्म अव्यवस्थित तार हटाइनेछ । 

बडालले भने, "बैठकले सहरका विभिन्न क्षेत्रमा भएका अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गर्ने विषयमा सहमति कायम गरेको छ ।" सकेसम्म सेवा अवरुद्ध नहुने गरी अनावश्यक तार व्यवस्थापनको काम गर्न लागिएको हो । 

"केही महिनाअघि ठमेल क्षेत्रमा जस्तो जे पायो त्यही गरेर तार काट्यो भने पो सेवा अवरुद्ध हुन्छ," बडालले भने, "सेवा कहीँ पनि अवरुद्ध हुँदैन । यदि कतै भयो भने हाम्रो टिम त्यहीँ हुन्छ, व्यवस्थापन गरिहाल्छ ।" यसरी तार व्यवस्थापन गर्दा क्षणिक रूपमा मात्र काम भएको जस्तो देखिने उनले बताए ।

"यसैगरी पहिले पनि हामीले तार व्यवस्थापन गरेका थियौं । दूरसञ्चार प्राधिकरण र आईस्पान भएर आन्तरिक गृहकार्य पनि भएकै थियौं । तर, यो अस्थायी समाधानको उपाय मात्र हो । केही समयपछि उस्तै हुन्छ । दिगो रूपमा यो समस्याका समाधान गर्न पूर्वाधार सहप्रयोगमा जानैपर्छ," बडालले भने ।

काठमाडौं महानगरपालिकाले १२ वैशाखमा एक सूचना प्रकाशित गर्दै सहरभर टाँगिएका अनावश्यक तार हटाउने घोषणा गरेको थियो । शुक्रबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहरका अव्यवस्थित तार हटाउन लागिएको जानकारी दिएका थिए ।

उक्त समाचार विभिन्न सञ्चार माध्यममा आएपछि शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरेको थियो । जसमा दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवस्थापन गर्न कठिनाइ हुने उल्लेख गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० १८:३९