close

टुटल चढ्ने पहिलो ८८ यात्रुलाई आज ८८ प्रतिशत छुट

टेकपाना टेकपाना

भदौ २०, २०८० ९:०

टुटल चढ्ने पहिलो ८८ यात्रुलाई आज ८८ प्रतिशत छुट

काठमाडौं । आजदेखि पुनः सञ्चालनमा आएको राइड शेयरिङ सेवा टुटल प्रयोग गर्ने यात्रुले ८८ प्रतिशत छुट पाउन सक्ने भएका छन् । टुटलको व्यवस्थापक कम्पनी ज्याप सर्भिसेस प्रालिले टुटल लाइभ भएको अवसर पारी यो सुविधा ल्याएको हो ।

यसअन्तर्गत पहिलो ८८ प्रयोगकर्ताले आफ्नो राइडमा ८८ प्रतिशत छुटमा सेवा लिन सक्नेछन् । 

रिब्रान्डिङ सहित सञ्चालनमा आएकाे टुटलमा हालसम्म दुई हजार बढी राइडर सिस्टममा जोडिएका छन् । औपचारिक रूपमा बुधबार सेवा सुरु  भएसँगै राइडहरू थप जोडिने कम्पनीले जनाएकाे छ । 

टुटलमा हाल राइडरहरूकाे प्राेत्साहनका लागि निःशुल्क दर्ताकाे सुविधा दिइएकाे छ । एप सार्वजनिक भएको अवसरमा कम्पनीले सुरुवाती एक महिनाका लागि बाइक राइडरबाट १५ प्रतिशत र क्याब ड्राइभरबाट १२ प्रतिशतमात्र कमिसन लिने निर्णय गरेकाे छ ।

एक महिनापछि भने बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने बताइएकाे छ । पूर्णकालीन राइड सेवामा संलग्न राइडहरूबाट कम कमिसन लिने र कम्पनीमार्फत राइडरहरूलाई विशेष स्किम प्रदान गर्ने याेजना ल्याएकाे सीईओ श्रेष्ठले सुनाए ।

टुटल नयाँ व्यवस्थापनकाे स्वामित्वमा आएसँगै राइडर र ग्राहकले पुरानाे टुटल एप अपडेट गरी नयाँ एप प्रयाेग गर्न सक्नेछन् । नयाँ प्रयाेगकर्ताले भने गुगल प्लेस्टाेर वा आईओएस एपस्टोरबाट टुटल एप इन्स्टल गर्नुपर्छ ।

ज्याप सर्भिसेस प्रालिले टुटलका लागि पुरानो कम्पनीको सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइट आफ्नो पहुँचमा लिएको छैन । त्यसको सट्टामा डटकम डटएनपी डोमेन एक्सटेन्सनको वेबसाइट र टुटल एनपी युजरनेम सहितको सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर र इन्स्टाग्राम) अकाउन्ट खोलिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० ११:३७