close

के इन्जिनियरिङ कलेजहरूले विद्यार्थी नपाएकै हुन् ?

सञ्जीवन राई सञ्जीवन राई

मंसिर २७, २०८० १४:४३

के इन्जिनियरिङ कलेजहरूले विद्यार्थी नपाएकै हुन् ?

काठमाडौं । अहिले सामाजिक सञ्जालमा इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विद्यार्थी अभाव भोग्नु परेको खबर फैलिरहेको छ । बी.ई/बी.आर्क. तहको भर्ना प्रक्रिया अवधिमा समेत पर्याप्त विद्यार्थी आएको नदेखिए पछि यस्तो खबर फैलिएको हो । ​आईओई पदाधिकारी भने यो कुरालाई पूर्ण स्वीकार गर्दैनन् ।

आईओईका सहायक डीन प्राडा. सुरज लामिछाने भर्ना समय अझै बाँकी रहेकाले यो कुरालाई अहिले नै त्यसरी प्रचार गर्न नहुने तर्क गर्छन् ।

“प्रवेश परीक्षा दिँदा एउटा विद्यार्थीले धेरै ओटा कलेजहरूमा पढ्न चाहेको भनेर चिन्ह लगाएका हुन्छन् । एउटै विद्यार्थीले विभिन्न विश्वविद्यालयको प्रवेश परीक्षा दिएका हुन्छन्,” उनले अगाडि भने, “यसकारण हामीले रिक्त स्थानमा भर्नाका लागि पुन: आवेदन सम्बन्धी सूचना निकालिरहेका हुन्छौं । प्रत्येक सूचना निकाल्दा रिक्त रहेको विद्यार्थीको सङ्ख्या पनि घटिरहेको हुन्छ ।”

अहिले आईओईले भर्नाका लागि पुन: आवेदनको सूचना तेस्रो पटक निकालिसकेको छ । जुन सूचना भर्नाको अन्तिम दिन (माघ २ गते)सम्म क्रमशः थपिने सहायक डीन प्राडा. लामिछाने बताउँछन् । त्यसले रिक्त कोटामा विद्यार्थी आउने उनको विश्वास छ ।

आईओई प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्यका अनुसार रिक्त रहेको सिटको वास्तविक समयमा अपडेट दिने गरी व्यवस्था मिलाइएको छ । जुन जोकोहीले सजिलै हेरेर खाली रहेको विद्यार्थी सिट थाहा पाउन सक्छन् । (यहाँ क्लिक गरी तथ्याङ्क हेर्न सकिन्छ) तर पहिलेको डेटालाई लिएर गलत खबर फैलाउन खोजेको उनको आरोप छ ।

“विगतको तथ्याङ्क हेर्दा आईओईमा आउने विद्यार्थी सङ्ख्या यस वर्ष पनि उस्तै छ । हरेक वर्ष करिब १० हजार विद्यार्थी हामीकहाँ पढ्न भनेर इच्छुक हुन्छन्,” उनी सुनाउँछन्, “तीमध्ये करिब चार हजार ३४४ विद्यार्थीले मात्र पढ्न पाउँछन् । यस पटक पनि छ हजार बढी विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण भएको छ ।”

विद्यार्थी अभावको समस्या देशका सबै विश्वविद्यालयहरूले खेपिरहेको भएता पनि आईओईले झेल्नुनपर्ने उनी तर्क गर्छन् । “यस पटक आईओईमा करिब १० हजार विद्यार्थीले परीक्षा दिएकोमा हाम्रो क्षमता भन्दा बढीले उत्तीर्ण गरे । जुन पहिलेका वर्षहरू जस्तै हो । भर्ना समय अझै बाँकी रहेकाले बाहिर भनिए जस्तो अवस्था आईओईले भोग्नु पर्दैन,” उनी धारणा राख्छन् । ​

आईओईको वेबसाइटमा उपलब्ध कलेज सिटको विवरण हेर्दा सम्बन्धन दिइएका भन्दा आङ्गिक कलेजमा विद्यार्थी बढी भर्ना भएका छन् । यसको कारण विद्यार्थीको रोजाइ सम्बन्धनमा भन्दा आङ्गिक कलेजमा भएको पश्चिमाञ्चल इन्जिनियरिङका क्याम्पस प्रमुख निर्मलप्रसाद बराल बताउँछन् । उनका अनुसार अधिकांश विद्यार्थीको रोजाइ सुरुमा आङ्गिक अनि सिट नपाएपछि मात्र सम्बन्धन प्राप्त कलेज हुने गर्छ ।

तर विदेश जाने लहड, प्रभावकारी सरकारी नीतिको अभाव, देशको शिक्षण संस्थाप्रति विद्यार्थीलाई विमुख गराउने प्रयास आदिका कारण विद्यार्थी भर्नामा यस वर्ष केही समस्या भने भइरहेको उनको भनाइ छ ।

“शिक्षामा गर्ने लगानी एक पटक मात्र हुन्छ । अभिभावकले आफ्नो सन्तानको भविष्य सुरक्षित भएको हेर्न चाहन्छन् । विदेशमा पढ्न जाँदा कमाइ पनि हुन्छ,” उनी भन्छन्, “यसकारण अभिभावकहरू पनि छोराछोरीलाई विदेशमा पढाउन बाध्य छन् । झन् भर्नाको मुखैका यस्तो नकारात्मक कुरा प्रचार गर्दा यहाँ नै पढ्न खोजिरहेका विद्यार्थीहरू अन्त्यै जाने सम्भावना हुन्छ । यसको असर कतै न कतै हामीमा पनि परेको छ ।” 

हिमालय कलेज अफ इन्जिनियरिङका कम्प्युटर विभाग प्रमुख अशोक घर्ती मगर भने यसको असर अहिले खासै नदेखिए पनि कालान्तरमा देखिने धारणा राख्छन् । देशमा जनशक्तिको अभाव हुने, विदेशी स्रोतमा भर पर्नुपर्ने जस्ता समस्या अहिलेको परिस्थितिले निम्तिन सक्ने उनको विश्लेषण छ ।

सम्बन्धन प्राप्त कलेजहरूले पनि विद्यार्थीलाई आकर्षित गर्न सकेसम्मका उपायहरू अपनाएको उनको भनाइ छ । तर कक्षा १२ को नतिजा आएको लामो समयसम्म पनि विश्वविद्यालयले प्रवेश परीक्षा नगराउनु, विद्यार्थीले नै देशमा भविष्य नदेख्नु, शिक्षा क्षेत्रका सरकारको भूमिका मौन हुनु आदिकाका कारण विगतका तुलनामा विद्यार्थी भर्ना हुने गतिमा भने कम आएको उनी स्वीकार छन् । 

यद्यपि बाहिर भनिए जस्तो शुल्क वृद्धिका कारण विद्यार्थी घट्ने सम्भावना भने नभएको आईओईका सहायक डीन प्राडा. बज्राचार्यको मत छ । “हामीले बढाएको प्रस्तावित शुल्क (करिब आठ लाख रुपैयाँ) मा पढ्न भनेर आठ हजार भन्दा बढी विद्यार्थी इच्छुक थिए,” उनी भन्छन्, “पछि अहिलेको शुल्क (करिब पाँच लाख रुपैयाँ) निश्चित भएपछि थप एक हजार बढी विद्यार्थी इच्छुक भएका थिए । यसकारण शुल्क कारण विद्यार्थी घटेको भन्ने तर्क गलत छ ।”

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १५:५९