close

लघुवित्त संस्थाबाट पीडित भएकाहरूको गुनासो अनलाइनबाट सुन्दै राष्ट्र बैंक

टेकपाना टेकपाना

असार १९, २०८० १४:४९

लघुवित्त संस्थाबाट पीडित भएकाहरूको गुनासो अनलाइनबाट सुन्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट पीडित व्यक्तिहरूका लागि अनलाइनबाट गुनासो टिपाउने सुविधा ल्याएकाे छ । पछिल्लो समय भइरहेको लघुवित्त वित्तीय सेवासम्बन्धी विभिन्न घटनालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले यस्ताे सेवा सुरु गरेको हो ।

अनलाइनमार्फत आफ्नो गुनासो सुनाउन सकिनुका साथै साे गुनासाेबारे के कस्ताे कारबाही भइरहेकाे हुँदैछ भनेर ट्रयाक समेत गर्न सकिनेछ । साथै ईमेल र टोल फ्रि (पैसा तिर्नु नपर्ने) नम्बरमार्फत पनि गुनासाे टिपाउन सकिने छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लगि यो व्यवस्था गरिएको जानकारी दिएको हो ।

बैंकको अनलाइन गुनासो पोर्टलमार्फत आफ्नो गुनासो टिपाउन यसो गर्नुहोस्: 

- सबैभन्दा पहिला यहाँ क्लिक गरी राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलमा जानुहाेस् ।

- स्क्रिनको सबैभन्दा अन्तिममा बायाँतिर भएको गुनासो दर्तामा क्लिक गर्नुहोस् ।

- गुनासो दर्तामा सबैभन्दा सुरुमा आफ्नो विवरण (नाम, मोबाइल नम्बर र सम्पर्क) भर्नुहोस् । 

- यसपछि आफ्नो ठेगाना (प्रदेश, जिल्ला, स्थानीय निकाय, वडा नम्बर) भर्नुहोस् ।

- यसपछि आफूले कुन संस्थाको गुनासो गर्ने हो, सो अप्सनमा क्लिक गर्नुहोस् । लघुवित्त वित्तीय संस्थाको गुनासो टिपाउन 'बैंक एन्ड फाइनान्सियल इन्स्टिट्युसन' मा क्लिक गर्नुहोस् । 

- यसपछि नयाँ पपअप अप्सन आउनेछन्, जहाँ आफूले गुनासो टिपाउन चाहेको सेवा प्रदायकको नाम छान्नुहाेस् ।

- यदि तपाईँलाई कुन ऐन तथा कानून विरुद्ध सो संस्थाले गरेको कारोबार गरेको हो भनेर थाहा छ भने गुनासोको आधार लेखिएको अप्सनमा गई कानूनमा क्लिक गर्नुहाेस् । यदि थाहा छैन भने यसलाई छोड्न सक्नुहुन्छ ।

- यसपछि गुनासोको विषयमा क्लिक गरेर आफ्नो गुनासोको विषय के हो, त्यसमा क्लिक गर्नुहोस् । यदि तपाईँसँग गुनासोसँग सम्बन्धी कुनै कागजपत्र छन् भने सम्बन्धित कागजात लेखिएको अप्सनमा क्लिक गरेर कागजपत्रको फोटो अपलोड गरिदिनुहोस् ।

- अन्त्यमा आफ्नो गुनासोको विवरण अनुच्छेदमा लेखेर अन्तिममा भएको (I hereby declare that the information provided is true and correct) अर्थात् मैले उपलब्ध गराएको सूचना सत्य हो भनेर बायाँतिर भएको बक्समा क्लिक गर्नुहोस् । 

- सब्मिट फर्ममा क्लिक गर्नुहोस् । 

यसपछि तपाईँलाई एउटा गुनासो नम्बर प्राप्त हुन्छ । उक्त नम्बरलाई टिप्नुहोस् । सो नम्बरको आधारमा तपाईँले आफ्नो गुनासोमाथि के-कस्ता कारबाही भइरहेको  छ भनेर आफैं निगरानी राख्न सक्नुहुन्छ ।

यसको लागि भने सुरुमा दिइएको लिंकमा क्लिक गर्नुहोस् र त्यहाँ भएको गुनासोको स्थिति थाहा पाउनुहोस् भनेर लेखिएको अप्सनमा क्लिक गर्नुहोस् । यसपछि आफ्नो गुनासो नम्बर त्यहाँ राखेर आफ्नो गुनासोमा के-कस्तो कारबाही भइरहेको छ भनेर जानकारी पाउन सक्नुहुन्छ । 

यसका साथै तपाईँले [email protected] मा ईमेल गरेर पनि आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८० १५:१२