close

माइतीघरमा स्मार्ट कार्ड पीडितः ‘तिम्रो रिचार्ज तिमी लग, हामीलाई हाम्रो पसिना देऊ,’

टेकपाना टेकपाना

बैशाख २५, २०८० १५:२५

माइतीघरमा स्मार्ट कार्ड पीडितः ‘तिम्रो रिचार्ज तिमी लग, हामीलाई हाम्रो पसिना देऊ,’

काठमाडौं । रिचार्ज कार्ड र सिम कार्डको पैसा फिर्ता दिन माग राख्दै स्मार्ट कार्ड पीडित समूहले माइतीघर मण्डलामा धर्ना दिएकाे छ । स्मार्ट टेलिकमकाे लाइसेन्स खारेज भएपछि उक्त कम्पनीबाट खरिद गरेका रिचार्ज कार्ड र सिमकाे क्षतिपूर्ति दिन माग राख्दै पीडितहरूले बिहीबार माइतीघरमा धर्ना दिएका हुन् ।

‘तिम्रो रिचार्ज तिमी लग, हामीलाई हाम्रो पसिना देऊ’, ‘हामी आमव्यवसायी हौं, हाम्रो लगानी सुरक्षित गर’ जस्ता प्ले कार्ड बाेकेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा स्मार्ट कार्डको रिचार्ज कार्डसमेत फ्याँकेर प्रतिकात्मक विरोध जनाएका छन् ।

थुप्रै पटक स्मार्ट टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणसँग यसबारे कुरा गर्दा पनि सुनुवाई नभएपछि आफूहरू सडकमा आउनु परेको पीडित समूहका संयोजक पवन सापकोटाले बताए । उनले आफूहरूको माग सरकारसँग ‘टावर चलाइदेऊ कि त पैसा फिर्ता देऊ’ भन्ने मात्र रहेको जनाए ।

“शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । आज विभिन्न स्थानबाट साथीहरू आइरहनु भएको छ ,” उनले भने, “हाम्रो धेरै ठूलो समस्या पनि होइन । केही समय टावर चलाइँदा हाम्रो समस्या समाधान हुन्छ । सरकारलाई पनि फाइदा हुन्छ ।”

त्यस्तै उनले स्मार्ट खारेजीसँग आफूहरूको सम्बन्ध नरहेकोले जतिसक्दो चाँडो सरकारले कुरा सुन्नुपर्ने उनले बताए । “सरकार हाम्रै हो । हामीलाई त स्मार्ट खारेजीसँग त सम्बन्ध नै छैन । स्मार्ट खारेज होस् हामीलाई केही फरक पर्दैन ।  कर नतिर्नेहरूलाई खारेज गर्नुपर्छ । हामी पनि त्यसमा सहमत छौं । तर बजारमा लाखौं रुपैयाँको कार्ड छ । यसैले हाम्रो माग सरकारले पूरा गरिदिनुपर्छ,” उनले भने ।

योसँगै पीडित समूहका गोविन्द घिमिरेले आफूहरू आन्दोलनकारी नभएर व्यापारी भएको बताउँदै स्मार्ट टेलिकमका वितरकहरूले लाइसेन्स नवीकरण नगर्ने भए कार्ड नै बेच्दैनौं भन्ने आशा दिएकाले किनेकाे बताए । तर अहिले आएर आफूहरूको पैसा डुब्न लागेको उनकाे दुःखेसाे थियाे ।

स्मार्ट टेलिकमको लाइसेन्स खारेजीसँगै खुद्रा बिक्रेता, किराना पसले आदि मिलेर स्मार्ट कार्ड पीडित समूह बनाएकाे घिमिरेले बताए । समूहले गरेको प्रारम्भिक अनुमानमा बजारमा १०० करोड रुपैयाँभन्दा धेरैको रिचार्ज कार्ड र सिम कार्ड रहेको उनले उल्लेख गरे ।

त्यस्तै मोबाइलमा प्रयोगमा भएको सिममा रिचार्ज रकम पनि धेरै नै रहेको उनले बताए । यसअघि साेही समूहले ललितपुरस्थित कुमारीपाटीमा रहेको स्मार्टकाे कार्यालयको गेटमा ताला लगाएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १५:३४