close

ह्वावेको पुनरागमनले चिनियाँ स्मार्टफोन बजारमा कमजोर बन्दै आईफोन

टेकपाना टेकपाना

फागुन २२, २०८० १९:४३

ह्वावेको पुनरागमनले चिनियाँ स्मार्टफोन बजारमा कमजोर बन्दै आईफोन

काठमाडौं । चिनियाँ बजारमा आईफोनको बिक्री घटेको छ । ह्वावेले मेट ६० प्रो सार्वजनिक गरेसँगै प्रयोगकर्ताले स्थानीय फोनलाई प्राथमिकता दिएपछि २०२४ को पहिलो छ सातामा आईफोनको बिक्री २४ प्रतिशतले घटेको हो ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार चीनमा सबैभन्दा बढी बिक्री हुने फोनको सूचीमा भिभो शीर्ष स्थानमा छ । दोस्रोमा ह्वावे, तेस्रोमा अनर र चौंथोमा आईफोन (एप्पल) छ ।

२०२३ मा एप्पलले चिनियाँ बजारमा १९ प्रतिशत हिस्सा ओगटेको थियो । तर अहिले १६ प्रतिशतमा झरेको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२४ मा अनर र ह्वावे मात्र बजार हिस्सा बढाउन सफल भएका छन् । ओप्पो, साओमी, भिभो र अन्य ब्रान्डका फोनको बिक्री घटिरहेको छ ।

रिपोर्ट अनुसार आईफोनको बिक्री घट्नुको मुख्य कारण ह्वावे मेट ६० प्रोको लोकप्रियता हो । यो स्मार्टफोनमा चीनमै निर्मित चिप प्रयोग गरिएको छ, जसमा फाइभजी कनेक्टिभिटीको सुविधा छ । ह्वावेमाथि वर्षौंदेखि अमेरिकाले प्रतिबन्ध लगाइरहँदा ह्वावेले यो 'ब्रेक थ्रु' गरेको हो । अहिले चिनियाँ बजारमा यो फोनको माग अत्यधिक छ । 

विश्लेषक मेङमेङ ज्याङका अनुसार आईफोन १५ को डिजाइन पहिलेकै लाइनअप जस्तै भएकाले प्रयोगकर्तालाई पुरानै फोन प्रयोग गरिरहेको आभाष हुन थाल्यो । त्यसैले नयाँपन अनुभव गर्न प्रयोगकर्ता ह्वावे मेट ६० प्रो प्रति आकर्षित भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० २०:७