close

साइबर सुरक्षा सम्बन्धी जानकारी दिने पुस्तक आउँदै, के के छन् विषयवस्तु ?

टेकपाना टेकपाना

असार २५, २०८० १२:१५

साइबर सुरक्षा सम्बन्धी जानकारी दिने पुस्तक आउँदै, के के छन् विषयवस्तु ?

काठमाडौं । साइबर सुरक्षा सम्बन्धी जानकारी दिने पुस्तक आउने भएको छ । बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामकाे पुस्तक साउन १ गतेदेखि उपलब्ध हुने भएको हो ।

प्रवेश सुवेदी सम्पादक रहेको पुस्तकका लेखकहरू गंगालाल चपाई (निकेश), बाबुराम अर्याल र रविराज बराल हुन् ।

“सर्वसाधारणलाई साइबर सुरक्षा, त्यसको महत्त्व बुझाउन यो पुस्तक ल्याइएको हो,” टेकपानासँग कुरा गर्दै पुस्तकका सम्पादक सुवेदीले भने, “पुस्तकले वास्तविक जीवनमा साइबर सुरक्षाकाे महत्त्वबारे प्रस्ट पार्ने हाम्रो विश्वास छ ।”

पुस्तकमा चार खण्ड रहेका छन् । पहिलो खण्ड ‘साइबर सुरक्षा’मा के हो साइबर सुरक्षा ?, साइबर सुरक्षाको महत्त्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता कायम र उपलब्धताको पक्का जस्ता विषय समेटिएका छन् ।

त्यस्तै दोस्रो खण्ड ‘साइबर अपराध’मा अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमण, बहुआयामिक चुनौतीहरू, प्राविधिक चुनौतीहरू मानवीय चुनौतीहरू, भौतिक चुनौतीहरू र तेस्रो पक्षीय चुनौतीहरूका बारेमा चर्चा गरिएको छ । 

पुस्तकको तेस्रो खण्ड ‘सुरक्षा अवधारणा र औजारहरू’ मा एन्टिभाइरस, क्लाउड एन्टिभाइरस, सुरक्षा फायरवाल, इन्क्रिप्सन र डिक्रिप्सन, डिजिटल हस्ताक्षर तथा डिजिटल फरेन्सिकका विषयवस्तु छन् । 

त्यसैगरी पुस्तकको चौंथो खण्डमा कानून र नियमनको विषयमा चर्चा गरिएको छ । यसअन्तर्गत साइबर कानूनको सुरुवात, अन्तर्राष्ट्रिय साइबर कानून, नेपालमा साइबर कानून, साइबर स्पेस र गोपनीयता, डिजिटल प्रोपर्टी, सामाजिक सञ्जालसम्बन्धी कानून, आचारसंहिता र नैतिक मान्यताबारे उल्लेख गरिएको छ । 

पहिलो संस्करण अन्तर्गत १५ सय प्रति छापिएकाे याे पुस्तक आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशबाट निःशुल्क उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० १३:१४