close

नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी ‘जेनेस सलुसन’ ले खोल्यो नाइजेरियामा कार्यालय

टेकपाना टेकपाना

माघ २६, २०८० १३:१३

नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी ‘जेनेस सलुसन’ ले खोल्यो नाइजेरियामा कार्यालय

काठमाडाैं । नेपाली उद्यमीले नेतृत्व गरेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसनले नाइजेरियामा कार्यालय विस्तार गरेको छ । बेलायतमा मुख्यालय भएको यस कम्पनीले हालै नाइजेरियामा आफ्नो कार्यालय खोलेको हो । 

टेकपानासँग कुरा गर्दै जेनेस सलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जनी फुयाँलले ​नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरूलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुसन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवा उपलब्ध गराउन कार्यालय विस्तार गरेको जानकारी दिए ।

"नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हाेइन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो । संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ," सीईओ फुयाँलले भने ।

फुयाँलले अगाडि भने, "नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं ।"

उनले नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैरआवासीय नेपालीहरुलाई पनि धन्यवाद दिए ।

नाइजेरियास्थित औद्योगिक  प्रतिष्ठान डाङोटे ग्रुपका  वरिष्ठ व्यवस्थापक तथा गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले भने, "एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो । यसले नेपालीहरुको सीप र दक्षताबारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छ " । ​

नेपाल, बंगलादेश, अमेरिका लगायत आठ देशमा जेनेस सलुसनका कार्यालय छन् ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १३:२०