close

बिक्री गरिएको मोटरसाइकलको चेसिस भाँचिएको होइन: यात्री

टेकपाना टेकपाना

जेठ ९, २०८० १६:३९

बिक्री गरिएको मोटरसाइकलको चेसिस भाँचिएको होइन: यात्री

काठमाडौं । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीर कुनै ग्राहकको मोटरसाइकलको नभइ आन्तरिक परीक्षणमा रहेको मोटरसाइकलको तस्वीर भएको यात्री मोटरसाइकल्सले बताएको छ ।

चेसिस भाँचिएको मोटरसाइकलको तस्वीरको विषयमा धेरे चर्चा हुन सुरु भएपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो । कम्पनीले उक्त तस्वीर आन्तरिक परीक्षणको क्रममा रहेको मोटरसाइकलको भएको जनाएको छ । 

साथै यो तस्बिर पुरानो नभइ जेठ ८ गतेको नै भएको पनि कम्पनीले बताएको छ । "हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि यो हाम्रा कुनै ग्राहकको प्रडक्ट नभइ यो आन्तरिक परीक्षण टोलीका कर्मचारीहरूद्वारा नयाँ चेसिस परीक्षणको क्रममा लिइएको तस्विर रहेको छ," विज्ञप्‍तिमा उल्लेख गरिएको छ, "उक्त तस्वीर बिक्री भइसकेको बाइक वा ग्राहकसँग सम्बन्धित बाइक नरहेको जानकारी गराउँदछौं ।"

साथै बिक्री भइसकेको पीवान (P1) मोडेलको परीक्षणको विषयलाई लिएर उठेको प्रश्नलाई सम्बोधन गर्दै कम्पनीले नयाँ संस्करणको लागि फरक चेसिस परीक्षण गरिरहेको जनाएको छ । 

त्यस्तै सार्वजनिक सडकमा गरिएको परीक्षणको विषयमा उठेको प्रश्नलाई सम्बोधन गर्दै कम्पनीले परीक्षणको भर्चुअल चरण सबै सकेर भौतिक परीक्षणको लागि सडकमा मोटरसाइकल पठाएको बताएको छ ।  

"उत्पादनका धेरै चरणहरू रहेका हुन्छ प्रारम्भिक डिजाइन परीक्षण हाम्रो कम्प्युटरहरूमा भर्चुअल मोडेलहरूमा गरिन्छ र त्यसपछि परिणामहरू भौतिक परीक्षण डेटासँग सम्बन्धित छन् कि छैनन् भनी प्रमाणित गर्न प्रयोगशाला परीक्षणहरू सञ्चालन गरिन्छ," विज्ञप्तिमा उल्लेख छ, "सन्तोषजनक नतिजाहरू देखिएपछि हामी चेसिसमा वास्तविक स्ट्रेस डेटा 'stress data' प्राप्त गर्न सडक परीक्षणहरू सुरु गर्दछौं ।" 

यात्री परीक्षण र सुरक्षाको लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । साथै सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टहरू मार्फत प्रभावित भएकाहरू प्रति कम्पनीले माफी माग्दै सन्दर्भविहिन सार्वजनिक गरिएका तस्वीरबाट प्रभावित नहुन पनि अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १६:३९