close

तपाईँले किन्न लागेको एयरपड्स सक्कली हो कि नक्कली ? यसरी पत्ता लगाउनुहोस्

टेकपाना टेकपाना

चैत २, २०८० १५:३६

तपाईँले किन्न लागेको एयरपड्स सक्कली हो कि नक्कली ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । वायरलेस इयरबडको आविष्कारदेखि यसलाई लोकप्रिय बनाउन एप्पलको भूमिका धेरै छ । एप्पलको इयरबड (एयरपड्स)को लोकप्रियताको फाइदा उठाउँदै अहिले आपराधिक मनसाय भएका व्यक्तिहरूले नक्कली एयरपड्स बनाउने धन्दा उत्तिकै चलाइरहेका छन् । 

उनीहरूले त्यस्ता नक्कली एयरपड्स प्राय: सस्तो मूल्यमा बेच्ने गर्छन् । जसलाई उपभोक्ताले पनि सस्तोमा पाएको भन्दै आँखा चिम्लेर किन्छन् । तर अन्त्यमा वास्तविक उत्पादन भने हुँदैन ।

यदि तपाईं पनि एप्पलको वास्तविक एयरपड्स किन्ने सोचिरहनु भएको छ भने आज हामी वास्तविक र नक्कली उत्पादन कसरी थाहा पाउने त्यसबारे चर्चा गर्दै छौं:

प्याकेजिङ र म्यानुअल

एयरपड्स सक्कली हो या नक्कली, थाहा पाउने सजिलो तरिका प्याकेजिङ हेर्नु हो । एप्पलले प्राय: प्याकेजिङमा पनि निकै मेहेनेत गर्ने गर्छ । जसले स्क्यामरहरूलाई कपि गर्न गाह्रो बनाउँछ । फेरि त्यस्ता नक्कली उत्पादनले वास्तविकजस्तो अनुभव दिँदैन । 

नक्कली एयरपड्सको प्याकेजिङ वा म्यानुअलमा प्राय: गलत हिज्जे हुन्छन् । जस्तो: कहिलेकाहीँ वास्तविकभन्दा फरक वा ठूला फन्ट प्रयोग गरिएको छ । वास्तविक एयरपड्समा म्यानुअल, वारेन्टी कार्ड लगायतका कागजात फरक फरकमा आउँछन् । तर नक्कलीमा भने एउटै कागजमा वा ती नहुन पनि सक्छन् ।

यदि एयरपड्समा एप्पल लोगोमा केही तलमाथि गरिएको छ भने त्यो नक्कली हुने सम्भावना अधिक हुन्छ । 

सिरियल नम्बर

स्क्यामरहरूले माथि उल्लेख गरिएको विषयमा निकै सतर्कता अपनाउने गर्छन् । तर सिरियल नम्बरमा उनीहरू चुक्नसक्ने सम्भावना बढी हुन्छ । वास्तविक एयरपड्सको बक्समा सिरियल नम्बर हुने गर्छ । तपाईंले उत्पादन खरिद गर्नुअघि एप्पलको सिरियल नम्बर चेकर पेजबाट हेरेर एयरपड्स वास्तविक हो/होइन निश्चित गर्न सक्नुहुन्छ ।

तर यति गरेर मात्र पुग्दैन । कतिपय अवस्थामा एयरपड्समा भएको सिरियल नम्बर र बक्समा भएको नम्बरमा फरक-फरक हुन सक्छ । यसो हुँदा तपाईंले एयरपड्समा भएको सिरियल नम्बर पनि हेर्न आवश्यक छ । वास्तविक एयरपड्समा सिरियल नम्बर प्रिन्ट भएको हुन्छ । 

फोनमा कनेक्ट गर्ने आईओएस १६ सार्वजनिक गरेसँगै एप्पलले एयरपड्सको वास्तविकता जाँच गर्ने फिचर पनि ल्याएको छ । यदि यस तरिकाबाट एयरपड्स भेरिफाई हुन सकेन भने ती नक्कली हुनसक्ने सम्भावना बढी हुन्छ ।

तर कहिलेकाहीँ सफ्टवेयरमा देखिएका विभिन्न समस्या वा बगका कारण पनि एयरपड्सको भेरिफाई नहुन सक्छ ।

रङ र बनावटको गुणस्तर हेर्ने 

यदि तपाईंले एप्पलले सार्वजनिक गरेका रङबाहेकका अन्य एयरपड्स किन्नु भए पनि त्यो नक्कली हुन सक्ने सम्भावना बढी हुन्छ । यसका लागि तपाईंले एप्पलको आधिकारिक वेबसाइटमा रङबारे जानकारी लिन सक्नुहुन्छ । यदि त्यहाँ उल्लेख गरिएका बाहेक अन्य रङको एयरपड्स देख्नु भए तपाईं सावधान हुन पर्ने हुन्छ ।

त्यस्तै नक्कली उत्पादनको किनारा राम्रोसँग मिलाइएको हुँदैन । यसका साथै कतिपय अवस्थामा बनावटको गुणस्तर पनि राम्रो हुँदैन । यसकारण कुनै एयरपड्स किन्न अघि तपाईंले आधिकारिक उत्पादनको तस्वीरसँग तुलना पनि गर्न सक्न सक्नुहुन्छ । 

आवाजको गुणस्तर 

माथि उल्लेख गरिएका सबै कुरामा कुनै त्रुटि नभेटे पनि आवाजको गुणस्तरमा समस्या हुन सक्छ । नक्कली एयरपड्सको अ‌डिओको गुणस्तर नराम्रो हुनुका साथै आवाज स्पष्ट नआउने समस्या हुन्छ ।

कतिपय अवस्थमा एयरपड्सको माइक्रोफोनले समेत काम नगर्ने अवस्था समेत आउँछ । साथै त्यस्ता नक्कली एयरपड्समा स्पेसल अडिओ, अडिओ इन्ह्यान्समेन्ट जस्ता केही एड्भान्स फिचरहरू हुँदैनन् । 

पछिल्लो अध्यावधिक: चैत २, २०८० १५:४७