close

वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

टेकपाना टेकपाना

चैत २७, २०७९ ११:४१

वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

काठमाडौं । सरकारले आन्तरिक ऋणको रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको इन्भेस्टर पोर्टलमार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने गोरखापत्रमा उल्लेख छ । 

अहिले परीक्षणकै रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि सार्वजनिक गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिए । “अहिले हामी परीक्षणकै क्रममा छौं, उहाँले भन्नुभयो, राष्ट्र बैंकले आगामी वैशाख/जेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौं,"      उनले भने ।

सरकारले वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्य लिएको छ । अनलाइनबाटै यस्तो सुविधा दिने तयारी कार्यालयले गरेको हो । 

आन्तरिक ऋणमा सरकारले उठाउने ऋणपत्रहरूमध्ये यी दुवैको हिस्सा अत्यन्त कम छ । पछिल्लो तथ्याङ्क अनुसार कूल आन्तरिक ऋणमध्ये नागरिक बचतपत्रको हिस्सा ०.९३ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.०२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

बचतपत्र निष्कासन अनुसार पर्याप्त आवेदन प्राप्त नहुने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणसम्म सरल रुपमा पुर्‍याउने वेब पोर्टल विकास गरिएको हो । 

वेब पोर्टलमार्फत सर्वसाधारणले अनलाइनबाटै बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै तोकिएका मार्केट मेकर अर्थात् बैंकमा खाता रहेको अवस्थामा त्यसैबाट खरिद बापतको भुक्तानी गर्न सक्ने व्यवस्था पनि मिलाइने बताइएको छ । आवेदनदेखि भुक्तानीका सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुनसक्ने गरी पोर्टल निर्माण भइरहेको सूचना अधिकारी गिरीले बताए ।

सरकारले नेपाल राष्ट्र बैङ्कबाट आन्तरिक ऋणको रूपमा उठाउने नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको सरकारी ऋणपत्र हो । यस बचतपत्रको ब्याजदर प्रत्येक छ महिनामा भुक्तानी हुने गर्छ ।

राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र पाँच वर्ष अवधिको रहेको छ । यो बचतपत्र सर्वसाधारण नेपालीले खरिद गर्न सक्छन् । अर्थतन्त्रमा छरिएर रहेको ससानो बचत रकम परिचालन गरेर उचित प्रतिफल दिने गरी वित्तीय साधन जुटाउनु यो बचतपत्रको मुख्य उद्देश्य हो ।

त्यस्तै मुलुक बाहिर रोजगारीमा रहेका नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक मध्यमबाट भित्र्याउन तथा त्यसलाई सरकारी बचतमा लगानी गर्न सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ। यो बचतपत्रमा अन्य बचतपत्रको तुलनामा केही बढी ब्याजदर प्राप्त हुन्छ ।

यो बचत अवधि पनि पाँच वर्षको हुन्छ । यसमा पनि सरकारले आवधिक रूपमा ब्याज उपलब्ध गराउँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ ११:४१