close

५१० किमि रेञ्ज दिने ‘ओमोडा ई-फाइभ’ नेपाली बजारमा आउँदै, मूल्य साढे ५९ लाख

टेकपाना टेकपाना

माघ १०, २०८० १७:१७

५१० किमि रेञ्ज दिने ‘ओमोडा ई-फाइभ’ नेपाली बजारमा आउँदै, मूल्य साढे ५९ लाख

काठमाडौं । नेपाल भित्रिन लागेको चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । नेपालका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल प्रालिले यो गाडीको मूल्य सार्वजनिक गरेको हो ।

जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातामा नेपालमा यो गाडी सार्वजनिक गर्ने तयारी भएको कम्पनीले जनाएको छ । चेरी अटोमोबाइल कम्पनीले ईभी अन्तर्गत मोडेल नाइन, मोडेल सेभेन र मोडेल फाइभ उत्पादन तथा बिक्री गर्दै आएको छ । जसमा मोडेल नाइनलाई कम्पनीले फ्ल्यागशिप मोडेल, मोडेल सेभेनलाई इन्टेलिजेन्ट तथा लक्जरी र मोडेल फाइभलाई फेसन, ग्रिन एन्ड टेक मोडेलका रूपमा परिभाषित गरेको छ ।

कम्पनीले नेपालमा सुरुवाती चरणमा ई-फाइभ मोडेलको लङ रेन्ज भेरियन्ट ल्याएको छ । ओमोडा ई-फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५८८ र ह्वीलबेस २६३० एमएम रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा ५१० किलोमिटर रेञ्ज दिने यो गाडीले सून्यदेखि १०० किलोमिटरको गति ७.६ सेकेन्डमै पकड्ने कम्पनीको दाबी छ ।

यसको टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको यो गाडीमा टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । 'क्रोम सेप्ड' डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप आकर्षक विशेषता हुन् ।

कम्पनीका अनुसार यो गाडीमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ । इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि यो गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ । गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिनेछ ।

यसमा कम्पनीले सात ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ यो गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।

कम्पनीका अनुसार यो गाडीले ईयू फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड र चाइना फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । फास्ट चार्जरमार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

चेरी अटोमोबाइलले विभिन्न छ प्लेटफर्ममा गाडी निर्माण गर्दै आएको छ । जसअन्तर्गत ईभीका लागि कम्पनीले प्रोफेसनल न्यू इनर्जी प्लेटफर्म र प्रोफेसनल प्योर इलेक्ट्रिक प्लेटफर्म प्रयोग गरिरहेको छ ।

चेरी ग्रुपका विश्वभर पाँच ओटा ग्लोबल आर एण्ड डी (अनुसन्धान तथा विकास) केन्द्र रहेका छन् । ८० भन्दा बढी देश तथा क्षेत्रमा विस्तार भएको यो कम्पनीमा विश्वभरका नौ हजार बढी इन्जिनियर कार्यरत छन्, साथै कम्पनीका १५ सय बढी सेल्स तथा सर्भिस आउटलेट छन् ।

चेरी अटोमोबाइलले आफूलाई स्वतन्त्र अनुसन्धान र विकास मार्फत अटोमोबाइलको महत्त्वपूर्ण कोर प्रविधिहरूमा महारथ हासिल गर्ने चीनको पहिलो कम्पनी भएको दाबी समेत गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८० १७:३८